महाकविमाथि विज्ञान

महाकविमाथि विज्ञान

केन्द्रबिन्दु
0
Shares

  • केदार संकेत –

नेल आर्मस्ट्रङ र बुजअल्द्रिन त
मेरो कविता पढेर चन्द्रमा पुगेका हुन्

मलाई सेतो नबनाई देऊ
मेरो छाला सेतो थिएन
मलाई रातो पनि नदलिदेऊ निधारमा
मैले कुनै मान्छे मारेर
आफ्नै देशमा युद्ध जितिन ।

जजस्ले जितें भन्छन् युद्ध
जजस्ले सुधारेँ भन्छन् देश
तिनकै निधारमा लगाइदेऊ
माला र अबीर ।

सास र सत्ता हुन्जेल मात्र हो
एकसरो सलामी दिने
मरेपछि करले हैन
तिम्रो मलामी रहरले नै जाऊन् ।

सक्छौँ भने,
मेरो मुनामदन नमक्के जस्तै
नमक्काइदेऊ मेरो घरको दलिन
मुखियाले आली मिचेझैँ
मिचिन नदेऊ मेरो देशको
साँध र सीमाना ।

बल, धन र साधन नभएर मात्र हो
जल, थल र सही आँगन नभएर मात्र हो
मैले त पहिल्यै हो चन्द्रमा पुग्ने सपना देखेको
त्यत्तिकै हैन मैले
’उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भनेको ।

आजका कवि हो
तिम्रो समय भनेको रोबोटको हो
भगवानको हैन
तिम्रो समय भनेको ड्रोनको हो
चङ्गाको हैन ।

अब छिट्टै एक दिन
एलियनको वीर्यले
तिम्रा श्रीमतीको गर्भधान हुनेछ
र जन्मनेछन्
नयाँ ग्रहमा नयाँ बच्चा
त्यो बेला मेरो प्रिय कवि
नेपालको नक्सा खोज्न नभुल्नू ।

Logo