ओल्गा टोकर्कजुकको ‘फ्लाइट्स’ पढ्दा आङ सिरिङ्ग भो !

ओल्गा टोकर्कजुकको ‘फ्लाइट्स’ पढ्दा आङ सिरिङ्ग भो !


कुमारी लामा आधुनिक समयकी नवीन चेतयुक्त सर्जक एवं समालोचक हुन् । उनको निबन्ध संग्रह ‘उज्यालो अन्धकार’ चर्चित छ । विशेष गरी समाज, संस्कृति, इतिहास, भूगोल एवं महिलाका विषयमा कलम चलाउने लामा समसामयिक विषयप्रति सूक्ष्म चेत राख्छिन् । उनी अध्ययनशील पनि छिन् । उनै लामासँग केन्द्रविन्दुका दीपक दर्शनले पुस्तक पठनका विषयमा गरेको संक्षिप्त कुराकानी :

१. तपाईंले पछिल्लोपटक कुन पुस्तक पढ्नुभयो ?

ओल्गा टोकर्कजुक(१९६२) को उपन्यास ‘फ्लाइट्स’ पढेँ ।

२. तपाईंले उक्त पुस्तक कसरी छनोट गर्नुभयो ?

एक त यो प्रतिष्ठित नोबेल पुरस्कार तथा मेन बुकर पुरस्कार जित्न सफल कृति हो । अर्को कुरा यो पोल्याण्डकी महिला लेखकको कृति भएकाले मैले यो पुस्तक छनोट गरेकी हुँ ।

३. उक्त पुस्तकको सार के पाउनुभयो ?

फ्लाइट्स धेरैवटा सर्ट स्टोरी भएको उपन्यास हो । यो शीर्षकअनुसारै यात्रासँग सम्बन्धित परिवेश एवं कथानकद्वारा उनिएको छ । विज्ञान अझ विशेष गरी एनाटोमी विषयक कथानकलाई अँगालेको यो उपन्यासलाई नन फिक्सनल फिक्सन भन्नु उपयुक्त होला किनभने यसमा कथाजस्ता कथा छैनन् । यसले अहिलेको विसंगत समयको प्रतिनिधित्व पनि गर्छ । विशेष गरी मानवको जिज्ञासाले उसलाई कता डोयाइरहेको छ भन्ने कुरा बुझ्न तथा आन्तरिक विसंगतताको फिलोसोफी बुझ्न यो पुस्तक उपयोगी हुनसक्छ ।

४. उक्त पुस्तकको कुन कुराले छोयो र किन ?

यसमा गरिएको मानवका अंगप्रत्यंगको वर्णन पढ्दा आङ सिरिङ्ग हुन्छ । त्यस्तै यसको एक वैज्ञानिक पात्र जसले आफ्नो विकलांग खुट्टा आफैंले काटेको छ र ऊ काटिएको उक्त खुट्टा सदैव आफ्नै अगाडि राख्छ त्यो चित्रण भयावह छ । यो कृति हाम्रो सोचभन्दा बाहिरको छ, विशेष गरी यसमा चित्रित डार्कनेसले मलाई सोच्न बाध्य बनायो । अनि यसमा पूर्वीय र पाश्चात्य दुवै जगतका सन्दर्भहरू आएका छन् । बोधिवृक्ष, कली आदिको चर्चा पनि प्रसंगवश आएका छन् । समग्रमा भन्दा यो कृतिले मेरो मथिंगल नै हल्लायो ।

५. पुस्तकमा कुन पक्ष सुधार गर्नुपर्ने लाग्यो ? वा पुस्तकको कमजोरी के पाउनुभयो ?

यो पुस्तक सामान्य पाठकका लागि होइन । यही नै यसको सबल एवं दुर्बल पक्ष हो ।

६. यो पुस्तकलाई रेटिङ गर्नुपरे २० पूर्णांकमा कति नम्बर दिनुहुन्छ ?

मलाई च्यालेन्जिङ खालको पुस्तक मन पर्छ, यो त्यस्तै छ । यसलाई म रेटिङ गर्नै चाहन्न, गर्नैपरे उच्च रेटिङ गर्छु तर २० मा यति नै भनेर तोक्दिन ।

७. हाम्रा पाठकलाई पुस्तक छनोट गर्न केकस्तो तरिका सुझाउनुहुन्छ ?

पुस्तक पठनका विषयमा हरेक मानिसका फरक एवं विशिष्ट रुचि हुन्छन् । एकजनालाई औधी मन परेको पुस्तक अर्कालाई फिटिक्कै मन नपर्न पनि सक्छ । हरेक मानिसको रुचिको क्षेत्र फरक हुन्छ । मलाई समाज, संस्कृति, भूगोल, इतिहास एवं महिलाकेन्द्री विषयमा लेखिएका कृति मन पर्छन् ।

Logo