गुलाबी उमेर : कहिले आउँछौ त फेरि ? – ‘मेरो जीवनको बाटो एकतर्फी छ’

गुलाबी उमेर : कहिले आउँछौ त फेरि ? – ‘मेरो जीवनको बाटो एकतर्फी छ’


  • कृष्णसिंह धामी ।

काठमाडौं । आँधीलाई झैँ सम्हाल्न गाह्रो । तर सम्हालिसकेपछि बहारजस्तै सुवासिलो लाग्ने उमेर यही हो । ……यो गीत बज्दा सबैको मन एक पटक निकै फुरुङ्ग भयो र गीतको आनन्दसँगै सबै आफ्नो गुलाबी उमेर याद गर्न थाले ।

–‘मनको पोखरीमा जूनको प्रतिबिम्बझैँ देखिने मेरो बाल्यकाल फेरि भोग्न, जति जाल फ्याँके पनि माछालाई झैँ बाहिर झिक्न सक्दिन; म के गरूँ ?’

–‘त्यसो भए मनको पोखरीमा देखिने जूनलाई मनकै किनारामा बसेर हेर्नू ।’

त्यही बेला मञ्चमा रहेकी कार्यक्रम होस्ट झण्डै अढाई दशक पार गरेकी युवती आफुलाई १३ वर्षे गुलाबी उमेरमा ढाल्न पुगिन् । आफ्नो उमेरलाई झण्डै आधा घटाउन कहाँ सजिलो हुन्छ र । तर पनि उनले १३ वर्षे गुलाबी उमेरसँग कुरा गरेरै छाडिन् ।

१३ वर्ष

–‘म त तिमीलाई जानै दिन्न केरे !’

–‘तिमीले जान दिए पनि, नदिए पनि; तिमीले समाए पनि, नसमाए पनि म त गइरहेको हुन्छु, तिमी ब्यूँझेको बेलामा पनि र निदाएको बेलामा पनि गइरहेको हुन्छु ।’

–‘तिमी त मै हौ नि; के मेरा लागि रोकिन सक्दैनौ ?’

–‘नदीले आफैंलाई बग्नबाट कहाँ रोक्न सक्छ र ? म त नदी हुँ; तिम्रो उमेर हुँ ।’ …जोडले हुटिङ गर्दै ताली बज्छ ।

–‘कहिले आउँछौं त फेरि ?’

–‘मेरो जीवनको बाटो एकतर्फ छ ।’

गडगड ताली बज्यो । पूरै कार्यक्रमको माहोल नै गुलाबी उमेरमय बन्यो । त्यहाँ उपस्थित धेरैले त आफ्नो १३ वर्षे उमेर यसरी नै सम्झिए । भने केहीले भविष्यमा आउने आफ्नो गुलाबी उमेरको कल्पना गरे । कस्तो अचम्म आफ्नो उमेर पनि आफ्नो वशमा नहुने । नदी र जीवनको बाटो सधैँ एकतर्फी हुन्छ । नत कसैले रोक्न सक्छ नत फर्किएर नै आउँछ । यही गुलाबी उमेर ।

१३ वर्षे गुलाबी उमेरसँग कुरा गरिरहँदा नायिका केकी अधिकारीले पनि आफ्नो गुलाबी उमेरलाई यसरी नै सम्झिइन् । केकीले अमर न्यौपानेको उपन्यास गुलाबी उमेर पढेर सकेपछि पुस्तक एकदमै फरक लागेको प्रतिक्रिया दिइन् । ‘पुस्तक पढिरहँदा मलाई आफैं किशोरवयमै फर्किएको अनुभूति भयो,’ उनले भनिन्, ‘मलाई लाग्छ, यो पुस्तकमा प्रत्येक किशोरीले आफूलाई भेटाउँछन् भने महिलाहरूले आफ्नो किशोरावस्थाका घटना परिघटनालाई सम्झन्छन् ।’

जब केकीलाई अमर न्यौपानेको फोन आयो । त्यो बेला केकीले आफूलाई गुलाबी उमेरकी किशोरी पाइन् । केकीको मोवाइलमा नयाँ नम्बरबाट कल आयो । ट्रयु कलरका कारण अमर न्यौपाने नाम देखायो । त्यसपछि केकीले निकै हतार गरेर कल रिसिभ गरिन् । जसरी गुलाबी उमेरमा पहिलो पटक आफूले चाहेको केटाको कल आउँदा कस्तो प्रकारको ढुकढुकी हुन्छ ? त्यस्तै अनुभूति गरेर कल उठाइन् ।

कल उठाएपछि उनलाई लोकार्पणको लागि निम्ता आयो । र, उनले स्वीकार गरिन् । केकीले यसरी आफ्नो भावना व्यक्त गरिसकेपछि फेरि १४ वर्षे गुलाबी उमेरको चर्चा आयो । १३ वर्षे किशोरीले त आफ्नो १३ वर्षे गुलाबी उमेरसँग कुरा गरिन् । अब १४ वर्षे किशोरीले पनि आफ्नो गुलाबी उमेरसँग कुरा गर्नैपर्यो नि !

१४ वर्ष

–‘घाम अस्ताएपछि पनि कहाँबाट आयो यो उज्यालो ?’

–‘यो त तिम्रै उमेरको उज्यालो हो ।’

–‘बत्ती निभाएपछि आउने उज्यालो नि ?’

–‘यो पनि तिम्रै उमेरको उज्यालो हो ।’

–‘अनि यो असिनापानी र चट्याङको उज्यालो ?’

–‘यो पनि तिम्रै उमेरको उज्यालो हो । तर यो कुरा नबिर्सनू, उमेरसँगै जति उज्यालो हुन्छ, त्यति नै अँध्यारो पनि हुन्छ ।’ फेरि ताली बज्छ…..।

साहित्यकार कृष्ण धरावासीले पनि उमेरको उज्यालो र अँध्यारो सम्झिए । ‘गुलाबी उमेर’ किशोरीको मनोविज्ञानमा आधारित रहेको बताउँदै धरावासीले भने, गुलाबी उमेरको समयमा किशोरीहरूको मनोविज्ञान कसरी विकास हुन्छ ? वर्षाैपिच्छे उनीहरूको व्यवहार कसरी परिवर्तन हुन्छ र उनीहरूले आफ्नो परिवारसँग कस्तो व्यवहार गर्छन्, त्यो यो पुस्तकले देखाउने प्रयास गरेको छ ।’

किशोरीले फेरि आफ्नो १५ वर्षे गुलाबी उमेरसँग कुरा गर्न अघि सर्छिन् । १५ वर्षे किशोरी आफ्नो गुलाबी उमेरलाई संसारको सबैभन्दा महान् प्राप्ति के हो ? भनेर प्रश्न गर्दा गुलाबी उमेरले यस्तो जवाफ दिन्छ ।

१५ वर्ष

–‘संसारको सबैभन्दा महान् प्राप्ति के हो ?’

–‘आफूलाई पाउनु ।’

–‘कसरी थाहा पायौ ?’

–‘भर्खर मैले आफूलाई पाएकी छु नि त । आफूलाई पाउँदाजस्तो आनन्द त प्रेमी, पति र सम्पत्ति पाउँदा पनि हुँदैन होला ।’

–‘यो तिम्रो अनुमान मात्र पनि त हुन सक्छ ?’

–‘आफूलाई पाउँदाको आनन्द कल्पनाभन्दा पनि माथि हुँदो रहेछ । प्रेमी, पति र सम्पत्ति पाउँदाको आनन्द कल्पनाभन्दा माथि हुन सक्दैन रे । कहिलेकाहीँ मोहवश कल्पनाभन्दा माथि जस्तो लागे पनि, त्यो केवल भ्रम मात्र हो रे । तर आफूलाई पाउनु भ्रम होइन । त्यसैले आफूलाई पाउनु संसारको सबैभन्दा महान् प्राप्ति हो ।’

यसरी नै १३ वर्षदेखि १९ वर्षको उमेरलाई गुलाबी उमेर भनिएको छ । अमर न्यौपानेको उपन्यास ‘गुलाबी उमेर’ मा १३ वर्षदेखि १९ वर्षसम्मको किशोरीका मनमा आउने फरक–फरक भाव दर्साइएका छन् ।

शनिवार काठमाडौंमा लोकार्पण गरिएको ‘गुलाबी उमेर’ मा किशोरीको मनोविज्ञान, भावना, सोच आदिबारे समेटिएको छ । लेखक न्यौपानेले आफूले १२ वर्षसम्म पढाउँदा किताबको कुरा पढाएको र किताबकै गृहकार्य दिए पनि विद्यार्थीहरूले भने आफूलाई जीवनको कुरा पढाएर जीवनकै गृहकार्य दिएको बताए । उनले भने, ‘मैले भनेर गृहकार्य दिएँ, उनीहरूले नभनेरै गृहकार्य दिए । यो उपन्यास विद्यार्थीहरूले दिएको त्यही गृहकार्य हो ।’

पुस्तकमा लेखकले एउटी किशोरीको हुर्कंदो उमेरको कथा समेटेका छन् । जहाँ बाल्यकालबाट किशोर अवस्थामा प्रवेश गर्दा एउटी किशोरीमा देखा पर्ने मानसिक तथा शारीरिक परिवर्तन र उतारचढावको कथा बुनिएको छ । यही उमेरको कथा नै ‘गुलाबी उमेर’ हो ।

Logo