हरेक पाठकका रुचि फरक हुन्छन् !

हरेक पाठकका रुचि फरक हुन्छन् !


कथाकार तथा आख्यानकार सब्बु सुवेदीको लेखन निकै परिपक्व छ । उनले लेखेको उपन्यास ‘मञ्जूषा’मा युवाप्रेमको सशक्त प्रस्तुति देख्न सकिन्छ । उनी चलचित्रको स्क्रिप्ट लेखनमा समेत सक्रिय छिन् । उनै सुवेदीसँग केन्द्रविन्दुका लागि दीपक दर्शनले यसपटक पुस्तक पठनका विषयमा ७ प्रश्न राखेका छन् ।

१. तपाईंले पछिल्लोपटक कुन पुस्तक पढ्नुभयो ?

अमर न्यौपानेको ‘गुलाबी उमेर’ पढेँ ।

२. तपाईंले उक्त पुस्तक कसरी छनोट गर्नुभयो ?

अमर न्यौपानेको लेखन मन पर्ने हुँदा उनका पुस्तक पढिरहन्छु तसर्थ यसको छनोटमा धेरै सोचिरहनु परेन । पुस्तक आउने कुरा सुन्दैमा पढ्ने सोच बनिसकेको थियो ।

३. उक्त पुस्तकको सार के पाउनुभयो ?

१३–१९ वर्षको उमेरसम्म एउटी किशोरीको उमेरमा केकस्ता उतारचढाव आउँछन्, त्यसको प्रस्तुति छ । घर–परिवार, माया–प्रेम, स्कुल–पढाइ, आमाबुबा, उमेरसँगै सोचाइमा आउने क्रमिक परिवर्तन आदि सूक्ष्म रूपले देखाइएको छ ।

४. उक्त पुस्तकको कुन कुराले छोयो र किन ?

लेखकले आफू पुरुष भएर पनि किशोरीको भावलाई सहज, स्वाभाविक तरिकाले उत्कृष्ट ढंगमा उतार्नुभएको छ, त्यो प्रशंसनीय छ । मैले कृति पढ्दा आफूलाई त्यही अवस्थामा पाएँ, आफू किशोर वयमा उभिन पुगेँ, समानुभूति गर्न सकेँ, यस्ता यावत् हिसाबले ‘गुलाबी उमेर’ उत्कृष्ट छ ।

५. पुस्तकमा कुन पक्ष सुधार गर्नुपर्ने लाग्यो ? वा पुस्तकको कमजोरी के पाउनुभयो ?

कतै कतै समयको कुरामा कन्फ्युजन छ । उपन्यासको समय पहिलेको हो कि अहिलेको हो भन्ने प्रस्ट हुँदैन ।

६. यो पुस्तकलाई रेटिङ गर्नुपरे २० पूर्णांकमा कति नम्बर दिनुहुन्छ ?

१७ दिन्छु । स्थापित लेखकसँग अपेक्षा बढी हुने हुनाले यसभन्दा बढी दिन सक्दिन ।

७. हाम्रा पाठकलाई पुस्तक छनोट गर्न केकस्तो तरिका सुझाउनुहुन्छ ?

हरेक पाठकका रुचि फरक हुन्छन् । राम्रो भएर पनि सबै पुस्तक चर्चामा आउँदैनन् भने चर्चामा आउने सबै पुस्तक उत्कृष्ट हुँदैनन् ।  म लेखकबाट प्रभावित भएर पुस्तक छनोट गर्दा कतिपय अवस्थामा पछुताएकी छु  । चर्चा र पुरस्कारप्राप्तिको हिसाबमा मात्र पनि पुस्तक छान्न सकिंदैन । बरु गम्भीर रूपले अध्ययन गर्ने साथीभाइ, पुस्तकलाई संवेदनशील भएर आत्मसात् गर्ने व्यक्ति आदिका सुझावलाई ध्यान दिँदै आफ्नो रोजाइलाई प्राथमिकता दिनु राम्रो होला ।

Logo