रामलाल जोशीलाई ७ प्रश्न

रामलाल जोशीलाई ७ प्रश्न

केन्द्रबिन्दु
0
Shares

रामलाल जोशी नेपालको प्रतिष्ठित साहित्यिक पुरस्कार ‘मदन पुरस्कार’ प्राप्त गर्ने साहित्यकार हुन् । उनले वि.सं. २०७२ सालमा ऐना कथा संग्रहका लागि मदन पुरस्कार पाएका हुन् । उनले ‘ऐना’मा सुदूर पश्चिम नेपालको दूरदराजमा रहेका पीडा, समाजका सुख–दुःख र किनारीकृत वर्गका व्यथालाई कथामा कलात्मक ढंगले उनेका छन् । सुदूर पश्चिमले केन्द्र हल्लाएको यो पुस्तक नेपाली साहित्य बजारमा कम समयमा बिक्रीको रेकर्ड बनाउन सफल कृति पनि हो । यसबाहेक उनले एउटी सीमान्तकृत कमलरी केटीको सङ्घर्ष, समर्पण र सफलताको गाथा समेटेर लेखिएको उपन्यास ‘सखी’ पनि बजारमा ल्याएका छन् ।

विशेषतः समाजका विविध घटनाहरूको मर्मलाई निचोरेर चोटिला कथा लेख्ने जोशीका लेखरचनाहरू राष्ट्रिय पत्रपत्रिका एवं अनलाइनहरूमा प्रकाशित भइरहन्छन् । सुदूर पश्चिम नेपाललाई नै कर्मभूमि बनाएर अघि बढिरहेका उनै जोशीसँग केन्द्रविन्दुका लागि दीपक दर्शनले यसपटक पुस्तक पठनका विषयमा ७ प्रश्न राखेका छन् ।

१. तपाईंले पछिल्लोपटक कुन पुस्तक पढ्नुभयो ?

गएको एक दुई महिनामा मैले लगभग एक दर्जन पुस्तक पढेँ । अन्तिमचोटि पढेको चाहिँ सत्यकेतु विद्यालङ्कारको ‘चाणक्य’ उपन्यास हो ।

२. तपाईंले उक्त पुस्तक कसरी छनोट गर्नुभयो ?

छनोट गर्ने आधार त त्यस्तो केही होइन । साथीहरूले पढ्न सिफारिस गरे । त्यसैले पढेँ ।

३. उक्त पुस्तकको सार के पाउनुभयो ?

यो बडा गज्जबको पुस्तक छ । विश्व विजयको सपना देखेको सिकन्दर महानले पूर्वीय सभ्यता र आर्यहरूको पतन हुनेगरी सिङ्गो भारतवर्षमा शासन गर्न गरेको प्रयासलाई आचार्य चाणक्यले परास्त गरेका छन् । पुस्तकमा परचक्रीहरूको पन्जाबाट भारतवर्षलाई मुक्त पार्न चाणक्यले गरेको संघर्षको रोचक वर्णन छ । राष्ट्रभक्ति, आफ्नो सभ्यता र अस्तित्व रक्षा नै जीवनको उद्देश्य हो भन्ने सार पुस्तकमा पाइन्छ ।

४. उक्त पुस्तकको कुन कुराले छोयो र किन ?

चाणक्यको कूटनीति, ज्ञान, वीरता र त्यागले छोयो । साथै राष्ट्रभक्तिको भावनाले पनि म प्रभावित भएँ ।

५. पुस्तकमा कुन पक्ष सुधार गर्नुपर्ने लाग्यो ? वा पुस्तकको कमजोरी के पाउनुभयो ?

पाठकीय कोणबाट मैले कुनै कमजोरी पाइन । रुचि लागेकाले पनि हुनसक्छ, पुस्तकले मलाई सुरुदेखि अन्त्यसम्म मज्जाले आकर्षित गर्‍यो । यस हिसाबले मलाई पुस्तक पूर्ण लाग्यो ।

६. यो पुस्तकलाई रेटिङ गर्नुपरे २० पूर्णांकमा कति नम्बर दिनुहुन्छ ?

पुस्तक निकै राम्रो छ । नम्बरै दिनुपरे म यसलाई २० पूर्णांकमा १९ दिन्छु ।

७. हाम्रा पाठकलाई पुस्तक छनोट गर्न केकस्तो तरिका सुझाउनुहुन्छ ?

पुस्तक छनोटका लागि केही विद्वान् र गम्भीर अध्येताको सिफारिस लिँदा राम्रो हुन्छ ।

Logo