पाँचबुँदे घोषणापत्र जारी गर्दै गजल महोत्सव ०७६ को समापन

पाँचबुँदे घोषणापत्र जारी गर्दै गजल महोत्सव ०७६ को समापन


काठमाडौं ।

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा राष्ट्रिय युवा परिषद्को सहकार्यमा भएको दुईदिने राष्ट्रिय गजल महोत्सव २०७६ पाँचबुँदे घोषणापत्र जारी गर्दै बिहीबार सम्पन्न भएको छ।

राष्ट्रिय गजल महोत्सव–२०७६ मा सहभागीका तर्फबाट प्रस्तुत गरिएको घोषणापत्रमा गजल स्रष्टाहरू अबको गजल लेखन र दिशाका बारेमा के कसरी अगाडि बढ्ने भन्ने कुरा उल्लेख गरिएको छ।

घोषणापत्रमा गजल महोत्सव आयोजना गरेकोमा प्रज्ञा–प्रतिष्ठानप्रति आभार व्यक्त गरिएको छ । त्यसै गरी नेपाली गजलका प्रणेता मोतीराम भट्टप्रति श्रद्धासुमन व्यक्त गर्दै गजल नेपाली साहित्यमा प्रवेश गरेको सवा शताब्दीभन्दा बढी भएको अवस्थामा नेपाली गजल लेखनको इतिहास र परम्पराप्रति पनि सम्मान प्रकट गरिएको छ।

गजलको सैद्धान्तिक पक्षलाई आत्मसात् गर्दै गजल बहर वा छन्दमा लेखिनुपर्छ भन्ने कुरालाई मनन गरी गजल लेखनको मौलिक पक्षलाई पनि सम्मान गरिएको छ। साथै गजलमा अन्तर्वस्तु र रूप पक्षमा सन्तुलन हुनुपर्छ भन्ने कुरालाई अङ्गीकार गर्दै विचार, तर्क र कल्पनाको प्रस्तुति चमत्कारपूर्ण हुनुपर्छ भन्ने कुराप्रति सहमत भएको पनि उल्लेख गरिएको छ।

अन्त्यमा नेपाली गजलको विकास समृद्धि र सम्मानका निम्ति नेपाल प्रज्ञा–प्रतिष्ठानलाई राष्ट्रिय गजल महोत्सव वर्षमा एकपटक आयोजना गर्न अनुरोध पनि गरिएको छ।बुधबार प्रज्ञा–प्रतिष्ठानको सभाकक्षमा भव्य कार्यक्रम गरी गजल महोत्सवकै रूपमा पहिलोपटक शुरू गरिएको कार्यक्रम युवा तथा खेलकुदमन्त्री एवं राष्ट्रिय युवा परिषद्का अध्यक्ष जगतबहादुर सुनारले समापन गरेका थिए ।
नेपाल समाचारपत्रबाट

Logo