साहित्यकार राजेन्द्र सुवेदीको धितो कोख लोर्कापण

साहित्यकार राजेन्द्र सुवेदीको धितो कोख लोर्कापण


काठमाडौं,

साहित्यकार तथा समालोचक प्रा. राजेन्द्र सुवेदीको उपन्यास ‘धितो कोख’ बजारमा आएको छ । शुक्रबार राजधानीमा आयोजित विशेष कार्यक्रममा सुवेदीको तेस्रो उपन्यास कृति सार्वजनिक भएको हो । प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा आयोजित कार्यक्रममा प्रा. डा. वासुदेव त्रिपाठीले उपन्यास सार्वजनिक गरेका हुन् ।

पुस्तक सार्वजनिक गर्दै उपन्यासले नेपाली साहित्यको उपन्यास विधामा नयाँ प्रवृत्ति ल्याएको प्रा. डा. त्रिपाठीले बताए । ‘उपन्यासले रुसी र फ्रान्सेली आधुनिक परम्परालाई तोडेको छ’, उनले भने, ‘यो आधुनिक उपन्यासको उच्चतम शैलीलाई भत्काएर नयाँ शैलीमा आएको छ । त्यसैले यो उपन्यास अनाख्यान हो ।’

विशेषगरी हास्य निबन्धकारका रुपमा परिचित सुवेदीको उपन्यासमा वैदेशिक रोजगारीको समस्या, पत्नी पीडितका समस्या, माओवादी ‘जनयुद्ध’ले निम्त्याएको समस्या आदि विषय उठाइएको समीक्षक डा. रामप्रसाद ज्ञवालीले बताए । उनले उपन्यास सर्जक सुवेदीको लामो समय, उत्कृष्ट खोज र कडा मिहिनेतको प्रतिफल भएको बताए ।

उपन्यासमाथि समालोचनात्मक मन्तव्य राख्दै समीक्षक डा. ज्ञवालीले यी समस्या नयाँ नभए पनि प्रस्तुति नयाँ रहेको बताए । उनले उपन्यासमा पूँजीवादले मानव बेचबिखन व्यवसायलाई जन्म दिएर मौलाएको विषय समेटिएको बताए । ‘उपन्यासमा भाडामा कोख दिएर विदेशीको बच्चा जन्माइदिएको कुरा उल्लेख छ’, उनले भने ‘यो विकराल समस्या बनेर आज नेपाली समाजमा आएको छ ।’ समग्रमा उपन्यासले यौन र अर्थतन्त्रको मुद्दा उठाएको समीक्षक डा. ज्ञवालीले बताए । सुवेदीका समालोचनात्मक तथा साहित्यिक कृति गरी करिब ५० पुस्तक प्रकाशित छन् ।

Logo