‘पल्पसा क्याफे’ले स्वदेशमै केही गर्न सकिन्छ भन्ने प्रेरणा दिएको छ !

‘पल्पसा क्याफे’ले स्वदेशमै केही गर्न सकिन्छ भन्ने प्रेरणा दिएको छ !

केन्द्रबिन्दु
0
Shares

विजय कुमार शाह अनुराग विद्यार्थी नेता हुन् । स्थायी ठेगाना रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० रहेका उनी हाल तारकेश्वर नगरपालिका–८ काठमाडौंमा बस्छन् । अहिलेसम्म पेशाको रूपमा विद्यार्थी जीवनमै छन् उनी । राजधानीको आरआर क्याम्पसका नेपाल विद्यार्थी संघ इकाई सचिव शाह राजनीति र पढाइलाई सँगसँगै अघि बढाउने सोचमा छन् । विभिन्न अनलाइनहरूमा विचारमूलक लेखहरू लेख्दै आएका उनी आरआर क्याम्पसमा स्नातक तहको तेस्रो वर्षका विद्यार्थी हुन् । उनै विद्यार्थी नेता शाहसँग यसपटक केन्द्रबिन्दुकर्मी ज्ञानमणि नेपाल कालोटोपीले पुस्तकका विषयमा कुराकानी गरेका छन् ।

१. तपाईंले पछिल्लोपटक कुन पुस्तक पढ्नुभयो ?

मैले पछिल्लो पटक पढेको पुस्तक पल्पसा क्याफे हो ।

२. तपाईंले उक्त पुस्तक कसरी छनोट गर्नुभयो ?

मैले पल्पसा क्याफे छनोट गर्दा पल्पसा क्याफेका लेखक नारायण वाग्ले कान्तिपुर दैनिकका सम्पादक हुनुहुन्थ्यो । उनले लेखेको पल्पसा क्याफे भित्रका केही कथावस्तु साथीहरूबाट थाहा पाएँ र यो पुस्तकचाहिँ पढ्नुपर्छ भनेर छनोट गरेको हुँ ।

३. उक्त पुस्तकको सार के पाउनुभयो ?

पल्पसा क्याफे उपन्यासले युद्धले कुनै पनि देशलाई विकासको गतिमा लैजान सक्दैन भन्ने सार दिएको छ । पल्पसा क्याफे अर्को सार भनेको चित्रकारहरूको पनि हाम्रो समाजमा राम्रो प्रतिष्ठा छ ।

४. उक्त पुस्तकको कुन कुराले छोयो र किन ?

मलाई पल्पसा क्याफे उपन्यासका पात्रद्वय पल्पसा र दृश्यको कुराले छुन्छ । विशेष गरेर पल्पसाको देशभक्तिबाट म प्रभावित भएको छु । त्यति तरुनी युवतीको विदेशी भूमिबाट फर्किएर म नेपालमै केही गर्छु, मलाई विदेश जान रहर छैन भन्ने अभिव्यक्तिले मलाई छोयो ।स्वदेशभित्र पनि रमाउने र केही गर्न प्रशस्त ठाउँ छ भन्ने मेरो धेरै वर्षदेखिको मानसिकतालाई यसले अझ प्रमाणित गरेको छ ।

५. पुस्तकमा कुन पक्ष सुधार गर्नुपर्ने लाग्यो वा पुस्तकको कमजोरी के पाउनुभयो ?

समग्रमा पल्पसा क्याफे पुस्तकमा पुस्तकको सुधार गर्नुपर्ने पक्ष भेट्टाउन धेरै गाह्रो छ । तर पल्पसा क्याफेमा नेपालमा माओवादीहरूले सुरु गरेको युद्धको ज्यादती अलिकम लेखिएको जस्तो लाग्छ मलाई । माओवादीहरूले सुरु गरेको युद्धमा सेना पक्ष र विद्रोही पक्षको ज्यादती अझै विस्तृत रूपमा प्रस्तुत गरेको भए युद्धको प्रभावमा थिलथिलो भएका जिल्ला रुकुम रोल्पाका बासिन्दाहरूले आफ्नै जस्तो कथा पाउने थिए जस्तो लाग्छ ।

६. यो पुस्तकलाई रेटिङ गर्नुपरे २० पूर्णांकमा कति नम्बर दिनुहुन्छ ?

पल्पसा क्याफेलाई रेटिङ गर्नुपरे २० पुर्णांकमा म १४ दिन्छु ।

७. हाम्रा पाठकलाई पुस्तक छनोट गर्न के कस्तो तरिका सुझाउनुहुन्छ ?

म पुस्तक पढ्ने तमाम पाठकलाई पुस्तक छनोट गर्दा पुस्तक लेख्दा लेखकले कस्तो मेहनत गरेको छ, उसले रिसर्चमा कति समय बिताएको छ र उसले सार्वजनिक गर्ने पुस्तकहरूले नेपाली समाजमा कस्तो ज्ञान दिने गरेका छन् यी कुरामा ध्यान दिएर पुस्तक छनोट गर्नुपर्छ भन्ने सुझाव दिन चाहन्छु ।

Logo