महाभारत युद्धसँग जाेडिएका तर युद्ध नलडेका चर्चित व्यक्तिहरू

महाभारत युद्धसँग जाेडिएका तर युद्ध नलडेका चर्चित व्यक्तिहरू

केन्द्रबिन्दु
0
Shares

महाभारतमा अनेकाैँ पात्र छन्, जसको आआफ्नै विशेषता र महत्व छ । महाभारत युद्ध कसरी भयो, किन भयो यस सम्बन्धमा धेरै कुरा बाहिर आइसकेका छन् । महाभारत युद्धमा कसले महत्वपूर्ण भूमिका खेले भन्ने सन्दर्भमा पनि रहस्य बाँकी छैनन् ।

यद्यपि त्यही युद्धमा केही यस्ता पात्र थिए, जसले हतियार उठाएनन् । अर्थात उनीहरु युद्धमा लडेनन् । युद्धमा नलडे पनि उनीहरुको भूमिका भने महत्वपूर्ण थियाे ।

महाभारतको युद्धमा काैरव र पान्डव दुवैतिरका गरी १८ अक्षाैहिणी अर्थात् लगभग ४० लाख मानिसले भाग लिएको मानिन्छ । त्यसमध्ये हजारौं व्यक्ति यस्ता थिए, जसले युद्धमा भाग लिएनन् । तर, उनीहरु युद्धमा प्रत्यक्ष/परोक्ष रुपले सहभागी भए ।

त्यस्तै उक्त युद्धमा भारतवर्षका कतिपय राज्य तटस्थ रहे । उनीहरुले दुवै पक्षलाई सघाएनन् । विदर्भ, शाल्व, चीन, लौहित्य, शोणित, कोंकण, कर्नाटक, केरल, आन्ध्र, द्रविड आदि राज्यले युद्धमा भाग लिएनन् । यी सबै तटस्थ बसे । उनीहरुको कुनै प्रकारको भूमिका थिएन । त्यसैगरी तत्कालीन समयका चर्चित महारथिहरु बलराम र रुक्मीले पनि कतैबाट युद्ध लडेनन् । बलराम तटस्थ बसे भने रुक्मीले घमण्ड गरेकाले उनलाई दुवै पक्षले युद्धमा सहभागी गराएन ।

अब लागौं, तिनै पात्रहरुतर्फ जसले रणभूमिमा भएर पनि युद्ध लडेनन् ।

युयुत्सु

युयुत्सु कौरवका सौतेनी भाइ हुन्, उनी अन्तिम समयमा कौरवलाई छाडेर पान्डवतिर मिलेका थिए । आफ्नो पक्षमा आएपछि युधिष्ठरले एक विशेष रणनीतिकको रुपमा युयुत्सुको योग्यता देखे । त्यही भएर उनलाई युद्धका लागि हतियार र रसदपानीको आपूर्ति गर्ने कामको जिम्मा दिइयाे ।

उडुपीको राजा

महाभारतको युद्धमा उडुपीको राजा पनि थिए, जसले युद्धमा सैनिकका लागि भोजनको व्यवस्था गर्ने जिम्मेवारी सम्हालेका थिए । दुवै शिविरमा सैनिकका लागि भोजन र घाइतेको उपचारका लागि उत्तम व्यवस्था उनैले गरेका थिए । हात्ती, रथ र घोडाको व्यवस्था पनि उनले नै गरेका थिए । त्यसबेला प्रत्येक शिविरमा पर्याप्त मात्रामा खाद्य सामग्री, अस्त्र, यन्त्र र केही वैद्य र शिल्पीलाई तलब दिएर राखिएको थियो ।

उडुपीको राजाकाे कुशलताकै कारण १८ दिनसम्म चलेको र लाखौं सहभागी भएको युद्धमा कहिले पनि खानापानीको अभाव भएन ।

सारथि

युद्धमा सबै हात्ती र रथको सारथिले कहिल्यै प्रत्यक्ष रुपले युद्ध लडेनन् । उनीहरु केवल योद्धाको रथ वा हात्ती चलाउँथे । त्यसमध्ये कति त सुरुमै मर्थे । उक्त रिक्त स्थानमा अर्को सारथि नियुक्त गरिन्थ्यो ।

भगवान श्रीकृष्ण अर्जुनका सारथि थिए । कर्णका सारथि महाराज शल्य थिए ।

संजय

संजयले पनि युद्धमा भाग लिएनन् । महाभारत युद्धमा सूत पुत्र संजयले महर्षि वेदव्यासबाट दिक्षा लिएर ब्राह्मणत्व प्राप्त गरेका थिए । वेद व्यासले उनलाई दिव्य दृष्टि प्रदान गरेका थिए । भनिन्छ, गीताको उपदेश दुई जनाले सुने, एक अर्जुन र अर्को संजय ।

बर्बरीक

घटोत्कच पुत्र दानवीर बर्बरीकका लागि केवल तीन बाण काफी थियो, जसको बलमा उनी कौरव र पान्डवको पूरै सेनालाई समाप्त गर्न सक्थे । यसैले भगवान श्रीकृष्णले दानमा उनको टाउको मागेका थिए । उनले टाउकाे त दिए तर  महाभारत युद्ध हेर्ने इच्छा व्यक्त गरे । त्यही कारण उनको टाउको युद्धस्थलकै एक ठाउँमा राखिएको थियो, जहाँबाट महाभारतका सम्पूर्ण योद्धा देख्न सकिन्थ्यो ।

इन्द्र

जब इन्द्रलाई थाहा भयो कि पुत्र अर्जुनलाई कर्णबाट एकदम खतरा छ, तब उनी श्रीकृष्णकहाँ पुगे । श्रीकृष्णले उनलाई भने कि कर्ण एकदम ठूला दानवीर छन् । तपाई उनले दान दिने समयमा एक ब्राह्मणको भेषमा उनीकहाँ पुग्नुहाेस् र, दानमा उनको कवच र कुन्डल माग्नुहाेस्। इन्द्रले त्यसै गरे । जब इन्द्र कर्णकाे कवच र कुन्डल हात पारेर अघि बढ्दै थिए, तब एक आकाशवाणी भयो, ‘इन्द्र ! तिमीले धोका दिएर कर्णबाट कवच र कुन्डल लियौ । अब तिमी रथसहित धर्तीमा भासिनेछौ ।’

इन्द्र डराएर त्यहाँबाट फर्किए । उनी कर्णकहाँ गए । अनि कर्णलाई आफ्नो अमोघ अस्त्र दिँदै भने- ‘यो जसमाथि चलाउनुहुन्छ, ऊ निश्चित रुपमा मर्नेछ । यो अचुक हो, तर यसको प्रयोग एक पटक मात्र गर्न सकिनेछ ।’

कर्ण त्यस अस्त्रबाट अर्जुनलाई मार्न चाहन्थे । तर, दुर्योधनले भनेपछि उक्त अस्त्र घटोत्कचमाथि चलाइयो । अर्जुन बाँचे ।

Logo