‘माटो बोल्छ’ गजल सङ्ग्रहले कति प्रतिशत माटो बोल्छ ?

‘माटो बोल्छ’ गजल सङ्ग्रहले कति प्रतिशत माटो बोल्छ ?


  • किरण पौडेल –

नेपाली साहित्यिक जगतमा काव्य विधा अन्तर्गत रहेको गजलले आफ्नो उच्च प्रभाव कायम राख्न सफल छ । मोतिराम भट्टले नेपाल भित्र्याएको यो विधा अहिले हरेक युवा पुस्ताको साहित्यिक खुराक बन्न सफल छ । गजलमा पहिलो पटक विद्यावारिधि गर्ने डा. घनश्याम परिश्रमीले कतै भनेका छन्, ‘जीवनमा अब हरेक युवाले कुनै न कुनै बेला गजल कोर्न थालेका छन् । गजलमा आएको यो सानो परिवर्तन होइन ।‘ देशभरका विभिन्न साहित्यिक संघ सस्थाहरूमा गजल कोर्ने युवाहरूको आधिक्य हुनु यसको प्रमाण हो ।

नुवाकोट जिल्ला साहित्यको उर्वर भूमि हो । राष्ट्रिय तथा क्षेत्रीय स्तरका धेरै साहित्यिक कार्यक्रमहरू यो जिल्लाले गर्दै आएको छ । काठमाडौंनजिक भएका कारण यहाँका धेरैजसो साहित्यिक स्रष्टा काठमाडौंमा बस्छन् । यद्यपि आफ्नो जिल्लामा हुने सबैजसो साहित्यिक कार्यक्रममा उपस्थिति हुने प्रयासमा हुन्छन् । साहित्यप्रतिको यो लगावकै कारण स्थानीय युवाहरूमा साहित्यप्रतिको लगाव मर्न नपाएको अनुभव हुन्छ ।

प्रसङ्ग नुवाकोट जिल्लाकै हो । यही जिल्लामा ‘नुवाकोट साहित्य प्रतिष्ठान’ नामक एउटा साहित्यिक संस्था छ । यो संस्थाले नियमित रूपमा साहित्यिक कार्यक्रम गरिरहेको हुन्छ । हालै मात्र यसले ‘माटो बोल्छ’ नामक गजल संग्रह बजारमा ल्याएको छ । यस संग्रहका स्रष्टा भगवती खनाल ’सुनाखरी’ हुन् । विदुर नगरपालिका –८, नुवाकोट स्थायी घर भएकी साहित्यकार खनाल शिक्षण पेसामा संलग्न छिन् । विभिन्न पेसा र कार्यमा संलग्न व्यक्तित्वहरू साहित्य लेखनमा सक्रिय हुनुले नेपाली साहित्य क्षेत्र अझ परिष्कृत हुने मौका पाएको अनुभव गर्न सकिन्छ ।

‘माटो बोल्छ’ गजल संग्रह खनालको दोस्रो कृति हो । वि.सं. २०६४ मा प्रकाशित ‘छुट्याइएका गुच्छा’ गीति संग्रह उनको पहिलो कृति थियो । पहिलो कृति प्रकाशनअघि पनि वि.सं. २०५७ देखि नै उनका थुप्रै सृजनाहरू विभिन्न पत्रपकत्रिकाहरूमा प्रकाशन भएका थिए । फुर्सदको समयलाई सदुपयोग गर्दै साहित्य सिर्जनामा तल्लीन सर्जक खनाल वि.सं. २०७४ मा नुवाकोट साहित्य सम्मानबाट सम्मानित भइसकेकी छिन् । महिला अभियान सामाजिक संस्था नुवाकोटको उपाध्यक्ष, साहित्य समाज नुवाकोटको कोषाध्यक्ष, नुवाकोट साहित्य प्रतिष्ठान नेपालको कार्यकारी सदस्य एवं आजीवन सदस्यलगायत विभिन्न संघसंस्थामा आवद्ध छिन् । अनुभवले तिखारिएकी साहित्यकार खनालले गजलमा मात्र नभएर गीत र मुक्तकमा समेत कलम चलाइसकेकी छिन् ।

लेखिकाले पुस्तकको आफ्नो भनाइ खण्डमा उक्त पुस्तकमा संगृहीत एक सय एक गजलमा रहेका शब्दहरूले माटोका पीडा बोल्ने तथा नेपालीले खेपेका अवहेलनालाई बुलन्द आवाजको रूपमा घन्काउने प्रयास गरेको भनी उल्लेख गरेकी छन् । गजलकार ज्ञानुवाकर पौडेलले संग्रहको भूमिकामा आधुनिक नेपाली गजल मोतिराम भट्टको पालादेखि शुरु भएको र करिब डेढ सय वर्षको यात्रा तय गरी यहाँसम्म आइपुग्दा गजलमाथि गर्व गर्न सकिने अवस्था आएको बताएका छन् । उनले प्रेमीप्रेमिकाबीच एकअर्कालाई रिझाउनका लागि मात्र नभएर दीनदुःखीको आवाज गुन्जाउने उपायको रूपमा समेत गजलको प्रयोग भएको जनाएका छन् । गजलकार ज्ञानुवाकरले नुवाकोटकी गजलकार एवं पत्रकार सुमित्रा सुमीले केही वर्षअघिदेखि गजलको वातावरण निर्माणमा खेलेको भूमिका, सक्रियता र लगनशीलताको समेत मुक्तकण्ठले प्रशंसा गरेका छन् । संग्रहको भूमिका खण्डमै साहित्यकार श्रीराम श्रेष्ठले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय रूपमा गजलको इतिहासलाई केलाएका छन् । उनले भगवती खनाल सुनाखरीका गजलहरूलाई शक्तिशाली गजल भनी इङ्गित गरेका छन् ।

‘माटो बोल्छ’ गजल संग्रहमा वास्तवमै उत्कृष्ट गजलहरू संग्रहित छन् । संग्रहमा गजलकारले प्रेम, यौवन, प्रकृति, मानवीय स्वाभाव र सामाजिक परिवेशलगायत राष्ट्रियताको सजीव र सशक्त चित्रण गरेकी छिन् । यस कृतिनियम र परिधीभित्र रहेर सृजित छ भने गजलहरूमा रदिफ र काफियाको ठीक ढङ्गको संयोजन रहेको पाइन्छ । पुस्तकको बजार मूल्य २ सय रुपैयाँमा कायम गरिएको छ । गजलमा रुचि राख्ने जो कोहीका लागि पनि यो संग्रह पठनीय छ र गतिलो खुराकको रूपमा रहनेछ भन्न सकिन्छ ।

(समीक्षक किरण पौडेल सशस्त्र प्रहरी बल नेपालका डिएसपी हुन् ।)

Logo