माटोको माया

माटोको माया

केन्द्रबिन्दु
0
Shares

  • डा.रवीन्द्र समीर

‘बुबा कति वर्ष पुग्नुभयो ?’

डा.शर्मालाई उनले जवाफ दिए– ‘नब्बे सालको भुइँचालो जाँदा म आधा बीसको थिएँ ।’

डा.शर्माले जाँच गरे । उनका पुराना रिपोर्टहरू हेरे । उच्च रक्तचाप, मधुमेह तथा मिर्गौलाको समस्या रहेछ ।

‘बुबाको घर कहाँ होला ?’

उनले भने– ‘टाढा छ । पश्चिम पहाड हो ।’

उनको छोराले थप्यो –‘यहीँ काठमान्डूमा घर छ । बुबालाई सँगै बसौं भन्दा मान्ने होइन ।’

डा.शर्माले भने – ‘बुबा, तपाईंलाई धेरै रोग छन् । पटकपटक जाँच गराइरहनु पर्दछ । अब छोरासँग यतै बस्नु राम्रो हुन्छ । यो उमेरमा कुनै जिम्मेवारी र चिन्ता लिनु हुँदैन ।’

उनले भने – ‘यहाँ उनीहरू एकअर्कालाई माया गर्छन्, स्याहार गर्छन् । म यहाँ बसें भने भैंसीलाई कसले घाँस हाल्छ ? कुकुर र बिरालोलाई कसले खुवाउँछ ? घरमा आउने चरालाई कसले अन्नका गेडा दिन्छ ? त्यो ठुटो र त्यो बुटोको ऐंजेरु कसले सफा गर्छ ? पुर्ख्यौली घरको लिपपोत कसले गर्छ ? हाम्रो घरमा आफ्नो घर बनाएका गौंथलीसँग कसले कुरा गर्छ ?

यिनीहरू पो आकाशबाट खसेका हुन्, त्यसैले गाउँ बिर्से । म त त्यही माटोमा जन्मेको, त्यही बाटोमा हिँडेको, त्यही पाटोको अन्न खाएर बाँचेको मान्छे पो त !’

Logo