साहित्यकार बिना थिङलाई सात प्रश्न

साहित्यकार बिना थिङलाई सात प्रश्न

केन्द्रबिन्दु
0
Shares

आख्यानकार बिना थिङ तामाङ कविता तथा विचारप्रधान लेखका लागिसमेत चर्चित छिन् । लेखनका अतिरिक्त शिक्षण पेसामा आवद्ध बिनाले थुप्रै सम्मान तथा पुरस्कार प्राप्त गरेकी छन् । नेपाली आख्यान क्षेत्रकी सशक्त हस्ताक्षर बिनासँग हामीले पुस्तक पठनका विषयमा सातवटा प्रश्न गरेका थियौँ ।

१. तपाईंले पछिल्लोपटक कुन पुस्तक पढ्नुभयो ?

सोभियत रुसी लेखक माक्सिम गोर्कीको आत्मजीवनी । जुन तीन भोलुममा छ । त्यसमध्ये पहिलो भोलुम ‘बालककाल’ पढें । यो अनुवादित पुस्तक हो ।

२. तपाईंले उक्त पुस्तक कसरी छनोट गर्नुभयो ?

यस पुस्तकको बारेमा मैले धेरैअघि लेखक लक्ष्मण श्रेष्ठबाट सुनेकी हुँ । तर भेटिरहेकी थिइन । गत महिना म प्रगति सदनमा पुग्दा यो पुस्तक भेटेँ ।

३. उक्त पुस्तकको सार के पाउनुभयो ?

सफल नायक हुनु भनेको कठिन परिस्थितिहरू छिचोलेर आइपुग्नु हो । यस पुस्तकमा गोर्कीले आप्mनो बाल्यकाललाई औपन्यासिक ढङ्गबाट प्रस्तुत गरेका छन् । पुस्तकले उन्नाइसौं शताब्दीका आठौं र नवौं दशाब्दीको रुसको अनुहार प्रस्तुत गरेको छ । गोर्कीले बाल्यकालमा केकस्ता जटिलताहरू भोगे ? एउटा धारिलो औजारको रूपमा आफूलाई परिणत गर्न उनले कुन हदसम्मको छटपटी, हैरानी र अभावको राप खेपे ? ती प्रश्नहरूकोे काव्यिक उत्तर हो, यो पुस्तक ।

४. उक्त पुस्तकको कुन कुराले छोयो र किन ?

संस्मरणको नाममा हामी पाठकहरूलाई जबरजस्ती गर्दै छौँ । उनीहरूको समय बर्बाद पार्दै छौँ । पाठकले किन कसैको जीवनी पढ्ने ? के कहिले त्यसबारे सोचेका छौँ ? छैन । यसबारे लेखकहरू सचेत हुनुपर्छ । सबैलाई आपूmले गरेको जीवन संघर्ष ठूलो लाग्छ । आपूmले भोगेका जटिलताहरू भयावह लाग्छन् । तर यस्तो त सबैसँग कतै न कतै कुनै न कुनै समयमा भइरहेकै हुन्छ । त्यसैले यो पट्यारलाग्दो कुरा हुन पुग्छ ।

गोर्कीको पुस्तक पढिरहँदा भने मलाई कुनै झुर जीवनी पढिरहेछु भन्ने कत्ति पनि लागेन । बरु मलाई यसले उनका आत्मपरक जीवनी ‘मान्छेहरूको माझमा’ र ‘मेरो विश्वविद्यालय’ पढ्न उत्पे्ररित गरेको छ । हुटहुटी जगाएको छ । यस्तो मलाई पहिलोपटक भएको छ । यस्तो किन भैदियो भन्दा यस पुस्तकमा गोर्कीले मसिनोसँग त्यतिबेलाको समाज एवं चिन्तन प्रस्तुत गरेका छन् । आफ्ना सजिला, अप्ठ्यारा अनुभूतिहरू चित्रमय ढङ्गले प्रस्तुत गरेका छन् । साथै यसमा उनले प्रयोग गरेका शब्द, वाक्यहरू लामो समयसम्म स्मरण हुने, ह्रृदयमा छाप पर्ने गरि प्रयोग गरेका छन् । यो अत्यन्तै जटिल कार्य हो ।

५. पुस्तकमा कुन पक्ष सुधार गर्नुपर्ने लाग्यो ?

मलाई त्यस्तो लागेन । पुस्तकको कभर डिजाइनिङ, भाषा सम्पादन अथवा यसको भौतिक पक्षमा चाहने हो भने खोट निकाल्न सकिन्छ । तर मुख्य कुरो त यसको टेक्स्ट नै हो । जसले मलाई पूर्ण रूपले प्रभावित पारेको छ ।

६. यो पुस्तकलाई रेटिङ गर्नुपरे २० पूर्णाङ्कमा कति नम्बर दिनुहुन्छ ?

एउटा असल पाठकको हैसियतले पूर्णाङ्क दिनुको विकल्प छैन मसँग ।

७. हाम्रा पाठकलाई पुस्तक छनोट गर्न केकस्ता तरिका सुझाउनुहुन्छ ?

पाठकको आआफ्नो रुचि हुन्छ । पुस्तक छनोटमा विषयवस्तु वा विधागत प्रभाव पर्छ नै । पहिले पहिले म लेखकबाट प्रभावित हुन्थेँ । तर यसो गर्दा म पटक पटक झुक्किएँ । पैसासँगै समय खेर जाँदा म निकै दुःखी भएँ । त्यसयता समय नष्ट नहोस् भन्नाका खातिर मैले साथीभाइ (जो पुस्तकलाई संवेदनशील भएर आत्मसात् गर्छन्) को सिफारिसलाई महत्व दिन थालेकी छु । यसो गर्दा म निकै नै कम चुक्चुकाएकी छु ।

कहिलेकाहीँ आफूसँग प्रशस्त पैसा हुँदा पुस्तक पसल बेस्सरी चहार्छु । नाम चलेका तर आफूले पढ्न नपाएका क्लासिक बुक आँखा चिम्लेर किन्छु । मैले आजसम्म समीक्षा पढेकै भरमा पुस्तक किनेको याद छैन ।

Logo