कविडाँडाको वार्षिकोत्सव सम्पन्न

कविडाँडाको वार्षिकोत्सव सम्पन्न

केन्द्रबिन्दु
0
Shares

सौराहा । कविडाँडा साहित्य समाज चितवनले विभिन्न कथाकारलाई सम्मानित गरेर तथा कथाका विविध पक्षमाथि विमर्शको आयोजना गरेर आफ्नो १७ औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । शनिबार चितवनको सौराहामा आयोजित एक विशिष्ट कार्यक्रममा कथाकारहरू उषा शेरचन, भागिरथी श्रेष्ठ तथा नारायण ढकाललाई कविडाँडा विशिष्ट सम्मानबाट सम्मानित गरिएको हो ।

कथाकार महेश थापालाई उनको कथाकृति “मरीचिका” का लागि उत्कृष्ट आख्यान पुरस्कार २०७५ बाट पुरस्कृत गरेको छ । यसै साल स्थापना गरी पहिलोपल्ट वितरण गरिएको यस पुरस्कारको राशि रू २५१६० रहेको छ । यसै गरी अविनाशी उत्कृष्ट पुस्तक पुरस्कारबाट आख्यानकार भूपिनलाई सम्मानित गरियो । नगद रू १०१६० सहितको सो पुरस्कार उनको उपन्यास “मैदारो” का लागि प्रदान गरिएको हो । स्थानीय साहित्यकार इन्द्र रेग्मीलाई देवखिना स्मृति पुरस्कारबाट नगद रू १११६० सहित सम्मानित गरियो ।

समाजले आयोजना गरेको कविडाँडा राष्ट्रिय कथा प्रतियोगिता २०७६ को नतिजा पनि यसै अवसरमा घोषणा गरियो । यसमा कथाकार पुण्य खरेल प्रथम, मुना चौधरी दोस्रो तथा कथाकारहरू मन्दिरा मधुश्री र इन्द्रबहादुर भण्डारी तेस्रो घोषित भए । यिनमा क्रमशः रू १०१६०, ७५६० र ५०६० नगद राशि रहेको थियो ।

कविडाँडा साहित्य समाजका अध्यक्ष साहित्यकार एलबी क्षेत्रीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्राज्ञ माया ठकुरी प्रमुख अतिथि थिइन् । कार्यक्रमको उद्घाटन सत्रमा “आधुनिक कथाको वैश्विक परम्परा र नेपाली कथा” विषयमा आफ्नो केन्द्रीय मन्तव्य राख्दै समालोचक महेश पौड्यालले कथा कुनै पनि समुदायको सुरक्षा कवच भएको बताए । उनले नेपाली कथाकारलाई परम्पराको अनुशरणमात्रै गर्नुभन्दा स्वरूप र कथ्य दुवैमा नयाँ प्रयोगहरूमार्फत् नूतन पद्धतिको अविष्कार गर्दै लानुपर्ने सुझाव दिए । यसपछि, साहित्यकार अश्विनी कोइरालाद्वारा सञ्चालित परिचर्चामा “नेपाली कथाः परम्पराको भार कि प्रयोगवादको सिकार” विषयमा साहित्यकारहरू भागिरथी श्रेष्ठ, नारायण ढकाल, जलेश्वरी श्रेष्ठ तथा नयनराज पाण्डेले आफ्ना अभिमत राखे । उनीहरूले कथाले परम्पराबाट धेरै कुरा अङ्गीकार गरे पनि आफूलाई सान्दर्भिक बनाइरहन नूतन प्रयोगहरू गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे ।

प्रमुख अतिथिको आसनबाट बोल्दै कथाकार माया ठकुरीले कथा लेख्नका लागि यसको सैद्धान्तिक जानकारी राख्नु वा धेरै अध्ययन गर्नु आवश्यक नरहेको बनाइन् । आफ्नै कथाकारितालाई उदाहणको रूपमा प्रस्तुत गर्दै उनले आफूले देखेभोगेका अनुभव र अनुभूतिहरूको कलात्मक प्रस्तुतिमात्रैले पनि राम्रो कथा सिर्जना गर्न सकिने अभिमत व्यक्त गरिन् । सभापति एलबीक्षेत्रीले कविडाँडाले आगामि सालको वार्षकोत्सवमा कविता प्रतियोगिता, काव्य विमर्श र काव्य सम्मानसहित वार्षिकोत्सवको आयोजना गरिने घोषणा गरे । गणेश श्रमण तथा सुमन घिमिरले सञ्चालन गरेको उक्त कार्यक्रममा साहित्यकारहरू उषा शेरचन, भूवनहरि सिग्देल, उदय अधिकारी, केदार खनाल, इन्द्र रेग्मी, महेश थापा, भूपिन, पुण्य खरेल र सुरेन्द्र अस्तफलले मन्तव्य राखेका थिए ।

Logo