कविता – ह्याप्पी टोपी दिवस

कविता – ह्याप्पी टोपी दिवस


ए सुरुवाल, कछाड र दौरा

तिमीहरू यसरी मलाई

किन डाहा गर्छौ हँ  ?

म टोपी हुँ टोपी

बनाउन  लगाउनेले

शिरकै लागि बनाउन लगायो

बनाउनेले पनि शिरकै लागि  बनायो

अब तिमीहरू इर्ष्याले

पुसको जाडोमा कक्रेर भो त ?

लौ डाँको छाडेर नरोऊ त !

तिमीहरूलाई थाहा छ नि ….

म भनेको शिरको ताज हुँ

नेपाली स्वाभिमानको साज हुँ

कञ्चनजङ्घा

गौरीशङ्कर

धौलागिरी

र सगरमाथाको गरिमामय राज हुँ ।

 

पहिले  श्रीपेचले मलाई हेप्नू हेप्थ्यो

जहाँ भेट्यो बाटो चौबाटो चेप्नू चेप्थ्यो

म उँधो मुन्टो लगाएर

आफ्नै एकजोर पाइतालाहरू गन्थें

तुरुक्क रोएर

कहिले पालो आउला आफ्नो भनेर मनमनै भन्थें

ए सुरुवाल, कछाड् र दौराहरू हो !

आओ .. रमाओ .. मसँगसँगै

पर्ख त्यो दिन र सम्झ तिमीहरू र म हेपिएको दिन

आउँछ आउँछ तिमीहरूको पनि

एक दिन त्यो उत्सव मनाउने शुभ दिन ।

मैले कहाँ भुलेको छु र … !

एकजोर पाउको गरिमा

जसले मलाई आफू दुखेर उभ्याए

मैले कहाँ भुलेको छु र … !

एकजोर हातको गरिमा

जसले मलाई

म अडिने शिरमा मिलाएर लगाए

मैले कहाँ भुलेको छु र … !

 

आउँछ आउँछ तिमीहरूको पनि

ए सुरुवाल, कछाड र दौरा

एकदिन त्यो उत्सव मनाउने दिन

सगरमाथालाई धर्तीले बोकी रहेकी छे र पो

अभिमान छ सगरमाथालाई र स्वाभिमान छ उसको

जसरी स्वाभिमान छ म टोपी दिवसको

र त मनाउँछन् मलाई उत्सव पुसको

तिमीहरू छौ र त म छु

मेरो स्वाभिमान छ र मेरो अभिमान छ

जुन दिन तिमीहरूले धर्म छाड्ने छौ

मलाई थाहा छ म केही होइन ।

माटोको भर ढुङ्गा ढुङ्गाको भर माटो

र त बनिरहेछन् समृद्धिको चिल्लो बाटो

तिमीहरू छौ र पो म छु

म यसैपालि संसदभवनमा पास गराउने छु

तिमीहरूको पनि उत्सव मनाउने त्यो दिन

ए सुरुवाल, कछाड र दौराहरू हो !

आओ .. रमाओ .. मसँगसँगै

र भन ठूलो स्वरमा सबै एकैसाथ मिलेर

ह्याप्पी टोपी दिवस !

ह्याप्पी टोपी दिवस !

Logo