म यातनापूर्ण पठनको विपक्षमा छु – विप्लव ढकाल

म यातनापूर्ण पठनको विपक्षमा छु – विप्लव ढकाल

केन्द्रबिन्दु
0
Shares

विप्लव ढकाल (वि.सं. २०२४) समसामयिक नेपाली कविता धाराका एक सशक्त हस्ताक्षर हुन् । उनका कवितामा विद्रोहको चेत निकै गम्भीर ढंगले आएको हुन्छ । उनका हालसम्म विभिन्न विधाका ८ वटा पुस्तकाकार कृति प्रकाशित छन् । उनको ‘भोजपुरको साहित्यिक रूपरेखा’ नामक अनुसन्धानात्मक कृतिले भोजपुर जिल्लाको साहित्यिक इतिहासलाई सूक्ष्म र सघन रूपमा समेटेको छ ।

ढकालका ‘निर्जन बन्दरगाह’, ‘कालो मध्यान्तर’, ‘च्याउको जङ्गल’ र ‘प्रोफेसर शर्माको डायरी’ निकै चर्चित छन् । यी बाहेक विभिन्न पत्रपत्रिकाहरूमा फुटकर रूपमा उनका अनेकौं कविता, एकाङ्की, समालोचना, गजल, लघुकथा, हाइकु, मुक्तक, गीत आदि प्रकाशित छन् । उनले विभिन्न पुस्तक र पत्रिकाहरूको सम्पादन गरेका छन् र दर्जनौँ पुस्तकका भूमिका पनि लेखेका छन् । त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका ढकाल लामो समयदेखि प्राध्यापनमा संलग्न छन् ।

ढकाल विभिन्न संघसंस्थामा आवद्ध छन् । उनले युवावर्ष मोती पुरस्कार, षडानन्द प्रतिभा पुरस्कार, गरिमा पुरस्कार, प्रतिभा पुरस्कार, नन्दिकेश्वर अधिकारी शोध सम्मानजस्ता धेरै पुरस्कार र सम्मान प्राप्त गरेका छन् । उनै ढकालसँग केन्द्रविन्दुका दीपक दर्शनले पुस्तक पठनका विषयमा गरेको संक्षिप्त कुराकानी :

१. तपाईंले पछिल्लोपटक कुन पुस्तक पढ्नुभयो ?

ज्ञानमणि नेपालद्वारा लिखित इतिहाससम्बन्धी पुस्तक ‘नेपाल निरुक्त’ पढेँ ।

२. तपाईंले उक्त पुस्तक कसरी छनोट गर्नुभयो ?

म अहिले भोजपुरलाई आधार बनाएर ‘साहित्यको समावेशी इतिहास’ को मोडल विकास गर्ने काममा लागेको छु । यसमा भोजपुरभित्र बोलिने सबै भाषाका इतिहासको खोजी हुने भएकाले तथ्य संकलनको सन्दर्भ सामग्रीका रूपमा यो पुस्तकलाई छनोट गरेको हुँ ।

३. उक्त पुस्तकको सार के पाउनुभयो ?

यो कृतिले नेपालको इतिहासलाई विविध र बहुआयामिक कोणबाट हेरेको छ । यो पुस्तकमा ३० वटा शीर्षकमा विविध विषय समेटिएका सामग्रीले स्थान पाएका छन् । यसमा पूवी नेपाल वा भनौं कोशी प्रदेशका चण्डी नाच, साकेलाजस्ता सांस्कृतिक कुराहरूका विषय पनि ऐतिहासिक दृष्टिबाट लेखिएका छन् ।

४. उक्त पुस्तकको कुन कुराले छोयो र किन ?

मलाई यो पुस्तकका २, ३ वटा कुराले औधी छोयो । नेपाल शब्दको व्युत्पत्ति, पूर्वी नेपालको सांस्कृतिक एवं राजनीतिक इतिहासको सूक्ष्म अध्ययन तथा दिङ्ला षडानन्द माध्यमिक विद्यालय स्थापना कालको शिलालेख (भोजपुरकै सबैभन्दा ठूलो शिलालेख) को उतारजस्ता कुराले पनि उत्तिकै छोए । यी कार्य निकै प्रशंसनीय र अर्थपूर्ण छन् । सूचना र तथ्यको व्यवस्थापन पनि राम्रो छ ।

५. पुस्तकमा कुन पक्ष सुधार गर्नुपर्ने लाग्यो ? वा पुस्तकको कमजोरी के पाउनुभयो ?

कुनै पनि कृति आफैंमा पूर्ण हुँदैनन् । अझ अनुसन्धानात्मक कृति त निश्चित सीमाभित्रै बाँधिएर प्रस्तुत भएको हुन्छ । यसमा शोध्य विषयको सीमाबाहिरका सबै कुरा छाडिन्छन् चाहे ती जतिसुकै महत्वपूर्ण किन नहोऊन् । त्यस हिसाबले यस पुस्तकका पनि सीमा छन् ।

६. यो पुस्तकलाई रेटिङ गर्नुपरे २० पूर्णांकमा कति नम्बर दिनुहुन्छ ?

१८ दिन्छु ।

७. हाम्रा पाठकलाई पुस्तक छनोट गर्न केकस्तो तरिका सुझाउनुहुन्छ ?

हरेक पाठकका फरक फरक रुचि र आवश्यकता हुन्छन् । मेरो आफ्नो सन्दर्भमा कुरा गर्दा सामान्यतः पुस्तकको समीक्षा हेरेर, लेखक हेरेर तथा आफ्नो कार्यसँग मेल खाने खालका पुस्तकहरूलाई रोज्दछु ।

पुस्तक छनोट गर्दा बजार हल्लाको पछि लागेर हुँदैन । फेरि हामीकहाँ गरिने पुस्तक समीक्षाका विषयमा आधिकारिकता र प्रामाणिकताको कुनै मानक पाइँदैन । पुस्तक समीक्षाहरू कसैका स्वार्थसँग जोडिएर गरिएका तथा शंकास्पद पनि छन्, विश्वसनीयताको अभाव छ ।

समग्रमा भन्दा पाठयपुस्तकबाहिरका कृति स्वतन्त्र ढंगले छनोट गरिन्छ । त्यसमा आत्मालाई मनोरञ्जन दिने तहमा पर्याप्त सचेतता अपनाउनुपर्छ । कुनै पुस्तक ५, ७ पृष्ठ वा एउटा अध्याय पढिसक्दा पनि त्यसले छोएन भने पढ्न सकिँदैन । म यातनापूर्ण पठनको विपक्षमा छु । मन नलागी नलागी पढेर आफैंलाई सकस दिनुको अर्थ छैन ।

Logo