उपन्यास अंश: बुबा हामीलाई अंश चाहियो

उपन्यास अंश: बुबा हामीलाई अंश चाहियो

केन्द्रबिन्दु
0
Shares

अचानक एक दिन माइलो छोरो सुनिलको फोन आयो । ऊ काम गरिरहेको कम्पनी अचानक बन्द भएर नेपाल फर्केको रहेछ ।
मलाई भन्यो– “बुबा, म अहिले नेपाल आइरछु । आज तपाईं घरै बस्नुहुन्छ ?”

“अहिले तँ काँ’ छस् ? कहिले आएको ? के भएर फर्केको ?” मैले एक्कैचोटि प्रश्नको वर्षा गराएँछु ।

“आएको त दुई हप्ता जति भो । बिर्तामोडमा बबितासँगै छु ।” उसले भन्यो– “काम गर्दै गरेको कम्पनी बन्द भएर आएको । भान्जा काकाले एकडेढ महिना जति बस, अर्को राम्रो कम्पनीमा पठाइदिन्छु भन्नुभएको छ । त्यै भएर…. ।”

उसले अरू केही भन्न खोज्दै थियो । मेरो मन अमिलो भएर आइहाल्यो । विदेशमा छँदा हामीलाई सम्झेर एकचोटि पनि फोन नगरेको, बुहारीलाई मात्र पैसा पठाएको, ऋण निखन्न सहयोग नगरेको लगायतका सबै कुराहरु मनमा उर्ले । टन्टालापुर घाम लागिरहेका बेला बिरिङ खोलामा एक्कासि बाढी उर्लिएर आउँछ नि, त्यस्तै भएर । भन्दिएँ– “फर्केर आएको १५ दिनपछि मात्रै हामी आमाबाबुको याद आयो ?”

“हैन बुबा, आएकै भोलिपल्ट ससुरालीतिर गइयो । फर्केर आउन तीन–चार दिन लागिहाल्यो ।” उसले सफाइ दियो– “त्यसपछि भान्जा काकालाई भेटेर पासपोर्ट बुझाउँदा, यताउता गर्दा दुई हप्ता त यत्तिकै बितिहाल्यो ।”

मलाई भाउन्न भएर आयो । छोराको नियत देखेर । “हामी जन्म दिने बाबुआमा भन्दा ससुराली प्यारा भए है तेरा लागि ?” भन्दिन मन थियो । तर भनिनँ ।

बरु सोधें– “अहिले चैं के काम परेर हामीलाई सम्झिस् बाबू ?”

“बुबासँग एउटा सल्लाह छ, त्यै भएर ।” उसले कुराको पोको खोल्न खोल्यो ।

“सल्लाह छ भने घरमा आउन सक्तैनस् ?” अब भने म अलि रिसाइदिएँ– “तेरो लागि अब घर, बाबुआमा सब पराई भयौं है ?”

“त्यै भएर त फोन गरेको नि बुबा ।” उसले भन्यो । बोली अलि डराएजस्तो सुनियो ।

“आफ्नो घर आउन पनि तिमेरलाई फोन गर्नुपर्ने भयो हगि ?” मैले फेरि कटाक्ष गरें ।

“ल बुबा, म आइहालें तुरुन्तै ।” उसले फोन काट्यो । “हैन, अरूका छोरा पनि यस्तै हुन् कि हाम्रा मात्रै यस्ता ? विदेशबाट आएको यतिका दिनपछि सम्झन्छ वा !” मैले मोबाइल गोजीमा थन्क्याउन नभ्याउँदै बुढियाले भनी । उसले अघिदेखि फोन कुराकानी सुनिराखेकी रहिछ ।

“उसलाई के स्वार्थ पर्यो अनि सम्झियो नि ।” गाईका लागि कुटी काट्न जाँदै गर्दा मैले भनें– “नत्र किन सम्झिन्थ्यो हामीलाई ?”
नभन्दै फोन राखेको एक घण्टा नबित्दै ऊ आँगनमा आइपुग्यो । मोटरसाइकलमा ।

“के सल्लाह हो भन् ।” ऊ आइपुगेपछि मैले सोझै कुरा गर्न खोजें, कुनै भूमिका नबाँधी । किनकी ऊ आउँदासम्म पनि मेरो मनको भित्री तहमा जमेको रिस पग्लिसकेको थिएन ।

“बबिता यहाँ आएर बस्न नसक्ने रे । उनले बिर्तामोडतिर एउटा सानो घर हेरेकी रैछिन् । मैले पनि हेरें, राम्रै रैछ । किन्नका लागि दस लाखजति नपुग्ने भो । बुबाले हामीले पाउने अंशको जग्गा बेचेर पैसा दिनुहुन्थ्यो कि भनेर ।” उसले पनि आफ्ना कुरा नलुकाई सोझै राख्यो ।

“ए, तँलाई र तेरी स्वास्नीलाई अहिल्यै अंश चाहियो ? मैले र तेरी आमाले हाड घोटीघोटी जोडेको जग्गा बेचेर तिमेरलाई भन्ने बित्तिकै अंश दिनुपर्ने ? के सोचेका छौ तिमेरले ?” त्यसबेला मलाई यसै भन्न मन लागेको थियो ।

छोराका कुरा सुन्दा बुढियालाई पनि रिस उठिरहेको रहेछ । उनी छेउमा उभिएर चुपचाप हाम्रा कुरा सुनिरहेकी थिइन् । “आफू विदेश जाँदा लागेको ऋण तिर्न त सघाइनस्, हामी दुख बिमार हुँदा तेरी स्वास्नी हामीलाई के कस्तो छ भनेर हेर्न समेत आइन । अहिले कुन मुखले अंश माग्न आइस् ?” भन्दिउँ कि भनेर सोच्दै थिएँ भन्दै थिइन् ।

साफसँग झपारिदिन मन लागेको थियो मलाई पनि । “भन्ने बित्तिकै कसले किन्छ र ? तँलाई मैले दस लाख रुपियाँ दिनु ?” मनभित्रको उकुसमुकुस दबाउँदै यति मात्रै भनें, “मलाई बिदेश पठाउनका लागि लिएको ऋण बाउआमाले कसरी तिरे होलान् भनेर कहिल्यै सोचिस् ? के त्यो ऋण तिर्ने कर्तव्य तेरो थिएन ?”

मेरा कुरा सुनेपछि उसले कालो अनुहार पारेर घोसेमुन्टो लगाइरह्यो । केही बोल्नै सकेन । केही बोल्ने ठाउँ राखेको भए पो बोलोस् !

“अधिकार माग्नु भन्दा पहिला कर्तव्य पनि पूरा गरेको हुनुपर्छ ।” एकछिनपछि म आफैँले भनेँ– “तिमेरले हामीसँग अंशको कुरा गर्न एक औंली बराबरको पनि ठाउँ राखेका छैनौ ।”

“मैले ठूल्दाइसँग पनि कुरा गरिसकें । उहाँले पनि बुबाआमाले बेकारमा दुःख गरेर किन बस्नुपर्या होला भन्दै हुनुहुन्थ्यो । उहाँलाई पनि घरको तला थप्न पैसाको खाँचै पर्य छ रे ।” सुनिलले आफूलाई मात्र नभएर दाजुलाई पनि अंश आवश्यक भएको औचित्य पुष्टि गर्न खोज्यो । भूमिका बाँधि सकेर भन्यो– “हजुरले हामीलाई अंश मात्र गर्दिनुस् न । बेच्ने व्यवस्था हामी आफैं गरिहाल्छौं नि ।”

म केही बोलिनँ । उनीहरूको नियत र एकता देखेर टीठ लागिरहेको थियो ।

सुनिलले फेरि थप्यो– “बबिताले पनि भन्दै थिई, बिर्तामोडकै कोही मान्छेले किन्न भनेर हाम्रो जग्गा मन पराएर हेरिसकेको छ भनेर ।”
म फिस्स हाँसें । अनि बुढियाको अनुहारतिर हेरें । उनी झनै छक्क परिरहेकी थिइन् ।

“हामीलाई रुवाएर हिँड्ने स्वास्नीको फुर्ती लगाउन तँलाई लाज लाग्दैन ?” बुढियालाई भन्न मन लागेको रहेछ । उकुसमुकुस भएर घाँटीसम्म आइसकेको वाक्य पनि रोकिछन् । बरु बिस्तारै भनिन्– “तेरी स्वास्नीको चाला उति निको छैन बाबु । उसको भर गरिस् भने दुःख पाउँछस् ।”
मनमा खेलेका कुरा उनले मलाई छोरो फर्किसकेपछि सुनाएकी ।

“ह्या, आमाले पनि के कुरा गरि राख्नुभा को ?” छोरालाई उसकी आमाले बोलेको सत्य तीतो लागेछ । गुर्जाको झोल मुखमा हाल्दा जस्तै बनायो अनुहार ।

“राम्रो कुरा त तिमेरलाई कहाँ मनपर्छ त ?” मैले बुढियाकै कुरा समर्थन जनाएँ । “बुबा मलाई दस लाख रुपियाँ त एक महिनाभित्रमा जसरी पनि चाहियो ।” मोटरसाइकलको साँचो हातमा खेलाउँदै उसले समस्याको बिस्कुन फिँजायो– “उताबाट कमाएर ल्याएको दस लाख रुपियाँ मैले बैना दिइसकें । एक महिनाभित्रमा पास गर्न सकिनँ भने मेरो बैना पनि पच हुन्छ ।”

उसका कुरा सुन्दा मलाई दिक्क लागेर आयो । पिसाबले च्यापेजस्तो पनि भयो । बसेको ठाउँबाट उठेर शौचालयतिर जान लाग्दै गर्दा भन्दिएँ– “म के गरूँ त ? बैना दिनु भन्दा अघि बुबा म के गरूँ भनेर सल्लाह लिइनस् । मागेको भए तेरो कुभलो हुने गरी सल्लाह दिने थिइनँ क्यारे ।”

म उठेर हिँडेपछि पछि बूढी पनि भान्सातिर लागिछन् । सुनिल झोक्राइरहेको थियो, हातमा मोटरसाइकलको चाबी खेलाउँदै ।

“आमा मोही छैन ? काठमाडौं एयरपोर्टमा झरेदेखि तपैंको हातले बनाको मोहीको याद आएर ।” सुनिलले उसकी आमालाई भनेको सुनें, ट्वाइलेटबाट निस्कँदै गर्दा ।

आमाचाहिँको माया छचल्किएछ क्यारे । भान्साको ढोकामा आएर छोराको अनुहार नियालेर हेरिन् । एकदमै मायालाग्दो पाराले । सायद उनलाई त्यसबेला आफ्नो छोरा निर्दोष, बालख र मायालाग्दो लाग्यो होला । आमाको मन न हो, छोरा र बुहारीले विगतमा गरेका उपेक्षाका व्यवहार सबै बिर्सिन् ।

मैले चिया खाने गरेको स्टिलको ठूलो गिलासमा मोही ल्याएर छोरालाई दिइन् उनले । उसले एकछिन पनि नबिसाई पियो । उनले एकोहोरो पाराले हेरिरहिन् ।

पिइसकेर उसले मुख मिठ्यायो । आमाचैंले फेरि सोधिन्– “अझै ल्याऊँ ?”

उसले टाउका हल्लाएर “हस्” को सङ्केत गर्यो । बुढियाले स्टिलको आरीमा राखेको मोही ल्याएर छोराको गिलासमा खन्याइदिइन् । उसले थप दुई गिलास पियो । त्यो प्यास देख्दा आमाको छातीभित्र करुणाको छाल उठ्यो क्यारे । जुठो गिलास र आरी बोकेर हतारहतार भान्साभित्र पसिन् ।

म चैं त्यस बेला आमा–छोराको चालमाला हेर्दै थिएँ । गाईका डुँडमा भएको खाई नसकेको पुरानो कुटी निकालेर सफा पनि गर्दै थिएँ । त्यसबेला गोठमा एउटा मात्र गाई थियो । बुढिया बिरामी भएर काठमाडौं गएदेखि मैले त्यही एउटा गाई मात्र पालेको थिएँ ।

“बुबा म के गरूँ त ?” मैले वास्तै नगरेपछि सुनिलले छेउमै आएर सोध्यो ।

“तँ विदेश जाँदाको ऋणको साउँ ब्याज तिर्दा, मेरो खुट्टो भाँचिएर थला परेका बेला उपचार गर्दा, आमालाई दबाई पानी गर्दा मेरो ढाड सेकिएको छ । चार महिनामा एकचोटि आउने तलब ऋणपान तिर्दा र घरखर्चमा चुँडचाड गर्दैमा सकिन्छ । आफू खट्न नसकेपछि खेतीबाट आउने पनि एकचौथाइ मात्रै हो । यति बेला म तँलाई चाहेर पनि केही गर्न सक्नेवाला छैन ।” नभनुँ भन्दा भन्दै पनि मैले यति चैं नभनी रहन सकिनँ ।

“आखिर पछि भए पनि गर्दिने हो, अहिले भए पनि गर्दिने हो ।” उसले आफ्नो जिद्दी छाडेन– “बेलैमा अंश गर्दिनु भो भने हामीले पनि आ–आफ्नो व्यवस्था गर्न पाउँथ्यौं ।”

“अंशको त कुरै नगर । अंश भन्ने कुरा तिमेरले चाहेर पाउने होइन, हामीले आफ्नो खुसीले दिने हो ।” मैले प्रस्टैसँग भनिदिएँ– “हामीले दुःख गरेर कमाएको सम्पत्तिमा हाम्रो निर्णय हुन्छ, तिमेरको होइन ।”

त्यसबेला म थलाको गोबर उठाएर गोबरग्यास ट्याङ्कीमा हाल्दै थिएँ ।

मैले पुलुक्क अनुहारमा हेरें । उसको अनुहार लैनो भैसीको गोबरको थाप्रोजस्तै भएको थियो । एकछिनसम्म केही बोल्नै सकेन ।

(अविरलको हालै सार्वजनिक भएको उपन्यास छलीयुगबाट)

Logo