ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँद्वारा ‘ताप्लेजुङ’ पुस्तक विमोचन, डा. रुइत सम्मानित

ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँद्वारा ‘ताप्लेजुङ’ पुस्तक विमोचन, डा. रुइत सम्मानित

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले ‘ताप्लेजुङ’ पुस्तक विमोचन गरेको छ । ताप्लेजुङ जिल्ला र त्यस क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विविधतासम्बन्धी विषय समेटिएको उक्त पुस्तकको काठमाडौँमा शनिबार एक कार्यक्रम गरी विमोचन गरिएको हो ।

सो अवसरमा आँखा उपचारका क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा. सन्दुक रुइतलाई अभिनन्दन गरेको छ । सभामुख देवराज घिमिरेले उनलाई अभिनन्दन गरेका हुन् ।

ताप्लेजुङ ओलाङचुङगोलामा जन्मेर विश्वस्तरीय आँखा अस्पतालको विकास र बिरामीको उपचार गरी नेपाललाई आँखा उपचारसम्बन्धी संसारकै शैक्षिक ‘हब’का रूपमा विकास गर्न उनी सफल भएका छन् । न्यून मूल्यमा विश्वस्तरीय लेन्स उत्पादन गरी मोतिबिन्दुको शल्यक्रियामा सरलीकरण गर्दै सीमान्तकृत व्यक्तिका लागि ‘दृष्टिका देवता’का रूपमा डा. रुइत चिनिएको अभिनन्दन पत्रमा उल्लेख गरिएको छ । डा. रुइतले यसअघि एसियाको सबैभन्दा ठूलो ‘रामोन मेगसेसे पुरस्कार’ र बहराइन सरकारबाट प्रदान गरिएको ‘इसा अवार्ड’ का साथै भारत सरकारबाट पद्मश्री पदक र विभिन्न मुलुकबाट पुरस्कार र सम्मान पाइसकेका छन् ।

सो अवसरमा प्रमुख अतिथि रहेका सभामुख देवराज घिमिरेले हिमाली र पहाडी जिल्लाका रूपमा ताप्लेजुङ सौन्दर्य, मनमोहक र आकर्षणसहित विविधतायुक्त रहेको र अहिलेसम्म आइपुग्दा गरिबी र अभावका कारण पछि परे तापनि यसको भविष्य भने सुन्दर रहेको बताए ।

यस्तै, डा. रुइतले कञ्जनजङ्गा हिमाल क्षेत्रको सदुपयोग गरी राष्ट्रले लाभ लिने र तमोर करिडोर सडक निर्माणलाई छिटो सम्पन्न गर्ने कार्यमा ध्यान पुर्‍याउन सरकार, संसद् र राजनीतिक दललाई सुझाव दिए । कार्यक्रममा बोल्दै नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री योगेश भट्टराईले देशका प्रमुख दुई राजनीतिक दल मिलेर गठन भएको वर्तमान सरकारले राजनीतिक स्थायित्व र समृद्धिका क्षेत्रमा योगदान दिन सकियोस् भन्ने हेतुले काम गरिरहेको बताए ।

सोही क्रममा सरोकार केन्द्रका अध्यक्ष टङ्क श्रेष्ठले ताप्लेजुङको भाषा, संस्कृति, वेशभूषा, राजनीतिक, आर्थिक, सामाजिक पक्षलाई समेटेर प्रकाशित गरिएको पुस्तकको अध्ययनबाट सो क्षेत्रको इतिहासबारे बुझ्न र बुझाउन सहज हुने बताए ।

Logo