सुदूरपश्चिमका उदाउँदा स्रष्टा : सुभाषचन्द्र भण्डारी

सुदूरपश्चिमका उदाउँदा स्रष्टा : सुभाषचन्द्र भण्डारी

केन्द्रबिन्दु
0
Shares

  • डा. बद्री बिनाडी – 

नेपाली कविता सिर्जना, निबन्ध लेखन र आख्यान साहित्यका फाँटमा केही वर्षयता सुदूरपश्चिम प्रदेश राष्ट्रिय मूलधारमा समाहित हुँदै आएको छ । नेपाली साहित्यको इतिहासमा प्राथमिक कालमा गुमानी पन्त उल्लेखनीय कवि रहे पनि त्यसपछि यस फाँटमा राष्ट्रिय स्तरमा चर्चा बटुल्ने चर्चित कविको भने अभाव नै रहेको देखिन्छ । माध्यमिक कालमा आइपुग्दा पहलमानसिंह स्वारको ‘अटल बहादुर’ नाटकले एउटा सिङ्गो कालको प्रतिनिधित्व गरेको छ, जसले आधुनिक नाटकको विकासमा प्रशस्त योगदान दिएको छ र उक्त कृतिको ऐतिहासिक महत्व रहिआएको छ ।

आधुनिक कालमा आइपुग्दा साहित्यकार लोकेन्द्रबहादुर चन्दको ‘विसर्जन’ कथासङ्ग्रह र निबन्धात्मक लेखनले उचाइ प्राप्त गरेको देखिन्छ । कथाकार महेशविक्रम शाहको कथाकारिता अर्को महत्वपूर्ण उपलब्धि हो भने कथा विधामै रामलाल जोशीको ‘ऐना’ कथासङ्ग्रह र ‘सखी’ उपन्यासले पाएको चर्चा र सम्मान उल्लेखनीय रहेको छ । यसबाट अब सुदूरपश्चिमका सर्जकहरूमा उत्साह र आत्मविश्वासको यथेष्ट विकास भएको छ ।

उपर्युक्त पुरस्कृत लेखक र कृतिहरूका चर्चाबाट सुदूरपश्चिमेली लेखक, पाठक तथा साहित्य अनुरागीहरूले सम्मान र गौरवको अनुभूति गरिरहेका छन् । सुदूरपश्चिममा समयसमयमा भइरहने साहित्यिक एवम् सांस्कृतिक कार्यक्रममा अभिव्यक्त विचार र उत्साही भावनाहरूबाटपनि यस किसिमको अनुभूति बुझ्न पाइन्छ ।

वर्तमानमा सामाजिक सञ्जालमार्फत्प्रसारितकतिपय आशलाग्दा विचारहरूलाई मनन गर्ने हो भने पनिअबका स्रष्टाहरूले सुदूरपश्चिमलाई देशभित्र र बाहिरसमेत चिनाउने छन् भन्ने विश्वासको आधार बलियो हुँदै गएको छ । यसै सन्दर्भमा हालै नेपाल प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव–२०७६मा देशभरिका ३४०जना प्रतियोगी कविका कविताहरूमध्ये डोटीका कवि सुभाषचन्द्र भण्डारीको ‘किनाराका अलिखित संवेगहरू’ शीर्षकको कविताले दोस्रो स्थान प्राप्त गरेको छ । यो सुदूरपश्चिमेलीहरूका लागि थप सम्मान र गौरवको विषय हो ।

कवि सुभाषचन्द्र भण्डारीको जन्म डोटी जिल्लाको गडसेरा (हालः जोरायल गाउँपालिका)मा भएको हो । बुबा भालचन्द्र भण्डारी, जो आफै  पनि कविका रूपमा परिचित प्रतिभा हुनुहुन्छ रआमा दुर्गामाया भण्डारीका कोखबाट २०३७ साल मङ्सिर २२ गते सुभाषचन्द्र भण्डारीको जन्म भएको हो । यिनको बाल्यकालको केही समय जन्मभूमि गडसेरामै बितेपनि शिक्षार्जनका क्रममा यिनको बाल्यकालको उत्तरार्धको केही समय डोटीको सदरमुकाम सिलगढीमा बितेको हो । जन्म गाउँ गडसेराबाट कक्षा तीन उत्तीर्ण गरेपछिसिलगढीस्थितआफ्नी फुपूको घरमा बसेर श्री पवित्र आवासीय माध्यमिक विद्यालयमा चार वर्ष अध्ययन गरी पारिवारिक बसाइसराइका क्रममा धनगढीमा रहेको श्री पञ्चोदय माध्यमिक विद्यालयबाट यिनले माध्यमिक तह उत्तीर्ण गरेका हुन् । कैलाली बहुमुखी क्याम्पस धनगढीबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका भण्डारीले धनगढीकै सुदूरपश्चिमाञ्चल क्याम्पसबाट शिक्षा संकायमा स्नातकतह उत्तीर्ण गरेका हुन् । यिनले काठमाडौँको आर.आर क्याम्पसबाट नेपाली साहित्यमा स्नातकोत्तर तह (प्रथम श्रेणी) उत्तीर्ण गरेका छन् ।

कवि भण्डारीले विद्यार्थी कालदेखि नै साहित्यप्रति गहिरो अभिरुचि लिएको पाइन्छ । कविताको यात्रा क्रममा यिनले पाँच कक्षामा पढ्दा रचना गरेको पहिलो कविता ‘वीर शहीद नेपालीप्रति’ डोटी सिलगढीको ‘समाजसेवा’ नामक एउटा गैरसरकारी संस्थाबाट प्रकाशित ‘समदर्शी’ (वि.सं. २०५०) मा प्रकाशित भएको छ । त्यसपछि नियमित रूपमा विभिन्न पत्रपत्रिकाहरूमा यिनका कविता तथा लेख रचनाहरू प्रकाशित भइरहेका छन् । कवि भण्डारीका कविता नेपाली भाषामा मात्र नभएर डोटेली भाषामा समेत प्रकाशित भएबाट उनको कवि प्रतिभालाई सजिलै बुझ्न सकिन्छ । उनका डोटेली भाषाका कवितामा डोटेली संस्कृति र प्रकृतिको सुन्दर चित्रण पाइन्छ । ‘पहाडकी सम्राइ’ र ‘नरहरिकी बखान’ कविताहरूमा स्थानीय संस्कृतिको सजीव वर्णन र उत्कृष्ट काव्यात्मक शैलीको प्रयोग गरेका छन् । यी कविताहरूमा पाइने शिल्प र सौन्दर्य अनुपम छ । शब्द, भाव र विचारलाई छन्दमा राम्ररी घोलेर पस्किने कवि भण्डारीका कवितामा कवित्व प्रतिभा पनि एकैसाथ सलक्क बगेको देखिन्छ ।

सुभाषचन्द्र भण्डारी कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत रहँदा त्यहाँस्थित ‘विद्यार्थी साहित्य प्रतिष्ठान’को अध्यक्ष पदमा रहेर साहित्यिक गतिविधिहरूमा सक्रिय रहेका थिए । विद्यार्थी कालमा नै कविता र निबन्ध प्रतियोगिताहरूमा भाग लिएर दर्जनौँ प्रथम, द्वितीय पुरस्कार प्राप्त गरी बालसाहित्यकारका रूपमा चर्चा बटुलिसकेका थिए । धनगढीको केन्द्रीयतामा सुदूरपश्चिमाञ्चल साहित्य समाज, कैलाली जनपुस्तकालय, कैलाली बहुमुखी क्याम्पस, जिल्ला शिक्षा कार्यालय, कर्मचारी मिलन केन्द्र जस्ता संघ–संस्थाहरूले आयोजना गर्ने गरेका साहित्यिक कार्यक्रमहरूमा प्रतियोगी र आमन्त्रित कविका रूपमा समेत सहभागी भएर यिनले सानै उमेरमा आफ्नो प्रतिभालाई तिखार्ने अवसर पाएका हुन् ।

साहित्य सिर्जनामा रमाउँदै पढाइ र शिक्षण पेशालाई सँगसँगै अगाडि बढाउँदै आएका सुभाषचन्द्र भण्डारी एक अनुभवी र कुशल अध्यापकका रूपमा समेत चिनिएका छन् । सुरुका पाँच वर्ष जति धनगढीको निजी विद्यालयमा शिक्षण अनुभव बटुलिसकेपछि १४ वर्षयता काठमाडौँमा भ्याली भ्यु इङ्लिस स्कुलमा सहायक प्रधानाध्यापक तथा ग्लोबल कलेजमा नेपाली विषयका उप–प्राध्यापकका रूपमा कार्यरत छन् । काठमाडौँमा यिनले शिक्षा विभाग, प्याब्सन एवम् अन्य संघ संस्थाहरूबाट मूल्याङ्कनका आधारमा उत्कृष्ट शिक्षक पुरस्कारहरू पनि प्राप्त गरिसकेका छन् । यसै गरी विभिन्न पत्र–पत्रिका तथा साहित्यिक कृतिहरूको भाषा–सम्पादन गरेर सम्पादकका रूपमा पनि पहिचान कायम गरेका छन् । यसरी यिनको प्रतिभा बहुआयामिक बन्दै गएको छ ।

राष्ट्रिय कविता महोत्सव–२०७६मा प्रतियोगीका रूपमा रहेका सयौँ कविताहरूमध्ये कवि भण्डारीको ‘किनाराका अलिखित संवेगहरू’कविताले सुदूरपश्चिमेली संस्कृति एवम् इतिहासका संवाहकहरूको जीवनका तीता यथार्थहरूलाई सुन्दर भाव र शैलीका माध्यमबाट उजागर गरेको छ ।

हुड्केलीका प्रस्तोता हुड्के अर्थात् दमाई जातिले इतिहासका गाथाहरूलाई सुरक्षित राख्दै आएको र समय–समयमा ती गाथाहरूलाई समाजसामु पस्किने गरेको भए पनिइतिहास र संस्कृतिको धनी दमाई जाति आज आर्थिक विपन्नताका कारण दयनीय अवस्थामा मुस्किलले सास फेर्न विवश भएको प्रसङ्गलाई यस कविताले मूलभूत रूपमा उठान गरेको छ । यसैगरी अनेक हातहतियार र कृषि औजार बनाउने लोहार जातिको जीवन पनि आफरको खलाँत जस्तै छ । यस्ता इतिहास र संस्कृतिका वाहक, शिल्प र औजारका निर्माताहरूको दयनीय अवस्था देखेर कवि रन्थनिँदैै यसतर्फ राज्यको ध्यान नजानु चिन्ताको विषय हो भन्ने ठान्दछन् र तिनै संवेगहरूलाई कवितामा यसरी प्रस्तुत गर्दछन्ः

कर्खा कोट र कोतका समयका कल्पान्त गाथाहरू–
हुड्कामा विरुदावली पयरमा छन् घाउ–टाँकाहरू !
फाटेको इतिहासको छ पगडी कर्नाल भोकै बजे,
पैताला रगताम्य माथ–तनमा रङ्गीन धाजा सजे !
–। १ ।–

पैकेला झगुला र खाँक्कर तिनै लोकोक्तिका आँखर,
पुर्खाका पदचाप कोरस कला संस्कारका पाहुर !
सारा वस्त्र सिलाउने ‘बलबिरे’ निर्वस्त्र आफैँ किन ?
ढाल्ने शस्त्र सुवीर ‘जग्गु तिरुवा’ सन्त्रस्त काँप्ने किन ?
–। २ ।–

शार्दूलविक्रीडित छन्दमा रचित ५ श्लोकको यस कविताले उत्तर आधुनिकताका विशेषताहरूलाई राम्ररी वहन गरेको छ । यस कवितामा उपेक्षित, उत्पीडित र सीमान्तकृत वर्गका जातजातिका समस्या, विभेद, पीडा र जीवन भोगाइलाई विषय बनाएर राज्यको मूल धारमा ल्याउनका लागि आवाज बुलन्द गर्दछ । अर्थात् पछाडि परेको वर्गलाई राजनीति, अर्थ, शिक्षा र समग्र विकासमा सहभागी गराई राज्यको मूलप्रवाहमा ल्याउनै पर्दछ भन्ने यस कविताको मूल स्वर रहेको छ । सिद्धान्ततः उत्तरआधुनिक नेपाली कविता फाँटमा यो एक विशिष्ट कविताका रूपमा देखापरेको छ । कविताले बौद्धिक रूपमा जनजीवनका यथार्थलाई पाठक सामु ल्याउँदै राष्ट्रिय एकताका माध्यमबाट देशकै मुहारमा उज्यालो छर्ने सपना पनि यसरी देखाएको छ :

मान्छेको अकथा– अजात भँवरो, जा बागबाटै पर ?
ज्वालामा समशान्ति जप्छ घनले लोहारको आफर !
टोर्नाडो बनिदिन्छ बादल भने विध्वंस नाच्दैन र ?
एकै आँगनमा फुले बहुलता के देश हाँस्दैन र ?
–। ३ ।–

काली सिन्धु पुगी हिमाल नभुली फर्केर दर्किन्छ कि ?
सेतीका सुइना बगे कति भनी मेची सुसेलिन्छ कि ?
भ्रष्टाचार अछूत हुन्छ बुझिनस् ? ए बुर्जुवा–गल्प जा !
मान्छेका मनभित्र बोधि–समता फुल्ने नयाँ कल्प आ !
–। ४ ।–

कविले राज्यले भ्रष्टाचार र समाजमा विद्यमान सम्पूर्ण बेथितिहरूको अन्त्य गरेर किनाराका अलिखित पाटा र सम्पूर्ण जैविक यन्त्रणाहरूमा ध्यान पुर्‍याउन सकेमा मात्र मेचीकाली जोडिन सक्छ र देशको युगीन पहिचान सुरक्षित हुनसक्छ भन्ने कुरालाई जोडदार रूपमा औँल्याएका छन् । प्रस्तुत कवितामा सुदूरपश्चिमेली संस्कृतिको यथार्थ चित्रलाई उतारेर राज्यका साथै संस्कृतिकर्मी र साहित्यकार सबैको ध्यान आकृष्ट गरेका छन् । भाषिक कुशलता, भाव सौन्दर्य र डोटेली शब्दहरूको चातुर्यपूर्ण संयोजनले गर्दा पनि यो कविता अझ अनुपम बन्न पुगेको छ । साथैसाथै रचनाकारको कविता वाचनको शैली सुन्दा कवि भण्डारीलाई नेपाली कविता फाँटमा उदाउँदा नक्षत्रका रूपमा लिन सकिन्छ ।

आज सुदूरपश्चिमका एक युवा साधकले उचित प्राज्ञिक सम्मान पाएकोमा नेपाली कविता फाँटलाई यस प्रदेशले पनि लहलहाउँदो तुल्याउन यथेष्ट सहयोग पुर्‍याएको अनुभव र अनुभूति भएको छ । भविष्यमा पनि कवि सुभाषचन्द्र भण्डारीलगायत नयाँ–नयाँ स्रष्टाहरूले कलम चलाउँदै जानेछन् र सुदूर परिवेशको आञ्चलिकतालाई प्राथमिकता दिई यहाँको भाषा, संस्कृति र इतिहासलाई विश्वसाहित्यको नजरमा रङ्गाउने छन् भन्ने विश्वास लिन सकिन्छ ।

‘किनाराका अलिखित संवेगहरू’कविताको निम्नलिखित निष्कर्षात्मक हरफले भनेजस्तै देशलाई आज समृद्धिका लागि नवचेतनाको लहर चाहिएको छः

हे प्यारा नगरा, अनेक धुनमा आशा बजा देशका !
हुड्केली अब नाच्नुपर्छ बटुली संवेग सीमान्तका !
माटो खोज्दछ अर्म–पर्म–पसिना उम्रिन्छ के जातले ?
नेपाली नवचेत बुन्नु छ मिली बुट्टा नयाँ तानले ।
–। ५ ।–

(समालोचक डा. बद्री बिनाडी डोटी बहुमुखी क्याम्पसमा प्राध्यापनरत तथा डोटेली भाषा, साहित्य र संस्कृतिका अन्वेषक हुनुहुन्छ ।)

Logo