केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २८ मंसिर ।
राजधानी काठमाडौंको दरबारमार्गस्थित बहुचर्चित नाइट क्लब डेजाभूमा बुधबार राती भएको तोडफोड र डीजेको अनुपस्थिति प्रकरणमा पूर्व क्रिकेटर पृथु बाँस्कोटा पक्राउ परेका छन् ।
पृथु बाँस्कोटा पनि डेजाभू क्लबका एक सञ्चालक हुन् ।
चर्चित अमेरिकी डीजे मार्समेलोलाई ल्याउने भन्दै महँगो मूल्यमा टिकट बिक्री गरेर पनि पछि ती डीजेलाई उपस्थितत गराउन नसकेकोले ठगीको आरोपमा काठमाडौंको दरबारमार्गस्थित डेजाभू नाइट क्लबका सञ्चालकसहित ८ जना पक्राउ परेका हुन् ।
पृथुका साथै पक्राउ पर्नेमा क्लबका सञ्चालक जयन श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ, डिजाइनर राजीव महर्जन, क्लबका क्याप्टेन आकाश न्यौपाने र क्लबका रितेश माडवाडी समेत छन् ।
उनीहरुलाई प्रहरीको महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

पूर्व निर्धारित कार्यक्रम अनुसार मार्समेलो क्लबमा उपस्थित नभएपछि गए बुधबार राती डेजाभू क्लबमा तोडफोड समेत भएको थियो जसबबाट क्लबमा सामान्य क्षति समेत पुगेको छ । स्रोतका अनुसार क्लबको क्षमता तीन हजारजनाको मात्र हो ।
मार्समेलोलाई ल्याउने भन्दै क्लब सञ्चालकहरुले ७ हजार जनालाई टिकट विक्री गरेका थिए जुन क्लबको क्षमताभन्दा धेरै बढी हो ।
तर क्लबमा पुगेको क्षतिको सम्बन्धमा हालसम्म कुनै उजुरी गरिएको छैन ।
यसबीच, डीजे मार्समेलोले भने फुडपोइजन भएका कारण आफू नेपाल आउन नसकेको उल्लेख गर्दै फेसबुक र इन्स्टाग्राममार्फत माफी मागेका छन् ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहोनीले केन्द्रबिन्दु डटकमसित कुराकानी गर्दै बताएअनुसार, ‘डेजाभू नाइटक्लबका सञ्चालकहरूले क्लबको क्षमताभन्दा टिकट बिक्री गर्नुका साथै पूर्वघोषित अमेरिकी डीजेलाई उपस्थित नगराएकोले ठगीको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।’





























प्रतिक्रिया