लघुकथा : सहिद

लघुकथा : सहिद


  • सरद विष्ट

चुल्होमा आगो पनि बलेको छैन । घरभरि रुवावासी छ । तीन दिन हुनै लाग्यो । जीतबहादुरको केहि अत्तोपत्तो नै छैन । जुन दिनदेखि जीतबहादुरले घर छोडेर हिडेको थियो । त्यही दिनदेखि दुहुनो भैंसी पनि थला पर्यो । घरमा श्रीमती चिन्ताले ग्रसित छिन् । केटाकेटीहरु पनि विद्यालय नगएर आपसमा झगडा गर्दैछन् । त्यसैले जीतवहादुरको श्रीमती पवित्रालाई घर चलाउन तथा सम्हाल्न अप्ठ्यारो परिरहेको थियो ।

केहि दिनपछि जीतबहादुर साँझपख रक्सी खाएर टिल्ल परेर घर फर्कियो । घरमा ढोका बन्द थियो । केटाकेटीहरु पनि खेल्न गईसकेका थिए । विचरी ! श्रीमती भने दिउसोको खाना खाएर वनमा घाँस लिन गएकी थिईन् । जीतबहादुर घरको पेटीमा झोक्रिएर पल्टिरहेको थियो । श्रीमती पनि वनवाट घाँस लिएर आईन । त्यही वेला घाँसको भारी विसाएर ढोका खोल्दै थिईन । जीतवहादुरले दिनभर कहाँ गएकी थिइस् भन्दै खुबसँग पिट्यो । पवित्रा केहि जवाफ नफर्काई कौसीमा बसेर रातभरी रोईन् ।

घरको कुनै वास्ता नराखी अर्को दिन बिहानै उठेर जीतवहादुर एउटा पार्टीको विरोध कार्यक्रममा सहभागी भयो । विरोध चर्किदै जाँदा गोली चल्यो र जीतबहादुरको टाउकोमा गोली लागि मैदानमा ढल्यो । कठै ! एक घुट्की पानी पनि पिउन पाएन, जे होस् आन्दोलनमा सहभागी भए बापत पार्टीले उसलाई सहिद घोषणा गर्यो । श्रीमतीले आफनो श्रीमान सहिद भएको कुरा दुई दिनपछि मात्र थाहा पाइन् । श्रीमान् कसरी सहिद हुनु भयो होला ? फेरि, कहिले पनि संघसंस्था तथा पार्टीमा पनि लाग्नु भएन भन्दै मनमा अनेकौं कुराहरु खेलाइरहेकी थिईन । राज्यबाट यस्तो जड्याहा श्रीमानलाई यति ठुलो सम्मान दिंदा पवित्रालाई कता कता भारीको अनुभुति थियो । जे जे भएता पनि श्रीमानसँग जीवनभरका लागि बियोग हुँदा आँखावाट आँसु झार्दै सुत्ने कोठामा रहेको श्रीमान्को ठूलो तस्विरमा रातो टिका र पुष्पमाला अर्पण गर्न लागेकी थिइन् ।

Logo