वेश्या

वेश्या

केन्द्रबिन्दु
0
Shares

अफिसमा दिनभरको काम । थकाइले लोथ फर्केको शरीर । केही प्रेमका झिनो आश लिएर थकान मेट्न साँझको मेरो समय प्रायः सधैं रत्नपार्कको पिपलबोटमुनि बित्ने गरेको थियो । एकान्त र शान्त ठाउँ मन पराउने मलाई हिजोआज कोलाहल र भीडभाड निकै मन पर्न थालेको छ ।

रत्नपार्क निकै भीडभाड हुने ठाउँ । दैनिक हजारौं मानिस ओहोरदोहोर गर्ने ठाउँ । रमिता छ । कोही फुटपाथमा भुटन खान र चोरीको सामान किन्न आउँछन्, कोही रमिता हेर्न, कोही थकान मेट्न, कोही रोमान्टिक दृश्य हेर्न त केही नगरबधुसँग संसर्ग गर्न लालायित भएर आउँछन् ।

रत्नपार्कमा कतै खुद्रा सामानको मोलमोलाइ चलिरहन्थ्यो त कतै शरीरको । सडक किनाराको वरिपरि फुटपाथ पसलले गर्दा पैदल यात्रुलाई हिँड्न निकै कठिन हुन्थ्यो । साँझपख सडकमा गाडी चढ्ने र ओर्लनेको तँछाडमछाड हेर्दा निक्कै रमाइलो हुन्थ्यो । मलाई साँझ रत्नपार्कमा बसेर त्यो दृश्य हेर्न निकै रमाइलो लाग्थ्यो ।

वि.सं. २०५६ सालमा पहिलो पल्ट गाउँबाट काठमाडौँ आउँदा यही रत्नपार्कको भीडमा हराएको थिएँ अनि यही पिपलको बोटमुनि रुदै बसेको थिएँ । धन्न बुबाले प्रहरीलाई खोज्न लगाउनुभएछ अनि प्रहरीले खोजेर बुबाको जिम्मा लगाइदिएका थिए ।

रत्नपार्क यौन व्यवसायीहरूको कार्यथलो भनेर चर्चित छ । जहाँ १५ वर्षदेखि ५० सम्मका महिला एवं तेस्रोलिङ्गीहरू आफ्नो शरीरको मोलमोलाइ गरिरहेका हुन्छन् । प्रायः पुरुषहरू यही दृश्य हेर्न र आफ्नो यौवनको प्यास मेटाउन रत्नपार्क आउने गर्दा रहेछन् । म सधैं रत्नपार्क धाउनुको कारण भने अर्कै थियो । वागबजारमा कोठा, कोठामा एक्लै, विरानो सहर, अनि केही फुर्सदको समय बिताउन म यहाँ आउने गर्थें ।

कुरा केहीअघिको हो, साथी सुजन बिरामी भएर वीर अस्पताल भर्ना भएको थियो । उसैलाई भेटेर म आफ्नो कोठातिर फर्किदै थिएँ । बेलुकाको छ बजेको थियो । पुसको महिना छ बजे पनि झमक्क साँझ परिसकेको हुन्थ्यो । रत्नपार्कमा भीड थियो । कसैलाई कसैको परवाह थिएन । कोही फुटपाथमा लत्ताकपडा किन्दै थिए त कोही सेकेन्ड ह्याण्ड जुत्तामा बार्गेनिङ गर्दै थिए । केही मानिसहरू सडक नै भरिने गरी गाडीको प्रतीक्षा गरिरहेका थिए । त्यही भिडमा शरीरको मोलमोलाइ गर्ने युवती, अधबैसे महिलाहरू तथा तेस्रो लिङ्गीहरू एवं तिनका ग्राहकहरू मोलतोल गर्न व्यस्त थिए । कुरा मिलेमा कतै गई हाल्थे । नमिले अर्कोसँग बार्गेनिङ सुरु हुन्थ्यो ।

यो दृश्य एकछिन हेर्न म पिपलबोटमुनि एकछिन रोकिएँ । रत्नपार्क निकै व्यस्त थियो । म नजिकै केटाहरूको एउटा समूह युवतीहरूलाई जिस्काउँदै थिए, जाने हो ? ती युवतिहरू कति दिने भन्दै उीनहरूका नजिक आइहाल्थे तर जानचाहिँ ती केटाहरू जाँदैनथे । ए छक्का आयो, छक्का । त्यही समूहको एउटाले ठूलो स्वरमा भन्यो । नजिकै रहेको तेस्रोलिङ्गीले छक्का भनेर आफुलाई हेपेको भन्दै एक झापट लगाइहाल्यो । एकछिन चर्काचर्कीपछि विवाद साम्य भो, सबै तितरवितर भए ।

म पिपल बोटमुनि बसेको आधा घन्टा भइसकेछ । नजिकबाट एउटा आवाज आयो, जानी हो ? म झस्किएँ । मेरै नजिक आएर मलाई नै भनिरहेकी थिइन् एक युवती, जाने हो ? जाने हो ?

म केही बोल्नै सकिन । तर आँखा भने उनमै गएर अडिए । रातो ज्याकेट, जिन्सको पाइन्ट, गुलाबी ओठ आकर्षक ढंगले उठेका स्तन, हल्का मेकअप, कपालमा कलर गरेकी उनी निकै राम्री र आकर्षक थिइन् । म उनलाई नै हेरेर टोलाइरहेको थिएँ । भन्नू न जानी हो उनले फेरि दोहोर्‍याइन् । उनलाई देख्दा मनमा छुट्टै किसिमको ध्वनि उत्पन्न भयो । छुट्टै महसुस हुन थाल्यो ।

जसरी चलचित्रमा हिरोले हिरोइनलाई पहिलो पटक भेट्दा हुन्छ । परिचितजस्तै महसुस भयो । उनले जानी हो भन्दा म के भनूँ भनूँ भएँ । म तपाईंसँग एक छिन कुरा गर्न सक्छु ? मैले सोधें ।

के कुरा हो र ?

तपाईंको नाम के हो ?

किन र किन चाहियो मेरो नाम ?

त्यसै सोधेको ।

मान्छेहरू वरिपरि जम्मा भएर हेरिरहेका थिए, उनी मान्छे निकै सुन्दरी भए पनि बोलीचाहिँ निकै रुखो थियो । उनले नाम बताइनन् ।

जानी भए जाऊँ, हिड्नुस् नजाने भए चुप लागेर बस्नुस् ।

मैले नजाने संकेत गरेँ । उनी अर्कै ग्राहक खोज्न लागिन् ।

अर्कासँग पनि कुरा मिलेनछ क्यारे । फेरि फर्केर मेरै नजिक आएर ग्राहकको प्रतीक्षा गर्न थालिन् ।

फेरि बोलाएँ, हजुरको नाम भन्न मिल्दैन र ? भन्नुस न नाम के हो ?

वेश्या । यही हो मेरो नाम अनि थर, अब भयो तपाईंलाई ?

उनले झर्केर यसो भन्दा मन चस्स दुख्यो । उनलाई मैले जिस्काइरहेको जस्तो लागेछ क्यारे, एकछिन रिसाएर गाली गरिन् । तर पनि मैले कुरा गर्न छोडिन ।

एक छिनपछि एकजनासँग उनको कुरा मिल्यो, उनी त्यसैसँग लागिन् । म भने मणि हराएको सर्प झैँ त्यहाँबाट फर्किएँ, मन औधि दुख्यो ।
खिन्न मन लिएर कोठामा फर्किएँ । खै किन किन खाना बनाएर खान मन लागेन । लगाएको लुगा पनि नफेरी ओछ्यानमा पल्टिएँ । मनमा प्रश्नहरूको आँधी आइरहेका थिए। किन यति राम्री भएर पनि त्यस्तो काम गरेकी होलिन् । उनको नाम के होला । घर कहाँ होला ।
को होलिन् उनी । सोच्दासोच्दै खै कति खेर निदाएछु ।

भोलिपल्ट फेरि अफिसबाट फर्किएपछि कोठामा झोला राखेर रत्नपार्क पुगेँ । साँझ परिसकेको थियो । आँखा उनैलाई खोज्दै थिए । करिब १५ मिनेटपछि उनलाई देखेँ, हिजैको पहिरनमा थिइन् । उनलाई देख्नासाथ आफूमा शक्ति प्राप्त भए झैँ महसुस भयो । मैले हाइ गरें ।
उनले भनिन्– फेरि तपाईं ?

हजुर मै हुँ ।

आज कतिजना पुगे त ?

धेरै छैन, भर्खर ३ जना भयो ।

फेरि मेरो मन चसक्क भयो । दिनमा कति कमाइ हुन्छ नि भनेर सोध्न मन थियो तर सोध्न सकिन । तपाईं पनि जाने हो ? उनले सोध्न बाकी राखिनन् ।

मैले नसुने झै गरी कुरा मोडेँ र भनेँ आज त तपाईंको नाम भन्नुस् न ।

तपाईं पुलिस हो कि पत्रकार ? एकैचोटि अलि डराएको भावमा सोध्न भ्याइन् ।

म सामान्य मान्छे ।

उनले पत्याइनन् । अनेक तर्क गरेर विश्वास दिलाएँ ।

अब तपाईंको नाम त भन्नुस् ।

मन लागिनलागी उनले भनिन्, अनुस्का ।

आहा, मान्छेजस्तै कति सुन्दर नाम पनि ।

मैले तारिफ गरिहालेँ ।

अँ होला, यत्ति मात्रै बोलिन् ।

तपाईंको चाहिँ के हो नि ? उनले नाम सोधिन् ।

मेरो नाम प्रेम शर्मा हो । घर मकवानपुर अहिले बागबजार बस्छु ।

मैले यत्ति भनेपछि नाम राम्रो रहेछ भन्दै उनी ग्राहक खोज्न थालिन् । मेरो मनले उनी कुनै पनि ग्राहकसँग नजाऊन् भन्ने सोचिरहेको थियो ।

सोचेजस्तो के हुन्थ्यो र ।

म दिनहुँजसो रत्नपार्क आउन थालेँ, उनलाई भेट्न थालेँ । उनी पनि बिस्तारै खुल्न थालिन् ।

कुनै दिन उनलाई नदेख्दा मन बेचैन हुन्थ्यो । राती अबेरसम्म कुरेर मन खिन्न बनाएर फर्किन्थेँ । अब उनले मलाई जानी हो भनेर सोध्न छाडिसकेकी थिइन् ।

करिब एक महिनापछि मैले उनलाई प्रेम प्रस्ताव राखेँ । उनी मज्जाले हाँसिन् ।

एउटा वेश्यासँग माया, अरू पाउनुभएन । मजाक नगर्नुस् त ।

म साँच्चै माया गर्छु ।

उनी विश्वास गर्ने पक्षमा थिइनन् । यस्ता मजाक त धेरैले गरे हजुर, अब तपाईं मसँग मजाक नगर्नुस् । आखिर सबै केटा मान्छे एकै हुदा रहेछन्, स्वार्थी अनि धोकेबाज । उनको पीडा छचल्कियो ।

एकछिन उनी आफ्नो भाग्य सम्झेर मज्जाले रोइन् । उनको रुवाइ सुन्दा मेरो पनि मन थामिएन । पुरुषत्व जोगाउन रुनचाहिँ सकिन ।

उनलाई सन्त्वना दिएँ । उनलाई उनी बस्ने कोठा लैनचौरसम्म मोटरसाइकलमा राखेर पुर्‍याइदिएँ । त्यस दिन उनी कसैसँग गइनन् । म आफैले पैसा दिन्छु भनेर उनीसँग कुरा गर्न समय लिएको थिएँ । तर खै किन, पैसा लिन मानिनन् । तर कुरा गर्न राजी भएकी थिइन् ।

उनलाई कोठामा पुर्‍याएर आउँदा उनको रुवाइ र उनीभित्रको पीडा महसुस गर्ने कोसिस गर्दै थिएँ । कोठामा आउनासाथ मोटरसाइकल राखेर बेडमा पल्टिएँ । खाना खान मन लागेन, चिया बनाएर खाएँ चिया खल्लो लाग्यो । सुत्ने बेला निकै याद आयो त्यो रुवाइ र उनको वाक्यहरू सम्झिरहेँ । कल गर्न खोजेँ तर कस्तो बिडम्वना अहिलेसम्म उनको फोन नम्बर लिएको थिइन ।

भोलिपल्ट बिहान ढिला उठेछु । राती ढिला सुतेको भएर होला । हतार हतार खाना खाएर अफिस गएँ । दिनभर अफिसमा खासै काम गर्ने जोस आएन । साँझ ५ बज्नासाथ । अफिसबाट कोठा नगई रत्नपार्क हानिएँ । रत्नपार्क पुग्नासाथ उनलाइ खोज्न थालें, तर फेला पारिन ।

५ दिनसम्म उनलाई देखिन, म जान छाडिन । मेरा साँझ रत्नपार्कमा कष्टसँग बिते । छैटौँ दिन रत्नपार्क पुग्नासाथ देखिहालेँ, मन खुसी भयो । एक मन रिस पनि उठ्यो । कहाँ हराएको यत्रो दिन भनेर गाली गर्न मन थियो । तर यस्तो भन्ने मेरो अधिकार थिएन । मनको कुरा मनमै राखेँ ?

हाइ, तपाईं आज पनि आउनुभएछ त ?

मैले जवाफ दिइहालेँ, तिमी नआए पनि म सधैं आइरहेको छु । लब परेको छ मेरो रत्नपार्कसँग ।

हो र, भन्दै हाँसिन् उनी ।

धेरैपछि उनलाई देख्न पाउँदा निकै खुसी लाग्यो । रोएर छुट्टिएकी उनी हाँसोमा देख्न पाउँदा मन आनन्दित भयो । कफीका लागि अनुरोध गरेँ । नाइँ भन्दै थिइन् । कर गरेपछि कफीको निम्ति तयार भइन् ।

हामी कफी खान जमल आयौँ ।

कहाँ हराएको यतिका दिन ? सोधिहालेँ ।

उही त हो नि केटीहरूको समस्या । उनले महिनावारी भएको संकेत दिइन् ।

कफी सकियो तर हाम्रो कुरा सकिएन । फेरि अर्को कफी मगायौँ ।

तपाईं किन मेरो पछि लाग्नुहुन्छ ? मजस्ती वेश्यालाई माया गर्छु भन्नुहुन्छ ।

मैले हातले उनको मुख छोपिदिएँ । मेराअघि कहिल्यै पनि म वेश्या हुँ भन्ने शब्द कहिले ननिकाल्नुस् । किन वेश्याको चाहिँ माया गर्ने मन हुदैन र ? के वेश्याहरू आफूलाई कसैले निःस्वार्थ प्रेम गरोस् भन्ने चाहँदैनन् र ? उनी अवाक् भइन्, मलाई मायालु नजरमा हेरिरहिन् ।
अर्को कप कफी आइपुग्यो । कफिको पहिलो घुट्कोसँगै कुरा सुरु गरेँ– मलाई तिमी निकै मन पर्छ । खै किन हो किन, अहिलेसम्म कुनै केटीलाइ देख्दा त्यस्तो महसुस भएको थिएन । जुन तपाईंलाई देख्दा भएको थियो । म तपाईंलाई जस्तो भए पनि कुनै प्रश्न नगरी स्वीकार गर्छु, के तपाईं मलाई मन पराउनुहुन्छ, मसँग घरजम गर्न चाहनुहुन्छ ?

उनका आँखा रसाइरहेका थिए ।

उनले आफ्नो कथा सुनाइन् । काठमाडौँ आउने क्रममा गाडी दुर्घटना भएर आफन्त सबै मारिएका, काकाकाकीले हुर्काएका, हेलाहोचो सहनुपरेको, किशोरावस्थामा काठमाडौँ छिरेर कुकुरले नपाउने दुःख पाएको, जवानीमा धेरैको गिद्देदृष्टि परेको, विश्वास गरेकाहरूले नै धोका दिएको अनि वाध्यतावश वेश्यावृत्तिमा लाग्नुपरेका सारा घटना सविस्तार सुनाइन् । मैले सुनेँ । उनको पीडा महसुस गरेँ ।
आफ्ना कुरा सुनाउँदै गर्दा उनी भक्कानिएर रुन थालिन् । मैले संसार यस्तै हो, निकै स्वार्थी छ, अब नरुनुहोस् भनेर सान्त्वना दिएँ । आँसु पुछिदिएँ । बाहिर चिसो र रात बढ्दै थियो ।

लामो कपाल मिलाउदै उनले भनिन् । अब जाऊँ रात पर्‍यो । हामी बाहिरियौँ ।

म उनलाई बाइकमा राखेर कोठामा पुर्‍याउन हिडेँ । जाडो महिना । बाइक पछाडि मन परेको मान्छे । बाइक चलाउन मज्जा आइरहेको थियो । मन सोचिरहेको थियो, लैनचौर धेरै टाढा सरोस् कि मज्जाले जाम परोस् । अफसोस, बाटो खुल्ला रहेछ । एकैछिनमा उनी बस्ने घर नजिक पुग्यौँ । ओर्लिएर धन्यवाद भन्दै उनी बाटो लागिन् ।

अनुस्का, मेरो मुखबाट अनायास उनको नाम निस्कियो । हजुर भन्दै फर्किइन् ।

तपाईंको नम्बर दिनुहोस् न है । उनले कुनै सङ्कोच नमानी नम्बर दिइन् । कुनै प्रश्न गरिनन् । खुसीको भावमा कोठा फर्किएँ । फेसबुक खोलेर उनलाई सर्च गरेँ । रिक्वेस्ट पठाइहालेँ । अनलाइनमै रहिछिन् । एसेप्ट गरिन् ।

हाइ, पुग्नुभयो ? म्यासेज उतैबाट आयो ।

मन खुसीले नाच्न थाल्यो । रातभर फोन र च्याटिङमा कुरा भयो । अब हरेक दिनहरू फोन र च्याटिङमा बित्न थाले । हाम्रो भेट सधैं हुन्थ्यो । यसरी ३ महिना पत्तै नपाई बितेछन् ।

अनुष्का अब रत्नपार्कमा भेटिन्नथिन् । उनले आफ्नो शरीर बेच्ने काम छाडिसकेकी थिइन् । मेरै अफिसमा उनलाई जागिर लगाएँ । हाम्रो भेट सधैं हुने गरेको छ । खुसी छिन उनी पनि अनि म पनि । अब त उनी पनि मसँग प्रेम गर्न थालिसकेकी छिन् ।

अन्ततः भद्रकाली मन्दिरमा केही साथीहरू साक्षी राखेर हामीले विवाह गर्‍यौँ । हामीबीच विगतलाई नकोट्याउने समझदारी भएको छ ।
हाम्रो वैवाहिक जीवन सुखद रूपले बितिरहेको छ । बिहे गरेको पनि २ वर्ष भइसकेछ । पत्तै पाइएन । उनी विगत सम्झेर बेलाबेला निक्कै रुन्छिन् । म सम्झाउँछु । हामी एकअर्काको सहारा बनेका छौँ ।

आज हाम्रो परिवारमा नयाँ सस्दय आएको दिन । अर्थात् अनुष्का आमा अनि म बुबा बनेको दिन । उनी अस्पतालको शैयामा आफ्नो पहिलो सन्तानलाई जन्म दिएर आराम गर्दै छिन् । म खुसीले फुलेल छु । मेरो परिवार पूर्ण भएको छ ।

Logo