पैसा, झट्ट हेर्दा एउटा ‘जाबो कागजको टुक्रा’ जस्तो लाग्छ तर यही ‘जाबो कागजको टुक्रा’ नै सबथोक बनेको छ। त्यसैले त भनिन्छ नि, ‘मनि इज नथिङ् बट एभ्रिथिङ्’ । यही जाबो कागजको टुक्रा कमाउनलाई गर्नुसम्मको दु:ख कष्ट गर्नुपर्छ। यसरी कमाएको पैसा जोगाउने सबैको रहर हुन्छ। तर, आफ्नो आवश्यकता पनि त पूरा गर्नै पर्यो।
आफ्नो आवश्यकता पूरा गरेर पनि पैसा जोगाउन सकिन्छ। भनिन्छ नि ‘पैसा कमाएर भन्दा पनि जोगाएर बचत हुन्छ। हो, आज हामी आफ्नो आवश्यकता पूरा गरेर पनि पैसा बचत गर्ने केही टिप्सहरु दिंदैछौ ।
के यो मेरो बजेटभित्र पर्छ ?
हामी लोभ, सोख, लहलहै वा बहकिएर किनमेल गर्छौ । यस्तो बानीले कहिलेकाही पुरै महिना आफ्नो स–सानो आवश्यकताहरुलाई त्याग्नुपर्ने हुन्छ । सामान किनमेल गर्नुभन्दा अघि योजना अनुरुप बजेट तयार गर्नुपर्छ । यदि कुनै सामान बजेटमा छैन भने अर्को महिना पैसा जम्मा गरेर मात्र किन्नुहोस् । त्यसको लागि महिनै पिच्छे थोरै थोरै पैसा जम्मा गर्नुपर्छ ।
यो सामानको मलाई भविष्यमा आवश्यक पर्छ कि पर्दैन ?
एउटा कुरा जहिले पनि ध्यान राख्नुपर्छ । जुन सामान तपाई किन्दै हुनुहुन्छ त्यो सामान एक पटकको लागि मात्र प्रयोग नहोस् । भविष्यमा पनि त्यो सामान प्रयोगमा आउँछ कि आउँदैन भन्ने कुरा ख्याल गरेर मात्र किन्ने फैसला गर्नुपर्छ । एक दुईपटकको लागि त अरुसँग मागेर पनि चलाउन सकिन्छ ।
टिकाउ छ कि छैन् ?
कुनै पनि सामानको गुणस्तर धेरै महत्व राख्छ । सामान क्वालीटीको छ कि छैन भनेर जाँच्नु पनि एक कला नै हो । प्रायलाई लाग्छ धेरै महंगो पैसा हालेर किनेको सामन टिकाउ हुन्छ । अनि ठगको शिकार बन्छन् । त्यसकारण सामानको गुणस्तर हेरेरमात्र सामान किन्नुपर्छ । गुणस्तरको सामान टिकाउ हुन्छ ।
के यो सामानको मुल्य सहि छ ?
कहिलेकाही हामी बजारबाट सामान किनेर ल्याउँछौ । पछि मात्रै थाहा पाउँछौ कि अरु पसलमा वा वेवसाइट्समा कम दाममा पाइरहेको हुन्छ । यस्तोमा कुनै पनि सामान किन्नुभन्दा पहिले नै बजारमा त्यसको मुल्य कति छ भनेर जान्नु जरुरी हुन्छ । कहिलेकाही डिस्काउन्ट र अफरहरु आइरहेको हुन्छ त्यस्तोमा सामान किन्दा सस्तो पर्छ ।
रिटर्न पोलिसी कस्तो छ ?
सामान किनेर घर लानुको हतारले कहिलेकाही हामी ‘रिटर्न पोलिसी’को बारेमा जानकारी लिन बिर्सन्छौ । यतिमात्र होइन आफुले किनेको सामानको वारेन्टी/ग्यारेन्टी छ कि छैन् भन्ने कुरा पनि सोध्दैनौ । यदि सामान ‘वारेन्टी पिरियड’को क्रममा बिग्रिएमा सामान फ्रिमा बनाउनुको साथै साट्न पनि सकिन्छ ।





























प्रतिक्रिया