यज्ञराज उपाध्यायले ल्याए ‘काली कर्णालीको लोक साहित्य तथा संस्कृति’

यज्ञराज उपाध्यायले ल्याए ‘काली कर्णालीको लोक साहित्य तथा संस्कृति’


सुदूरपश्चिमका पूर्वप्राज्ञ यज्ञराज उपाध्यायको अनुसन्धानात्मक कृति ‘काली कर्णालीको लोक साहित्य तथा संस्कृति’ प्रकाशित भएको छ । प्रज्ञा भवनमा शनिबार आयोजित कार्यक्रममा ९ सय ४३ पृष्ठको उक्त कृति लोकार्पण गरिएको हो ।

उपाध्यायले २०५५ सालदेखि अनुसन्धान गरेर कृति तयार पारेको जानकारी कार्यक्रममा दिइयो । सुदूरपश्चिम तथा कर्णाली क्षेत्रका जिल्लाहरुमा अध्ययन–अनुसन्धान गरेर तयार कृतिमा उपाध्यायले सुदूरपश्चिमका चाडपर्व, गीतसंगीत, बाजा र लोक नृत्यबारे बृहत जानकारी समेटिएको छ ।

देउडा, डेउडा, न्याउल्या लगायत धमारी, गौरा, भुव, छलिया, भैनी, भारी खेल, ठाडी खेल, ढुस्को जिउना पुरी लगायतका चाडपर्वबारे पुस्तकमा व्याख्या छ ।
सस्कृतिविद् डा. जगमान गुरुङले उपाध्यायले लोक साहित्यको जगेर्नाका लागि ठूलो योगदान गरेको बताए । ‘कसैले आफूलाई प्राज्ञ भन्छ भने राष्ट्रको प्राज्ञिक आवश्यकतामा योगदान गर्नुपर्छ, उपाध्यायले गर्नुभएको छ,’ उनले भने, ‘चुनाव जितेर मात्रै ठूलो भइँदैन । राष्ट्रलाई योगदान गर्न सक्नुपर्छ ।’

साहित्यकर्मी नवराज लम्सालले ‘काली कर्णालीको लोक साहित्य तथा संस्कृति’ले नेपाली साहित्यको सांस्कृतिक इतिहासमा कतै भएका त्रुटिलाई सच्याउने क्षमता राख्ने बताए । बसाइसराईको युगमा मान्छे जहाँ पुगे पनि आफ्नो संस्कृतिलाई माया गर्ने भएकाले यसले प्रष्ट जानकारी दिने भनाइ उनले राखे । ‘पाठ्यान्तर नहुनेगरी आएको पुस्तक हो,’ उनले भने, ‘बसाइसाराईले कोही एउटा निश्चित भूगोलमा मात्रै हुँदैन, संस्कृति सर्दै जाँदा किताबले जोगाउने हो । यसले काली कर्णालीका प्रयोगलाई ज्युँदै राखेको छ ।’ 

पुस्तकका सम्पादक शिक्षासेवी सुवासचन्द्र भण्डारीले काली कर्णालीको मानव सभ्यता पुस्तकले समेटेको बताए । भाषा, संस्कृति, आञ्चलिकता समेटेको पुस्तकले नेपाली लोक साहित्यलाई धनी बनाएको भनाइ उनले राखे । ‘नेपाली वाङमयको शक्तिशाली दस्तावेज हो,’ उनले भने, ‘यसको महिमा चीरकाल रहिरहने छ ।’ उपाध्यायको आफ्नै घरआँगनकै संस्कृति भए पनि पुस्तान्तरण गर्ने ग्रन्थ तयार गर्ने जमर्को ऐतिहासिक रहेको उनले बताए । 

लेखक उपाध्यायले अध्ययन अनुसन्धान र प्रकाशनमा सबैको सहयोगले लेखन कार्य सम्भव भएको बताए । आफूले धान ल्याएर दिँदा सम्पादकले पठनीय बनाएको उनले सुनाए । 

Logo