तर यसपालि रित्तो हात फर्कने छैन …

तर यसपालि रित्तो हात फर्कने छैन …

केन्द्रबिन्दु
0
Shares

ओ समय !

वर्षौंपछि
हजुरको सहरमा
हजुरकै आदेशबिना
म नाङ्गो छाती उभिएको छु
सक्नुहुन्छ भने
सिंहदरबारबाट भाला झिकेर
रोपिदिनुस् मेरो छातीमा
सक्नुहुन्छ भने
मेरो शिर लगेर झुन्ड्याइदिनुस् धरहराको टुप्पोमा
तर यसपाला म
हजुरको सहरबाट रित्तो हात फर्किने छैन ।

मेरै छाला च्यातेर ओछ्याइएका
यी काला सडकहरूमा
भन्नुस्– कति वर्ष सयर गर्नुभो ?
फूल सम्झी चुँडेर मेरो शिरलाई
भन्नुस्– कतिऔं जन्मोत्सव मनाउनुभो ?
मेरै छातीको नाप लिएर
भन्नुस्– कतिपल्ट पड्काउनुभो तोप ?
र, कतिपल्ट मनाउनुभो प्रजातन्त्र दिवस ?
यी जम्मैजम्मै हिसाब गर्न
वर्षौंपछि हजुरको सहरमा
हजुरकै आदेशबिना
म नाङ्गो छाती उभिएको छु
सक्नुहुन्छ भने
भनिदिनुस् मलाई देशद्रोही
जलाइदिनुस् मेरो नागरिकता
सीमानासँगै च्याप्टिएको मेरो च्याप्टो छातीमा
बजार्नुस् बुटैबुट
तर यसपाला म
हजुरको सहरबाट रित्तो हात फर्किने छैन ।

वर्षौंपछि
हजुरको सहरमा
हजुरको पाउ छुन हैन
पाउ चिमोट्न आएको छु
सक्नुहुन्छ भने,
ठुन्क्याइदिनुस् मेरा यी
ल्याप्चे लाउँदालाउँदा लाटा भएका औंलाहरू
फुटाइदिनुस् मेरा यी
सपना मात्रै देख्ने आँखाहरू
सक्नुहुन्छ भने,
जफत गरिदिनुस् मेरा यी
फित्ता छिनेका चप्पल र नाम्लो
तर यसपाला म,
हजुरको सहरबाट
रित्तो हात फर्किने छैन ।

Skip This
Skip This
Logo