विद्युतकर्मी साहित्यिक समाजद्वारा शुभकामना आदान प्रदान

विद्युतकर्मी साहित्यिक समाजद्वारा शुभकामना आदान प्रदान


काठमाडौं,

नेपाल विद्युत प्राधिकरण विद्युतकर्मी साहित्यिक समाजले नेपालीहरुको घर आँगनमा आउँदै गरेका चाडपर्वहरुका लागि शुभकामना आदान प्रदान गर्ने तथा कर्मचारीहरुको सृजनशीलता समेत प्रवर्द्धन गर्ने हेतुले गत शुक्रबार शुभकामना आदानप्रदान तथा गजल मुशायरा कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। वरिष्ठ गजलकार ललिजन रावलको प्रमुख आतिथ्यतामा नेपाल विद्युत प्राधिकरण प्रधान कार्यालय, दरवारमार्ग, काठमाडौंको सभाकक्षमा सन्चालन भएको उक्त कार्यक्रममा आयोजक संस्था भित्र र बाहिरका गरी करिब डेढ दर्जन स्रस्टाहरुले गजल गायन एवं वाचन गरेका थिए।

उक्त क्रार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्युतकर्मी साहित्यिक समाजका कार्यसमिति सदस्य एवं अमरज्योति साहित्यिक त्रैमासिकका कार्यकारी सम्पादक विष्णुप्रसाद आचार्य अतृप्तले गजल कविता विधाको भावात्मक, रागात्मक र प्रहारात्मक सामर्थ्ययुक्त भेद भएकोले यसले लघु संरचना मार्फत सघन मानवीय सम्वेदनालाई उजागर गर्नसक्ने बताएका थिए। प्राधिकरणकै ईतिहासमा पहिलो पटक आयोजना गरिएको उक्त गजल मुशायरा कार्यक्रममा नाटककार, कवि एवं गजलकार पुरु लम्साल, कवि एवं गजलकार नारायण निराशी, साहित्य सुधा कार्यक्रमकी सन्चालिका एवम गजलकार कल्पना काफ्ले, गजलकार भोला तिमल्सिना लगायत प्राधिकरण बाहिरका स्रस्टाहरुले आआफ्नो गजल वाचन तथा गायन गरेका थिए ।

आयोजक संस्था नेपाल विद्युत प्राधिकरणको तर्फबाट गजल स्रस्टाहरु शिशिर थापा, सागर ज्ञवाली, ध्रुवराज न्यौपाने, शारदादेवी भट्टराई , प्रकाश आचार्य, लक्ष्मण मण्डल, कृष्णदेव रिमाल, यादवराज घले लगायतले गजल वाचन गरेका थिए भने ने.वि.प्राबाट सेवा निवृत्त भएका पूर्व उप कार्यकारी निर्देशक एवम गीतकार विरेन्द्र पाठक, पूर्व निर्देशक एवम गायक जुजुकाजी रन्जितले मीठो स्वर लहरीमा गजल गायन गरेका थिए।

विशेष अतिथिका रुपमा आमन्त्रित कवि एवं गजलकार प्रभाती किरणले गजलको उपकरण र यसको प्राविधिक संरचनामाथि सङ्क्षिप्त प्रकाश पार्दै सिकारु स्रस्टाहरुलाई गजल लेखनका लागि हौसला प्रदान गर्नुका साथै आफ्नो गजल वाचन गरेका थिए। कार्यक्रमका विशेष अतिथि नेपाल विद्युत प्राधिकरणका प्रशासन निर्देशनालयका प्रमुख तुलाराम गिरीले मानसिक र बौद्धिक स्फुर्ति अभिवृद्धिका माध्यमबाट सङ्गठनको उत्पादकत्व बढाउन सकिने भएकोले ध्यान, योग र साहित्यिक कार्यक्रमहरुलाई स्थानीय कार्यालयमा कार्यरत कर्मचारीहरुसम्म बिस्तार गर्ने लक्ष्य रहेको धारणा व्यक्त गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि ललिजन रावलले गजलको प्रस्तुतीकरण शिल्प र यसले समाजमा पार्दै आएको प्रभावको समीक्षा गर्दै बहरबद्ध गजल प्राविधिक विषय भएकोले सबैले यसमा अभ्यास गर्न नसके तापनि प्रत्येक शेरहरुमा कम्तीमा उच्चार्य अक्षरहरु बिच एकरुपता रहने र गायनमैत्री हुने गरी गजल रचना हुनुपर्ने भन्दै गजलको रचनाविधानका बारेमा आफ्नो धारणा राखेका थिए। विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमालको सभापतित्वमा सन्चालित उक्त कार्यक्रमलाई सोही समाजकी कोषाध्यक्ष शारदा पराजुलीले सहजीकरण गर्नुभएको थियो ।

Logo