दक्षिण एसियाली साहित्य सम्मेलनमा उप्रेतीसहित तीन जनालाई अवार्ड

दक्षिण एसियाली साहित्य सम्मेलनमा उप्रेतीसहित तीन जनालाई अवार्ड

केन्द्रबिन्दु
0
Shares

दक्षिण एसियाको आधिकारिक साहित्यिक संस्था ‘फाउन्डेसन अफ सार्क राइटर्स एण्ड लिट्रेचरर्स’ले नेपालका कवि एवं निबन्धकार भीष्म उप्रेतीलाई ‘सार्क लिट्रेचर अवार्ड‘ प्रदान गरेको छ । साहित्यमार्फत दक्षिण एसियाका थिङ्क ट्याङ्क र बौद्धिक वर्गलाई एकआपसमा जोड्न महत्वपूर्ण योगदान गरेको भन्दै फाउन्डेसनले उक्त अवार्ड प्रदान गरेको बताएको छ । उप्रेतीसहित उक्त पुरस्कार बंगलादेशका प्रसिद्ध कवि मोहम्मद नुरुल हुडा र माल्दिभ्सका प्राध्यापक एवं कवि असरफ अलीलाई प्रदान गरिएको छ ।

तीन दिन चलेको दक्षिण एसियाली साहित्य सम्मेलनमा भारतको राजधानी नयाँ दिल्लीस्थित सिडी देशमुख अडिटोरियममा भारतकी प्रसिद्ध लेखक एवं फाउन्डेसनकी अध्यक्ष अजित कौरले उक्त अवार्ड प्रदान गरेकी हुन् । उक्त समारोहमा सार्कअन्तर्गतका पाकिस्तानबाहेक अन्य सबै देश नेपाल, भारत, बंगलादेश, मालदिभ्स, अफगानिस्तान, श्रीलंका र भुटानका सयभन्दा बढी लेखक भेला भएका थिए ।

अक्टुबर १८, १९ र २० गरी तीन दिन चलेको उक्त कार्यक्रममा सार्क राष्ट्रहरूका समकालीन लेखक–कविहरू भेला भएका थिए । कार्यक्रममा सबै देशका प्रतिनिधिहरूलाई पालैपालो आफ्नो रचना र देशको साहित्यिक एवं सांस्कृतिक गतिविधि राख्ने मौका दिइएको थियो ।

सम्मेलनको उद्घाटन सत्रमा अगानिस्तानका गुल आगा अहमदी, बंगलादेशका डा. सेलिना हुसेन, भुटानका डा. रिन्जिन रिन्जिन, भारतका डा. के.एस. राव, श्रीलंकाका डा. सुनिल सरथ परेरी तथा नेपालका कवि भीष्म उप्रेतीले आफ्ना देशका तर्फबाट कार्यक्रम सञ्चालन तथा सभाध्यक्षता गरेका थिए ।

सम्मेलनमा नेपाली साहित्यकारहरू भीष्म उप्रेती, स्नेह सायमी, गोविन्द गिरी प्रेरणा, अश्विनी कोइराला, भावना पोखरेल, सुमन वर्षा, रञ्जना निरौला एवं रूपसिंह भण्डारी सहभागी थिए । तीन दिन विहान ९ बजेदेखि साँझ ७ बजेसम्म चलेको उक्त कार्यक्रममा ३२ सेसनका भिन्नभिन्न कार्यक्रम भएको थियो । प्रत्येक कार्यक्रमलाई फरक फरकले अध्यक्षता गरेका थिए ।

सम्मेलनमा सबैभन्दा धेरै लेखकहरू अफगानिस्तानबाट सहभागी भएका थिए भने सबैभन्दा कम नेपालबाट थिए । कश्मिरका विषयमा भारत र पाकिस्तानबीच भएको राजनीतिक विवादका कारण यस पटक पाकिस्तानी लेखक–कविहरूले सम्मेलनमा भाग लिएनन् ।

Logo