आँसु या उखुको रस ?

आँसु या उखुको रस ?

केन्द्रबिन्दु
0
Shares

तस्वीरहरू बिल्कुलै गलत छन्
आँखाबाट झरेका तरल
आँसु हैनन्–
उसका पसिना हुन्
रगत हुन्
उसका रगतपसिनाले उब्जाएका
त्यही मूल्यहीन उखुका रसहरू हुन् ।

केही सन्तानका अधकल्चो सपना हुन्,
अनिश्चित भविष्य हुन्
केही बन्धकीमा अल्झिएका
श्रीमतीका आला घाउहरू हुन् ।
बारम्बार घाउबाट बग्ने उखुका रसहरू हुन् ।

गुलाबी झिसमिसेमै उसले उखु हैन
आफ्नो सन्तानको किताब, कापी र कलम
बुझाउँछ मिलमा
श्रीमतीको चुरा पोते र फरिया
साहूजीको पसल रित्तिन्छ
तर
उसको उखु मुटुको किला बनेर फर्किन्छ
अर्को उज्यालो दिन फेरि फर्किंदैन,
केवल अनिँदो रात बनेर फर्किन्छ
उसको आँखाको पानी बनेर फर्किन्छ
त्यसैले त्यो बिल्कुलै आँसु हैन
उसको मुटुमा भल फुटाउने
त्यही उखुका रसहरू हुन् ।

 

Logo