महाभारतमा एक से एक योद्धा थिए । उनीहरू शक्तिशाली मात्र थिएनन्, विचित्र किसिमका सिद्धि एवं चमत्कारहरूले भरिपूर्ण थिए । श्रीकृष्ण त स्वयं भगवान विष्णु नै थिए, तर उनका अगाडि जो जो योद्धा लडिरहेका थिए ती पनि कसैभन्दा कम थिएनन् । कुरुक्षेत्रको युद्धमा यी योद्धाहरूले आफ्ना मायावी एवं चमत्कारी क्रियाकलापले इतिहास नै रचेका थिए । यहाँ तिनैमध्ये केही योद्धाहरूको संक्षिप्त चर्चा गरिएको छ ।
सहदेव
पाण्डुपुत्र सहदेव भविष्यमा हुने हरेक घटना पहिल्यै थाहा पाउन सक्थे । महाभारतको युद्ध हुनेवाला छ र कसले कसलाई मार्छ र कसले जित्छ भन्ने सबै कुरा सहदेवलाई पहिल्यै थाहा थियो । तर, भगवान कृष्णले सहदेवलाई यो कुरा अरू कसैलाई बताएमा तिम्रो तत्काल मृत्यु हुनेछ भन्ने श्राप दिएका थिए । यसैकारण उनले यो कुरा कसैलाई बताएनन् । यो बाहेक पनि अत्यन्त बुद्धिमान् सहदेवमा अन्य विशिष्ट गुण विद्यमान थिए ।
बर्बरीक
बर्बरीक संसारकै सर्वश्रेष्ठ धनुर्धर थिए । भीमसेनका नाति तथा घटोत्कचका पुत्र बर्बरीकका लागि तीन बाण नै पर्याप्त थियो । तीन वाणबाटै उनी कौरव तथा पाण्डवका सबै सैनिक क्षणभरम समाप्त गरिदिन सक्थे । युद्ध मैदानमा बर्बरीकले दुवै पक्षको बीचमा पर्ने एक पीपलको रुखमुनि उभिएर जसले हार्नेछ म उसैतिर लाग्नेछु भनी घोषणा गरेका थिए । तर कृष्णले पाण्डव पक्षको जीत सुनिश्चित गर्नका लागि छलपूर्वक बर्बरीकको टाउको मागेर उनलाई ठेगान लगाइदिएका थिए । भारतका कतिपय प्रान्तमा बर्बरीकलाई खाटु श्यामका नामले पुजिन्छ । बर्बरीकलाई बंग देशको राजा भनेर बताइएको प्रसंग पनि पाइन्छ ।
सञ्जय
महाभारतका सञ्जय वेदादि विद्याको अध्ययन गरेर धृतराष्ट्रको राजसभामा सम्मानित मन्त्री बनेका थिए । हिजोआजको भाषामा भन्दा उनी टेलीपैथिक विद्यामा पारंगत थिए । भनिन्छ, गीताको उपदेश दुईजनाले सुने, एक अर्जुन र अर्को सञ्जय । उनी सयौं किलोमीटर टाढा बसेर धृतराष्ट्रलाई युद्धक्षेत्रको हालखबर सुनाउँथे ।
अश्वत्थामा
गुरु द्रोणाचार्यका पुत्र अश्वत्थामा हरेक विद्यामा पारंगत थिए । उले चाहेको खण्डमा पहिलो दिनमै युद्ध अन्त गरिदिन सक्थे तर कृष्णले यस्तो हुन दिएनन् । कृष्णलाई द्रोणाचार्य र अश्वत्थामाको जोडीले एकसाथ युद्ध गरे भने छिटै युद्ध सक्नसक्थे भन्ने कुराको बोध थियो तसर्थ उनले त्यसो हुन दिएनन् । यी दुईका साथमा अति संहारक क्षमता भएका अस्त्रशस्त्र थिए, तैपनि कृणनीतिका अघि उनीहरूको बुता चलेन । कृण्णले आफ्नो नीतिको चंगुलमा फसाएर धृष्टद्युम्नद्वारा द्रोणाचार्यको वध गराइदिए ।
कर्ण
कर्णसँग जन्मजात दिव्य कवच कुण्डल थियो । इन्द्रले छलपूर्वक उक्त कवचकुण्डल हात नलगाएका भए, कर्णले इन्द्रद्वारा दिइएको अमोघ अस्त्र घटोत्कचमाथि प्रयोग नगरेर अर्जुनमाथि गरेको भए महाभारत युद्धले अर्कै मोड लिने थियो । कर्णसँग दिव्य कवच कुण्डल हुनुले उनी रहस्यमयी व्यक्ति हुन् भन्ने पुष्टि हुन्छ । यसका साथै उनीसँग गुरु परशुरामले दिएको अत्यन्त शक्तिशाली एवं अभिमन्त्रित विजय धनुष थियो, उक्त धनुष हातमा छउन्जेल उनलाई कसैले पनि, कुनै पनि दिव्यास्त्रको प्रयोग गरेर मार्न वा पराजित गर्न सक्दैनथ्यो ।
भीमसेन
वायु पुत्र भीमसेनमा बीस हजार हात्तीको बल थियो । महाभारत युद्धमा उनीभन्दा बलशाली योद्धा उनकै शक्तिशाली पुत्र घटोत्कच थिए । घटोत्कचको छोरा बर्बरीक थिए । भीमसेनले दुर्योधनको तिघ्रा भाँचेका थिए भने यसअघि अर्का शक्तिशाली योद्धा जरासन्धको वध गरेका थिए ।
घटोत्कच
भनाइअनुसार भीमसेनका पुत्र घटोत्कचको शरीर यति ठूलो थियो कि उनी लत्तीले हिर्काएर रथलाई समेत निकै टाढा मिल्काइदिन सक्थे । सैनिकहरूलाई आफ्नो पाइतालामुनि दबाइदिन्थे । भीमसेनकी पत्नी हिडिम्बाको कोखबाट जन्मिएका हुनाले घटोत्कचमा राक्षसहरूको जस्तो मायावी शक्ति तथा क्षत्रियहरूको जस्तो शूरवीरता एवं अदम्य साहस थियो ।
अभिमन्यु
अभिमन्युले आफ्नी आमा सुभद्राको गर्भमा छँदै सम्पूर्ण युद्ध विद्या सिकेका थिए । उनले आमाको गर्भमा रहँदै चक्रव्यूह तोड्ने कला सिकेका थिए । तर उनले चक्रव्यूह तोड्ने कला पूर्ण रूपले नभई अधुरो मात्र सिकेका थिए किनभने बाबु अर्जुनले उक्त कुरा सुनाइरहँदा आमा सुभद्रा निदाएकी थिइन् ।
भीष्म
कुरुकुलका महाराज शान्तनु एवं गंगाका पुत्र भीष्मको नाम देवव्रत थियो । आजीवन ब्रह्मचर्य रहने कठोर प्रतिज्ञा गरेका कारण उनको नाम भीष्म भएको हो । उनले आफ्ना पिताबाट इच्छामृत्युको वरदान प्राप्त गरेका थिए । उनी स्वर्गका आठ वसुमध्ये एक द्यौ नामका वसु थिए । उनी वशिष्ठको श्रापका कारण मनुष्य योनिमा जन्मिएका थिए । उनी महाभारतका अपराजेय योद्धा हुन् जोसँग अनेकौं सिद्धि एवं विशेष शस्त्रास्त्र थिए ।
दुर्योधन
दुर्योधनको शरीर वज्रजस्तो कठोर थियो जसलाई कुनै पनि वाण वा अन्य हतियारले छेड्न सकिँदैनथ्यो । तर कृष्णको चलाखीका कारण उनको तिघ्रा भने प्राकृतिक थियो अर्थात् शरीरको अन्य भागको तुलनामा कमजोर थियो । त्यसैकारण भीमसेनले दुर्योधनको दुवै तिघ्रा भाँचेर उनलाई पंगु बनाइदिएका थिए । यसका साथै उनको मृत्यु हुनका लागि एकैपटक अत्यधिक हर्ष र अत्यधिक शोक पर्नुपर्दथ्यो ।
जरासन्ध
जरासन्ध अत्यन्त बलवान् योद्धा हुनुका साथै अनेकौं मायावी शक्तिका स्वामी थिए । युधिष्ठिरले राजसूय यज्ञ गर्ने क्रममा उनका चार भाइले चारै दिशा गर्दै जाँदा सबैलाई जिते पनि जरासन्धलाई सकेका थिएनन् । उनलाई नजिती यज्ञ गर्नुको अर्थ हुँदैनथ्यो त्यसैले कृष्ण, अर्जुन र भीमसेन ब्राह्मणको भेषमा गई जरासन्धसँग छलपूर्वक युद्धको भीक्षा मागे ।
समान बाहुबली भीमसेन र जरासन्धबीच लामो युद्ध चल्यो । जरासन्धको शरीर दुई फ्याँक पार्दा समेत पुनः जोडिन्थ्यो अर्थात् उनी केही गरी पनि मर्दैनथे । श्रीकृष्णले भीमसेनलाई ईशारा गरी दुई फ्याँकलाई दुई विपरीत दिशामा फाल्न लगाएपछि भने जरासन्धको मृत्यु भएको थियो ।
बलराम
बाहुबलको कुरा गर्ने हो भने बलराम उक्त युगका सबैभन्दा शक्तिशाली व्यक्ति थिए । उनी महाभारत युद्धमा सामेल भएका भए सेनाको आवश्यकता पर्दैनथ्यो । बलबान्हरूमा श्रेष्ठ भएकै कारण उनलाई बलभद्र पनि भनिन्छ । बलरामको सम्बन्ध दुवै पक्षसँग उत्तिकै घनिष्ठ भएका कारण उनले युद्धमा भाग लिएनन् । बलराम यति बलशाली थिए कि एक पटक उनले आप्mनो हलोले पूरै हस्तिनापुरलाई उल्ट्याएर नदीमा हालिदिन खोजेका थिए ।
इरावान
किम्वदन्तीअनुसार अर्जुनको छोरो इरावनको युद्धमा बलि दिइएको थियो । बलि दिनुअघि उनको अन्तिम इच्छा विवाह गर्नु थियो । तर मारिन लागेको मानिससँग कुनै युवतिले पनि विवाह गर्न तयार हुने स्थिति भएन त्यसैले भगवान कृष्णले मोहिनी रूप धारण गरी इरावनसँग विवाह गरेका थिए । भारतमा अहिले इरावनलाई किन्नर अर्थात् तेस्रोलिंगीहरूले देवताका रूपमा पुज्छन् ।
एकलव्य
एकलव्य आफ्नो विस्तारवादी सोचका कारण जरासन्धका मित्र भएका थिए । जरासन्धले मथुरामाथि आक्रमण गर्दा एकलव्यले लगभग सम्पूर्ण यादव सेनाको विनाश गरिदिएका थिए । यो कुराको उल्लेख विष्णु पुराण एवं हरिवंश पुराणमा पाइन्छ । महाभारत युद्धअघि कृष्णले एकलव्यलाई सिध्याइदिएका थिए अन्यथा उनले कुरुक्षेत्रमा समेत विध्वंश मच्चाइदिनसक्थे । महाभारत युद्धमा एकलव्यका पुत्र केतुमान कौरवका पक्षबाट लडेका थिए जसलाई भीमसेनले मारेका थिए ।
शकुनी
शकुनी मायावी थिए । उको पासा सदैव उनको कुरा मान्दथ्यो । युद्धमा पनि शकुनीले श्रीकृष्ण एवं अर्जुनलाई मोहित तुल्याएर उनीहरूमाथि भयंकर मायाको प्रयोग गरेका थिए । शकुनीको मायाका कारण अर्जुनमाथि हजारौं हिंस्रक पशुले आक्रमण प्रयास गरेका थिए । आकाशबाट गोला तथा पत्थर खस्दथे । चारैतिरबाट अनेक तरहका अस्त्रशस्त्र आइरहेका थिए । अर्जुनले उक्त मायालाई दिव्यास्त्रको प्रयोग गरेर निष्फल तुल्याइदिएका थिए ।
माथि उल्लेख गरिएका बाहेक भूरिश्रवा, सात्यकी, युयुत्सु, नरकासुरको पुत्र भगदत्त आदि अरू पनि थुपै्र योद्धा छन् जो विशेष प्रकारका अलौकिक एवं मायावी शक्तिले सम्पन्न थिए ।





























प्रतिक्रिया