साताको साहित्य पुरस्कार सीता तुम्खेवालाई

साताको साहित्य पुरस्कार सीता तुम्खेवालाई


काठमाडाैँ । ‘असल साहित्यकारले पुरस्कार र सम्मान होइन, पुरस्कार र सम्मानले असल साहित्य र साहित्यकारको खोजी गर्नु पर्दछ’ भन्ने उद्घोषका साथ नेपाली साहित्यमा उल्लेखनीय योगदान दिँदै आइरहेको साताको साहित्य डट कमले वर्षभरि आफ्नो वेबसाइटमा प्रकाशित रचनाहरूमध्ये उत्कृष्ट रचनालाई पुरस्कृत गर्दै आइरहेको छ।

सोहीअनुसार यस वर्ष गत अगष्ट २०१८ देखि जुलाई २०१९ सम्म प्रकाशित भएका रचनाहरूमध्येबाट पाठकहरूको प्रतिक्रिया र निर्णायकहरूको निर्णयको आधारमा यस पटक कवयित्री सीता तुम्खेवाको कविता ‘वीर्यको बतास’लाई यस वर्षको साताको साहित्य पुरस्कार केही साताअगाडि घोषणा गरिएको थियो । आज राजधानीको पर्यटन बोर्डमा एक समारोहका बीच सीता तुम्खेवालाई पुरस्कार अर्पण गरियो । पुरस्कृत लेखिकाले पुरस्कार स्वरूप ताम्रपत्र र नगद बीस हजार रूपैयाँ प्राप्त गरेकी छिन् ।

कार्यक्रमका प्रमुख अतिथि कवि तुलसी दिवसले साताको साहित्यको यो प्रयासले थुप्रै लेखकहरूलाई ऊर्जा थपिरहेको उल्लेख गरे । साताको साहित्य पुरस्कारको थालनी आठ वर्ष अघिदेखि गरिएको हो । यसअघि नवीन प्यासी, प्रोल्लास सिन्धुलीय, बोनम प्रताप, नवराज पराजुली, मुकुन्द प्रयास, रमेश सायन र रवीन्द्र समीरका रचनाहरू पुरस्कृत भएका थिए ।

कार्यक्रममा नयनराज पाण्डे, नारायण ढकाल लगायत साताको साहित्य पुरस्कारबाट पुरस्कृत लेखकहरूको पनि उपस्थिति थियो । लेखक एवं प्रकाशक भुपेन्द्र खड्काले सञ्चालन गरेको कार्यक्रममा साताको साहित्यका कार्यकारी सम्पादकले उपस्थित सबैलाई स्वागत गरेका थिए भने सम्पादक निष्प्रभ सजीले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमका बिट मारेका थिए । साताको साहित्य पुरस्कारको प्रायोजन हरेक वर्ष इनोभेटिभ एसोसिएट्सले गर्दै आएको छ ।

Logo