महाकविको परिवारले सरकारलाई बुझायो साँचो, संग्रहालय बनाइँदै

महाकविको परिवारले सरकारलाई बुझायो साँचो, संग्रहालय बनाइँदै


  • जितेन्द्र रसिक  –

महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर नेपाल प्रज्ञा प्रतिष्ठानको स्वामित्वमा आएसँगै प्रतिष्ठान देवकोटा संग्रहालय बनाउन डीपीआर तयारीमा जुटेको छ । प्रतिष्ठानले देवकोटाको परिवारबाट गत मंसिर २९ गते २ करोड ५० लाखमा देवकोटाको घर खरिद गरेको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरलाई देवकोटा संग्रहालयका रूपमा निर्माण गर्ने तयारी गरेको छ । गत मंसिर २९ गते देवकोटाको परिवारबाट देवकोटाको काठमाडौंको मैतिदेवीस्थित १२ आना क्षेत्रफलको कम्पाउन्ड सहितको जीर्ण घर खरिद गरेसँगै देवकोटाको घर संग्रहालय बन्ने भएको हो । प्रतिष्ठानले २ करोड ५० लाख रूपैयाँमा उक्त घर खरिद गरेको नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डाक्टर देवी नेपालले बताए ।

महाकवि देवकोटाको घर नेपाल प्रज्ञा प्रतिष्ठानको स्वामित्वमा आएसँगै प्रतिष्ठानले देवकोटा संग्रहालय कस्तो बनाउने भन्ने डीपीआर तयारीमा जुटेको छ । प्रतिष्ठानका सदस्य सचिव डाक्टर जगत प्रसाद उपाध्यायका अनुसार अहिले जस्तो छ सोही स्वरूपमा ४ तल्लाको घर निर्माण हुनेछ ।

प्रतिष्ठानकै काव्यविभाग प्रमुख हेमनाथ पौडेलले देवकोटा संग्रहालय बनेसँगै अब देवकोटाका लुकीछिपी रहेका पाण्डुलिपी लगायतका सामग्री संकलन गरी अनुसन्धानको काम थाल्ने बताए ।

मंसिर २९ गते खरिद गरेको उक्तघरमा मंगलवार प्रज्ञाप्रतिष्ठानले आफ्नो स्वामित्वमा लिएर जग्गा र घर अवलोकन गरी देवकोटाको परिवारबाट चावी लिएर स्वामित्व ग्रहण गरेका छन् । चावी बुझाउने क्रममा देवकोटाकी छोरी अम्बिकादेवी रिमालले पिता देवकोटाको नाममा संग्रहालय बनाएर सरकारले नेपाली वाङ्मय जगतका लागि निकै राम्रो काम गरेको बताइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि देवकोटाको ११० औँ जन्मजयन्तीका अवसरमा पारेर गत वर्ष देवकोटा विलक्षण प्रतिभा र बौद्धिक व्यक्तित्व भएकाले उनको कृतित्व र व्यक्तित्वबारे भावी पुस्तालाई जानकारी दिनका लागि संग्रहालयको आवश्यकता रहेको बताएका थिए । सोही बेलादेखि देवकोटाको घरलाई संग्रहालय बनाउन नेपाल सरकारबाटै पहल भए अनुरूप देवकोटा संग्रहालय निर्माण गर्न लागिएको हो ।

Logo