कन्यामलाई एक फन्को

कन्यामलाई एक फन्को


  • उमेश रेग्मी –

जन्मथलो मेरो काठमाडौँ भए पनि कर्मथलो पछिल्लो ११ वर्षदेखि पोखरा रहेको छ । पोखरा आफैमा सुन्दर, शान्त अनि प्रकृतिको राजधानी हो, जहाँ वसन्त आएपछि फर्कन चाहँदैन । यहाँको हिमाली सौन्दर्य अपरम्पार छ । बिहान उठ्ने बित्तिकै उत्तरतर्फ देखिने हिमालको मधुर मुस्कानले दिन नै आनन्दित हुन्छ ।

यसपालिको दसै विदालाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा मलाई सार्‍हो सकसक लागेको थियो । मेरो ससुराली झापाको चारआली नजिकै पर्दछ । यसपालि आमाले छोरीको गन्युचोली कार्यक्रम गर्ने भन्नुभएकाले मेरो यात्रा दशैँ अगावै झापाको चारआलीसम्म भयो ।
घरमा पूजा पनि थियो करिब चार दिनको । पूजाआजा पश्चात छोरीलाई गुन्यु चोली दिने कार्यक्रम आयोजना भयो । चार दिनसम्मको पूजामा जीवनमा म पहिलो पटक बसेको थिएँ । यसरी पूजामा बस्दाको मेरो अनुभव रमाइलो भयो ।

गुन्युचोली कार्यक्रम मेरो लागि नौलो थियो । हाम्रो परिवारमा यस्तो कार्यक्रम पहिला कहिल्यै पनि भएको थिएन । यो मेरो बुबाआमाको चाहना पनि र रहर पनि थियो । असोज १५ गते विधिवत रूपमा कार्यक्रम सकिएपछि १६ गते म, सविना, मेरा दाइ दिदी सहित ५ जनाको टोली घुम्नका लागि इलामको कन्याम पुगियो ।

झापाको गर्मीमा बस्दा सार्‍है छटपटाएको म इलामको कन्याम पुग्ने आशले मन खुसी थियो । हामी विहान करिब सात बजे इलाम जानका लागि चारआलीमा पुग्यौँ । त्यहाँबाट एउटा ट्याक्सी लिएर हामी करिब ३५ किलोमिटर माथिको उकालो चढ्न सुरु गर्‍यौँ । बाटोमा बायाँतिरको लहलहाउँदो धानको खेत तथा दाहिनेतिरको चिया बगानले मेरो मन आनन्दित भएको थियो । मेरो देश जहाँ गए पनि अति नै सुन्दर अनि जहाँ जे रोप्यो त्यही फल्ने आहा क्या सुन्दर !

यात्राको क्रममा नागबेली साँगुरा बाटो अनि हुस्सु लागेको ठाउँ । अहा, बादलुको माथिमाथि हिडेको अनुभव । जति जति उकालो लाग्दै गइयो त्यतित्यति चिसो । दायाँबायाँ तरकारी तरकारीका बोट । हरियो सागसब्जी, स्कुस, मुला, करेला । बाटोभरि चियाको बगान अनि अम्रिसो । अदुवा खेती अनि अलैची । पर्वीय क्षेत्रको आम्दानीको स्रोत पनि हो ।

हामी करिब ४५ मिनेटको मोटर चढेर हामी पाउ पाथीभराको दर्शन गर्न जाने भयौँ । आधा घन्टाको उकालोपछि हामी सानो पाथीभरा पुग्यौँ । ताप्लेजुङको पाथीभरा जान नसक्नेहरू यहाँ जाँदा रहेछन् । आफ्नो मनोकामना पूर्ण हुन्छ भन्ने ठूलो जनविश्वास रहेछ मानिसहरूमा । त्यहाँबाट वरिपरिको प्राकृतिक दृश्यावलोकन गरि हामी पुनः इलामको कन्यामतर्फ लाग्यौँ । त्यहाँबाट करिब २० मिनेटको गाडीको यात्रापछि हामी कन्याम डाँडामा पुग्यौँ । त्यहाँको प्राकृतिक सौन्दर्य, आहा । मनै प्रफुल्ल । वरिपरि चिया बगान । डाँडाको पूर्वपट्टि उज्यालो हुँदा पश्चिम अँध्यारो । बादलुले ढकमक्क ढाकेको कन्याम एकै छिनमा उज्यालो त एकै छिनमा बादलुले ढाकिएको । अचम्मै सुन्दर छ कन्याम ।

यतिबेला मेरा मस्तिस्कमा भने यम बरालको ‘बादलुको घुम्टोले इलाम बजार छोपिँदा’ भन्ने गीतको सम्झना आएको थियो । साँच्चै सुन्दर छ कन्याम ।

कसरी पुग्ने कन्याम ?

कन्याम पूर्वी नेपालको नेपालको रमणीय तथा पर्यटकीय केन्द्र हो । यस ठाउँले देश तथा विदेशमा समेत ख्याति कमाएको छ । नेपालको एक नं. प्रदेशमा पर्ने यो ठाउँ इलाम जिल्लाको सूर्योदय नगरपालिकामा पर्दछ । यहाँ वर्षेनी आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्दछ । यहाँ तराई तथा भारतका विभिन्न जिल्लाबाट पर्यटक आउने गर्दछन् ।

हाम्रो देश नेपालबाट पनि यहाँ सम्म आउनका लागि यातायातको सुविधा छ । देशका विभिन्न भागबाट काकडभित्ताको चारआलीमा आएर ओर्लनु पर्दछ । त्यहाँबाट विभिन्न प्रकारका यातायातका साधन पाइन्छ ।

के के हेर्ने ?

कन्यामबाट श्रीअन्तु, समालबुङ, पशुपतिनगरको हरियाली दृश्य देख्न सकिन्छ । साथै त्यहाँबाट सगरमाथा, कुम्भकर्णजस्ता हिमालको हिमाली सौन्दर्य पनि देख्न सकिन्छ । त्यहाँ रहेको चियाबारीको सौन्दर्य हेर्दै घोडा चढेर पनि मनोरञ्जन लिन सकिन्छ । स्थानीय जातजातिका भेषभुषा झल्काउने कपडा लगाएर फोटो खिच्न पनि सकिन्छ ।

कोसेली के ल्याउने ?

कन्यामको कोसेलीका रूपमा चियापत्ती, अकबरे खुर्सानी दुर्खा, ललीपप तथा त्यहाँका अन्य स्थानीय मिठाइहरू लिन सकिन्छ ।

 

Logo