हरेक महिनाको अन्तिम साता कविताको आलोचनात्मक बहस

हरेक महिनाको अन्तिम साता कविताको आलोचनात्मक बहस


ललितपुर । अंग्रेजी र नेपाली दुई फरक फरक भाषामा कलम चलाइरहेका कविहरूले हरेक महिना सामूहिक कवि गोष्ठी एवं साहित्यिक बहस सुरु गरेका छन् । महिनाको अन्तिम साता क्विन्स क्याफे एन्ड गार्डेन रेष्टुराँ ललितपुरमा उक्त कार्यक्रम हुने गरेको छ । कार्यक्रममा कम्तीमा २०० रुपैयाँ शुल्क तिरेर कविताको आलोचनात्मक बहसमा सहभागी हुन र कविता सुनाउन सकिनेछ ।

मंसिरको अन्तिम साताको शनिबार भएको कविता वाचन एवं साहित्यिक डिस्कोर्समा साहित्यकारहरू स्नेह सायमी, भीष्म उप्रेती, महेश पाैडेल, अश्विनी कोइराला, रुपसिं भण्डारी, सुजन अधिकारी, कैलाशकुमार कार्की,  सुवास पराजुली, विद्या आचार्य, लक्ष्मी माली, सम्झना कुमारी निरौला, रमा पौडेल आदि सहभागी भए । उनीहरूले आफ्ना तीन–तीनवटा उत्कृष्ट रचना  सुनाएका थिए । उनीहरूका रचनामाथि आगन्तुकहरूले तीन–तीन मिनेट समालोचकीय दृष्टिकोण राखेका थिए ।

कविहरूले नेपाली, हिन्दी तथा अंग्रेजी भाषामा सुनाएका थिए । खासमा नेपाली र अंग्रेजी भाषामा लेखिएका कविता मात्र सुनाइने भए पनि यस पटकदेखि हिन्दी भाषाका कविता पनि सुनाउन थालिएको हो । अर्को महिनादेखि नेपाल भाषाका कविता पनि वाचन गरिने बताइएको छ ।

यस पटक कार्यक्रमको संयोजन कवि स्नेह सायमीले गरेका थिए । समालोचकीय दृष्टिकोण राख्ने क्रममा  सहभागी कविहरूले पनि एक अर्काको रचनाको कमजोर पक्ष देखाएका थिए ।

‘आजभोलि लेखकलाई चित्त दुख्ला भन्ने सोचेर खुला आलोचना हराएको छ । यो चिन्ताको विषय हो ।‘ कवि सायमीले केन्द्रविन्दुसँग भने, ‘थोरै कविका उत्कृष्ट रचना सुन्ने र त्यसका कमजोरीहरूमाथि खुला छलफल गर्ने योजनाका साथ हामीले यो कार्यक्रम सुरु गरेका हौं ।

कविताजस्तो गम्भीर कुरा भीडभाडमा सुनाउने, साहित्यिक आलोचनाभन्दा व्यक्तिगत आलोचना बढी गर्ने प्रवृत्ति बढ्दै गएपछि यस्ता कार्यक्रमको महत्व बढेर गएको कवि तथा नियात्राकार भीष्म उप्रेतीको भनाइ थियो ।

‘साहित्य भनेको बजारबाट निर्देशित हुनु हुँदैन । बजारले खास साहित्य दिन सक्दैन ।’ उप्रेती भन्छन्,‘जहाँ बजार पस्छ, त्यहाँ उपभोक्ता हुन्छन् । उपभोक्ता भएपछि उनीहरूको रुचिका कुरा बजारले पस्कन्छ । जहाँ बजारको रुचिको कुरा आउँछ, त्यहाँ साहित्य बाँच्न सक्दैन ।‘ कार्यक्रमलाई आफ्नो रचनामाथि प्रत्यक्ष आलोचना सुन्ने फोरमका रूपमा विकास गर्न लागिएको उनले बताए ।

आगामी कार्यक्रम पुसको अन्तिम दिन क्विन्स क्याफे एन्ड गार्डेन रेष्टुँरा, बखुण्डोल, ललितपुरमा साँझ ४ बजे हुने बताइएको छ ।

Logo