यस्तो थियो नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको प्रेरणादायी जीवनी

यस्तो थियो नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको प्रेरणादायी जीवनी


काठमाडौं,

वि.सं. १८७१ आषाढ २९ गते आजैका दिन नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म भएको हो । उनका पिताको नाम धनञ्जय आचार्य र माता धर्मावतीदेवी हो । पिता धनञ्जय जागिरे हुँदा भानुभक्तको हेरचाह बाजे श्रीकृष्ण आचार्यबाट भएको थियो । पाँच बर्ष लागेपछि बाजे श्रीकृष्णले माघ शुक्ल पञ्चमीका दिन भानुभक्तलाई अक्षरारम्भ गराएका थिए ।

दस बर्षको उमेरमा भानुभक्तको विवाह चन्द्रकान्तादेवीका साथ भएको थियो । विवाह भएको केही महिनापछि चन्द्रकान्ताको मृत्यु भयो । लगत्तै उनको दोश्रो विवाह एघार वर्षको उमेरमा तनहुँ जिल्लाको मानुङ्ग गाउँकी चन्द्रकलादेवीसँग भयो । जीवनको अन्तिम घडीमा काशीमा देह त्याग गर्ने बाजेको इच्छा अनुसार भानुभक्त आफ्ना बाजे श्रीकृष्णका साथ काशी गएका थिए । वि.सं. १८८९ तिर बाजे श्रीकृष्णले काशीमा देह त्याग गरेपछि भानुभक्त आफ्नो गाउँ फर्किएका हुन् ।

काशीबाट आफ्नो गाउँ फर्कंदा उनी १९ वर्षका थिए । काशी वसाईको समयमा उनले त्यहाँ शास्त्रीय अध्ययन समेत गरेका थिए । साथै काशीमा विद्वानहरुका संगतले यिनमा गजबको कवित्व शक्ति जागृत भईसकेको थियो । उनी समय पाउना साथ प्रसंग अनुसार रमाइला फुटकर रचनाहरु लेख्ने गर्थेे ।

पछि उनै भानुभक्त नेपाली साहित्यमा आदिकविका नामले परिचित छन् । उनको अथक प्रयासले संस्कृतमा लेखिएको रामायण नेपाली भाषामा अनुवाद भयो । पछि युवाकवि मोतिराम भट्टले भानुभक्तले नेपालीमा अनुवाद गरेको रामायणलाई प्रकाशन गराए । यसपछि भने नेपालीमा लेखिएको रामायणलाई हरेकजसो नेपालीले लय हाली हाली कण्ठ पार्न थाले । धेरैका घरघरमा रामायण पुग्यो ।

भानुभक्तले यति मात्र गरेनन् , उनको समयमा नेपाली साहित्यले थप उर्जा प्राप्त गर्यो । लुकेको साहित्यले समाजलाई मार्गनिर्देश गर्न सक्यो । जीवनमा भानुभक्तले केही फुटकर कविताहरु लेखे । उनका चर्चित रचनाहरुमा प्रश्नोत्तर, बधूशिक्षा, भक्तमाला जस्ता लघुकाव्य र रामायण महाकाव्य मुख्य छन् । यसरी नेपाली साहित्यका पुराना कवि भएकाले उनलाई आदिकवि भनिएको हो ।

उनको जीवनीसँग धेरै रोचक प्रसंगहरु जोडिएका छन् । एकपटक उनले एउटा घाँसीसँग भेटेका थिए । घाँसीले दिनभरि घाँसकाटेको देखेपछि भानुभक्तले सोधे, घाँसी तिमी यो घाँसले के गर्छौ ? जवाफमा घाँसीले आफूले काटेको घाँस बेचेर नजिकै एउटा कुवा खनाएको बतायो । घाँसी आफैं गरिब थियो, तैपनि उसको समाजसेवा आफैंमा उदाहरणिय पनि थियो । घाँसीले घाँसदाउरा गरेर आर्जन गरेको रकमले कुवा खनाएको जानकारी भानुभक्तलाई दिए । घाँसीको कुराले भानुभक्तको मन छोयो । अनि उनले कविता लेखे: –

भर्जन्म घाँसतिर मन दिइ धन कमायो ।
नाम क्यै रहोस पछि भनेर कुवा खनायो ।।
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो ।
मो भानुभक्त धनि भैकन आज यस्तो ।।
मेरा इनार न त सत्तल पाटि क्यै छन् ।
जे छन् र चीजहरु छन् घरभित्र नै छन् ।।
तेस् घाँसीले कसरी आज दिएछ अर्ती ।
धिक्कार हो मकन बस्नु नराखि कीर्ति ।।

अहिले पनि तनहुँमा घाँसीकुवा रहेको छ । उनी मरेर गएपनि नेपाली साहित्यलाई अतुलनिय योगदान दिएर गएका छन् । उनको प्रेरणादायी जीवनीबाट हरेक नेपालीले धेरै कुरा सिक्न सकिनेछ । यस्ता महान् व्यक्तिको विसं. १९२५ आश्विन शुक्ल पञ्चमीका दिन ५४ बर्षको उमेरमा निधन भयो ।

तिमी महान छौ , भानुभक्त

तिमी नआएको भए हाम्रो साहित्य कहिल्यै फूल्दैनथ्यो
हाम्रो लागी रामायणको ढोका कहिल्यै खुल्दैनथ्यो ,
हराउन लागेको रामायणलाई जोडेर
तिमी गयौ भानुभक्त हामीलाई रामायण छोडेर

तिम्रा पिता धनञ्जय, माता धर्मादेवी
बाजे श्रीकृष्णको तिमी समाजसेवी
तिमी आयौ, साहित्यलाई फूलाउन फलाउन
हामीले पायौं आज तिम्रा कृति सजाउन

असारको झरिमा तिमी जन्मियौ
घाँस काट्ने घाँसीलाई साथी बनायौ
घाँसीले कुवा खन्यो बटुवाको लागि
तिमीले साहित्य दियौ हाम्रो लागि

त्यसैले कदर गर्छौं हामी तिम्रो कामको
तिम्रो पुस्तक हामीले पायौं रामायण नामको
तिमी महान छौ हाम्रो लागि
भानुभक्त तिमी हाम्रा भयौ आदिकवि
भयौ आदिकवि…।

Logo