कालीप्रसादको ‘काँडामा हाँसेको जिन्दगी’ सार्वजनिक

कालीप्रसादको ‘काँडामा हाँसेको जिन्दगी’ सार्वजनिक


काठमाडौं । कवि तथा गीतकार कालीप्रसाद रिजालको सस्मरणात्मक जीवनकथा ‘काँडामा हाँसेको जिन्दगी’ सार्वजनिक भएको छ। नेपालयले संचालन गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी’ को सांगीतिक माहोलमा ११ गते रिजालको नयाँ पुस्तक विमोचन भएको हो ।

नेपाली सांगीतिक र साहित्यिक जगतमा अलग्गै उचाइ हासिल गरेका कालीप्रसाद लामो समय सरकारी सेवामा कार्यरत रहे । वि.सं. १९९६ विराटनगरमा जन्मेका रिजालले ‘काँडामा हाँसेको जिन्दगी’ मा उसबेलाको विकट नेपाल र आफ्नो व्यक्तिगत जीवनयात्रालाई समेटेका छन् ।

शनिबारको पलेँटीमा रिजालले भोगेको त्यही समय र उनको गीति तथा कविता यात्राको चर्चा भएको थियो । कार्यक्रममा उनले रचना गरेका आठवटा गीतहरू प्रस्तुत भएका थिए । सांगीतिक माहोलमा साहित्यिक चर्चा समेटिएकोले नेपालयको आरशालाले नियमित पलेँटीभन्दा फरक परिवेशको झल्को दिइरहेथ्यो । 

पुस्तक विमोचन कार्यक्रम नेपालय पब्लिकेसन्स र पलेँटीको संयुक्त आयोजनामा भएको थियो । नेपालय पब्लिकेसन्सले बजारमा ल्याएको पुस्तक सार्वजनिक भएसँगै साहित्यकार रिजालले रचेको गीत झर्‍यो जिन्दगी, टुट्यो जिन्दगीप्रस्तुत भएको थियो ।

कार्यक्रमको अन्तिम चरण सांगीतिक प्रस्तुति र कविता वाचन हुँदै अघि बढेको थियो । रिजालले वाचन गरेको पजेरो सम्बन्धि कविताले नेपाली राजनीतिको सुविधाभोगी प्रवृत्तिमाथि व्यंग्य गरेको थियो ।  कार्यक्रममा प्रस्तुत भएका पुराना गीतमा नारायण गोपालका संगीतलाई मात्र समेटिएको थियो ।

पछिल्लो चरणमा प्रस्तुत रिजालका दुईवटा नयाँ रचनामा भने संगीतकार आभासले धुन भरेका थिए । ती दुई रचना मध्ये शहरसँग सम्बन्धित यतै घर उतै घर जता हेर्‍यो घरैघर, यो शहरमा ओत लाग्ने ठाउँ छैन कतै तरगीत र कति खाली च्याउँछ्यौ सँधै भित्रबाटगजल शैलीका रचना थिए ।

कार्यक्रमको समापनमा गायक फत्तेमानलाई सम्झना गर्दै बनै खायो डँढेलोले प्रस्तुत गरिएको थियो ।  रिजालको पलेँटीमा वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, प्रकसनमा सुन्दरकुमार महर्जन र गीटारमा सुरज प्रधान रहेका थिए ।

 अँग्रेजी महिनाको अन्तिम हप्ता संचालन हुँदै आएको पलेँटी आइतबार पनि हुँदैछ । आइतबारको  सांगीतिक माहोलमा मञ्जुलको गीति-यात्रा संस्मरण सम्झनाका पाइलाहरूसार्वजनिक हुने कार्यक्रम रहेको कुरा आयोजक संस्था नेपालयले जानकारी गराएको छ ।

Logo