अनिता न्यौपाने साहित्यकार हुन् । आँचल साहित्यकला पुञ्जकी कार्यवाहक अध्यक्ष तथा साहित्य सङ्गम मकवानपुरकी उपाध्यक्ष न्यौपाने साहित्यमा ०६४ सालदेखि संलग्न छिन् । उहाँको फूलको विद्रोह कविता सङ्ग्रह २०७५ मा प्रकाशित भएको छ । उनै साहित्यकार अनिता न्यौपानेसँग केन्द्रबिन्दुकर्मी ज्ञानमणि नेपाल कालोटोपीले कुराकानी गरेका छन् ।
१. तपाईंले पछिल्लो पटक कुन पुस्तक पढ्नुभयो ?
मैले यो दसैमा धेरै पुस्तक पढेँ । त्यसमध्ये पछिल्लोपटक पढेको पुस्तक भनेको साहित्यकार अमर न्यौपानेले लेख्नुभएको ‘गुलाबी उमेर’ हो ।
२. तपाईंले उक्त पुस्तक कसरी छनोट गर्नुभयो ?
अहिले हामी सामाजिक सञ्जालमा छौँ, त्यसमाथि पढिआएका लेखकहरूलाई उसै पनि पढ्न मन पराउछौँ । अहिले पुस्तक छनोटको लागि त्यति धेरै गाह्रो छ जस्तो लाग्दैन ।
३. उक्त पुस्तकको सार के पाउनुभयो ?
‘गुलाबी उमेर’ एउटा किशोरीमाथि लेखिएको कथा हो । १३ वर्षदेखि १९ वर्षसम्ममा कस्तो शारीरिक मानसिक रूपमा कस्तो परिवर्तन आउँछन् । र अभिभावकले कसरी समस्यालाई सरल रूपमा सामाधान गर्न सकिन्छ भन्ने विषयमा यो पुस्तक उपयोगी हुनेछ । यसको सार नै उमेरले मान्छेलाई कसरी परिवर्तन गराउँदै लान्छ भन्ने हो ।
४. उक्त पुस्तकको कुन कुराले छोयो र किन ?
नामै ‘गुलाबी उमेर’ भइसकेपछि पक्कै पनि यसमा हुने भनेको त उमेरकै कुरा हुन् । यसमा छुने भनेको नै एउटा बच्चा कसरी बढ्छ, कसरी आफूलाई थाहा नपाउँदा गल्ती गर्छ भन्ने हो । यो वास्तवमा अभिभावकलाई सजग बनाउन लेखिएको, अभिभावक केन्द्रित पुस्तक हो ।
५. पुस्तकमा कुन पक्ष सुधार गर्नुपर्ने लाग्यो ? वा पुस्तकको कमजोरी के पाउनुभयो ?
एउटा मान्छे जसरी हरेक कुराले पूर्ण हुँदैन, त्यसैगरी एउटा किताबभित्र पनि कमजोरी नै हुँदैनन् भन्ने त होइन तर एउटा पाठक भएर पढिरहँदाचाहिँ अलि बढी अभिनयात्मक हो कि जस्तो लाग्यो । अलि फिल्मी शैलीमा लेखिएको हो कि झैँ लाग्छ । कमजोरी त हरेकको दृष्टिकोणमा फरक फरक कुरा हुन् ।
६. यो पुस्तकलाई रेटिङ गर्नुपरे २० पूर्णांकमा कति नम्बर दिनुहुन्छ ?
यो पुस्तकलाई एउटा पाठकको हिसाबले १८ नम्बर दिन्छु ।
७. हाम्रा पाठकलाई पुस्तक छनोट गर्न के कस्तो तरिका सुझाउनुहुन्छ ?
सबैका आआफ्नै रुचि र विषय हुन्छन् । म बढी कविता उपन्यास पढ्ने भएर होला, पढिआएका लेखकहरूलाई नै पढिरहेकी छु तर नयाँ लेखकको हिसाबमा हेर्नु पर्दा लेखक, बजार र माहोल हेरेर छनोट गर्छु ।





























प्रतिक्रिया