केन्द्रबिन्दु डेस्क । काठमाडौं, ४ भदौ ।
तपार्इंले देख्नुभएकै होला, कतिपय किशोर–किशोरीले आफ्नै हात काट्छन्, चुरोटको ठुटोले पोल्छन् । मनोविज्ञहरू भन्छन्, यसरी आफूले आफैंलाई दुख दिँदा उनीहरूलाई एक किसिमको सन्तोष मिल्छ । कसरी त्यस्तो हुन्छ होला ?
आफ्नो कुण्ठा मेट्नका लागि उनीहरूले त्यस्तो उपाय अपनाउँछन्, जो निकै घातक हुन्छ । कतिसम्म भने, कहिलेकाहीँ उनीहरू आत्महत्याको अवस्थामा समेत पुग्ने गर्छन् ।
हीनताबोधले ग्रस्त, भावनात्मक कमजोरीसँगै आवेग र कठिन परिस्थितिसँग जुध्न नसक्नुको कारण उनीहरू यस्ता कृत्य गर्न उक्सिन्छन् ।
तनाव, निराशा, एक्लोपन, अपहेलना, असफलता आदिले उनीहरूलाई यस्तो अवस्थामा पुर्याउँछ ।
के छ समाधान ?
– चिन्ताग्रस्त एवं हीनताबोधले ग्रस्त बच्चाले आफूले आफैंलाई पीडा दिने वा आत्महत्या गर्ने योजना बनाएका हुन्छन् । कुनै समय उनीहरू खतरनाक कदम उठाउन तम्सिन्छन् ।
– बच्चाहरू यदि भावनात्मक समस्याबाट गुज्रिरहेका छन्, उनीहरूको कुरा कसैले सुन्दैनन्, उनीहरूलाई कसैले बुझ्दैनन् भने यस्तो स्थिति आउँछ, जो परिवारले सोचेका हुँदैनन् । त्यसैले बच्चालाई यस्तो अवस्थाबाट मुक्त गराउनका लागि उनीहरूलाई धैर्यतापूर्वक सुन्ने गरौं ।
– बच्चाको भावना, मनोदशालाई बुझ्ने गरौं । उनीहरूलाई महसुस होस्– मेरो कुरा अभिभावकले सुन्छन् वा बुझ्छन् ।
– बच्चाको कुरा बुझ्नका लागि भावनात्मक रवैया अपनाउनुहोस् । उनीहरूलाई यसौं भनौं, ‘त्यस उमेरमा म पनि तिमीहरूको जस्तै समस्याबाट गुज्रिएको थिएँ ।’
– तपाईंको बच्चाको कुरा वा सोच गलत पनि हुनसक्छ । तर, शान्त वा नियन्त्रित हुनुहोस् । उनीहरूको चित्त दुखाउने काम गर्दै नगरौं ।
– यसका साथै घरको माहौल एकदमै सकारात्मक राखौं । राम्रो कुराको प्रशंसा गरौं । गलत कुरालाई नजरअन्दाज नगरौं । उनीहरूलाई हरेक कुरामा दोष दिनुहुन्न ।
– बच्चासँग क्वालिटी टाइम बिताउनुहोस् । उसलाई डिनरमा लानुहोस्, गेमहरू खेलाउनुहोस् ।
– बच्चाको तुलना अरू कसैसँग नगरौं । व्यङग्य, मजाक गर्ने वा धेरै कडा अनुशासनमा बाँध्ने काम नगरौं ।
यदि सतर्कता अपनाउँदा–अपनाउँदै पनि बच्चाले गलत बाटो लिन्छ भने मानसिक स्वास्थ्यको उपचार खोज्नुपर्छ ।
कसरी थाहा पाउने ?
बच्चामा अचानक वा बिस्तारै हुने परिवर्तनमा ध्यान राख्नुपर्छ । जस्तो–
– विद्यालय वा कलेजको गतिविधिमा रुचि नराख्ने ।
– एक्लै बस्न खोज्ने । अरूसँग हाँस्न, बोल्न रुचि नराख्ने ।
– खाने, पिउने, सुत्ने तालिका बदलिनु ।
– टाउको दुखेको वा थकान महसुस गरेको अवस्था ।
– आफ्नो लुक्समा ध्यान नदिने ।
– कहिलेकाहीँ आफ्नो सबैभन्दा मनपर्ने वस्तुप्रति पनि बेवास्ता गर्छन् भने उनीहरू आत्महत्या गर्ने मनस्थितिबाट गुज्रिरहेको हुनसक्छ ।
– जहिले पनि आफ्नो असफलतामा घोत्लिने ।
– कहिले एकदमै निराश त कहिले एकदमै खुसी हुने ।





























प्रतिक्रिया