पोखरा । एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ यस वर्ष फागुन १५ देखि १८ सम्म पोखरामा आयोजना हुने भएको छ ।
फेस्टिभलको बाह्रौं संस्करणलाई थप विशेष र उत्साहजनक बनाउने आयोजक बुकवर्म फाउन्डेसनकाे लक्ष्य छ । अघिल्ला संस्करणहरूमा जस्तै यसपटक पनि फेस्टिभल बाराहीघाट, लेकसाइडमा हुनेछ, जहाँ देश–विदेशका साहित्यानुरागीको जमघट हुनेछ । सूचना सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले फेस्टिभलको उद्घाटन गर्नेछन् ।
एनसेल फाउन्डेसन प्रमुख प्रस्तुतकर्ता रहेको फेस्टिभललाई बुध्द एयरले सम्वद्र्धन गरेको छ । पोखरा महानगरपालिका प्रवद्र्धक रहेको फेस्टिभलमा गण्डकी प्रदेश सरकार सहप्रवद्र्धक छ । त्यस्तै उप–प्रवद्र्धकका रूपमा नेपाल पर्यटन बोर्ड, कृषि विकास बैङ्क, ग्लोबल आइएमई बैङ्क र प्रभु बैङ्कले आयोजकलाई साथ दिनेछन्।
यस पटक फेस्टिभलमा देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ । त्यस्तै ५० भन्दा बढी छलफल सत्र, अन्तक्र्रियात्मक कार्यक्रम, साङ्गीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम पनि समावेश छन् ।
यस पटक प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाको विद्वत्प्रवचनसँगै फेस्टिभल सुरु हुनेछ । उनी इन्दिरा गान्धी ओपेन यूनिभर्सिटी (आईजीएओयू)को प्रो–उपकुलपति र भारतको सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपति समेत हुन् । उनी भारतको राष्ट्रिय केन्द्रीय विश्वविद्यालयको सबैभन्दा कान्छा उपकुलपति समेत बनेका थिए ।
विद्वत् प्रवचनलगत्तै अध्यात्म र सङ्घर्षमाथि मनीषा कोइराला र विजय कुमारको विशेष संवाद आकर्षणको केन्द्र बन्ने बुकवर्म फाउन्डेसनको विश्वास छ । यसैगरी नेपाली सिनेमाका महानायक राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’को आवरण तथा पुस्ताकांश लोकार्पण पनि विविध विशेष सत्रमध्ये एक हो । हमालको पुस्तक प्रकाशोन्मुख छ ।
उद्यमी एव लेखक जीवा लामिछानेको बहुप्रतीक्षित पुस्तक ‘अक्षत अन्टार्कटिका’को लोकार्पण पनि फेस्टिभलको आकर्षण रहनेछ ।
नेपाली क्रिकेटका ढुकढुकी पारस खड्का हुन् या साहित्यानुरागीबीच चर्चित भूषिता वशिष्ठ, समाजसेवालाई आफ्नो कर्म बनाएका डा। भगवान कोइरालादेखि म्यागी डोएनसम्मका व्यक्तित्वहरूका प्रेरणादायी संवाद फेस्टिभलमा रहनेछन् । म्यागी अमेरिकन समाजसेवी हुन् । सुर्खेतस्थित एक बालगृहको सहसंस्थापक उनी सन् २०१५ को सीएनएन हिरो घोषित भएकी थिइन्।
नेपाली अमेरिकी लेखक रञ्जन अडिगाको सहभागिता फेस्टिभलका दुई सत्रमा रहनेछ। उनको छोटो कथा संग्रह, ‘लिच एण्ड अदर स्टोरीज’माथि उनी र भूषिता वशिष्ठबीच संवाद हुनेछ । उनका कथा र लेखहरू स्टोरी क्वार्टरली, द न्यू योर्क टाइम्स, हफी पोस्ट, द साल्ट लेक ट्रिब्यून, लगायतमा प्रकाशित छन् । उनी वेस्टमिन्स्टर विश्वविद्यालय, साल्ट लेक सिटी र युटामा रचनात्मक लेखनविधि पढाउँछन्।
फेस्टिभलमा साहित्यसँग जोडिएका सामाजिक, राजनीति, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि गम्भीर मन्थन हुनेछ, जहाँ दैनिक हजारौँ साहित्यानुरागीको सहभागिता रहने आयोजकको विश्वास छ ।
सिर्जनाको अर्को विधा चित्रकला सधैं फेस्टिभलको आकर्षण बन्दै आएको छ । यस संस्करणमा परम्परागत पौभा चित्रका विश्व प्रसिद्ध कलाकार लोक चित्रकारका चित्र प्रदर्शनीमा राखिनेछन् । उनका चित्रले फेस्टिभलमा विशेष रङ थप्ने विश्वास लिइएको छ।
साङ्गीतिक कार्यक्रमहरूमा प्रोजेक्ट सारङ्गीअन्तर्गत किरण नेपालीको नेतृत्वमा सामूहिक प्रस्तुति हुनेछ । त्यस्तै नेपाली सङ्गीत जगत्का पप–सम्राट्का रूपमा परिचित ओमविक्रम विष्टले पनि फेस्टिभललाई गुञ्जायमान बनाउनेछन् ।
परम्परागत धुन र लयहरूलाई समकालीन परिवेश सुहाउँदो स्वरूप दिने साङ्गीतिक समूह ‘सोनागी ब्लुज’ले पनि फेस्टिभलमा प्रस्तुति दिनेछ । काठमाडौँ विश्वविद्यालयको सङ्गीत विभागका विद्यार्थीहरूको सामूहिक परियोजनाका रूपमा सुरु भएको यस ब्यान्डको सङ्गीतमा नेपाली लोक, रक र भारतीय शास्त्रीय सङ्गीतको समिश्रण सुन्न सकिन्छ ।
फेस्टिभलमा वरिष्ठ वामपन्थी नेता एवम् नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा लिखित उपन्यास ‘कामरेड जलजला’माथि विमर्श हुनेछ। उमेरले ८९ टेकेका सिंहको यो उपन्यास नेपालमा प्रकाशित सबैभन्दा ठूलो पुस्तक भएको बताइन्छ।
साथै यस संस्करणमा उमेरले भरखरै ६ वर्ष पुगेकी लेखक भूमिलक्ष्मी पराजुलीको पुस्तक ‘मरमेड, ह्वेल एन्ड प्रिन्सेस’ नामक चित्रकथा पनि पुस्तक सार्वजनिक भएकाे छ ।
यस पटक फेस्टिभलमा विद्यार्थीहरूसँग पुस्तक, कथा, कविता अनि समग्रमा पठन संस्कृतिका कुराकानी पनि गरिने छ । उनीहरूका शिक्षक अनि अभिभावकसँग विद्यालय अनि घरमा शैक्षिक वातावरणबारे विमर्श हुनेछ । फेस्टिभलले उपलब्ध गराएको यस मञ्च नयाँ पुस्ताका लेखक तथा विचारकहरू तयार पार्ने माध्यम बन्ने बुकवर्मको अपेक्षा छ।
सुरुवातदेखि नै फेस्टिभलले अग्रज तथा समकालीन लेखकहरूको साथसहयोग पाएको फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारी बताउँछन्। ‘बाह्रौँ संस्करणसम्म आइपुग्दा हामीले नयाँ पुस्ताका साहित्यकार, लेखक तथा विचारकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यसहित मञ्च तयार पारेका छौं’, उनले भने, ‘विद्यालय तहबाटै साहित्यलाई पाठ्यक्रमको अंश बनाउनेदेखि नयाँ पठन संस्कृति विकासमा शिक्षक, अभिभावक तथा अन्य निकायहरूको भूमिकाबारे झकझकाउने हाम्रो प्रयास निरन्तर रहन्छ।’
विश्वप्रसिद्ध भारतीय लेखक शशि थरूरको पुस्तक ‘ह्वाई आई एम अ हिन्दू’को नेपाली संस्करण लोकार्पणसँगै फेस्टिभलको साङ्गे हुनेछ । भारतीय राजनीति, इतिहास र अन्तर्राष्ट्रिय सम्बन्धका विश्लेषक तथा चर्चित लेखक थरूरका कैयौं पुस्तकले विश्वव्यापी चर्चा पाएका छन्।
सन् २०११ देखि नेपाल लिटरेचर फेस्टिभल आयोजना हुन थालेपछि नेपालमा वार्षिक रूपमा दर्जनौं साहित्यिक महोत्सव हुन थालेको शुक्रबार पोखरामा आयोजना गरिएको प्रेस सम्मेलनमा फेस्टिभलका निर्देशक अजित बरालले बताए । ‘यस्ता महोत्सवले अहिले व्यापकता पाएका छन् । स्कुलदेखि कलेज र वडादेखि गाउँपालिकामा समेत यस्ता साहित्यिक महोत्सव हुन थालेका छन्,’ उनले भने, ‘यही फागुनमा मात्र नेपालमा सात ओटा साहित्यिक महोत्सव हुँदै छन् । सुर्खेत, काठमाडौं, पोखरा, धादिङ, काँकरभिट्टा, विराटनगर र टीकापुरमा साहित्य र विचारका महोत्सव गरिँदै छ ।’
यस्ता फेस्टिभलले हाम्रो ‘पब्लिक डिस्कोर्स’लाई बलियो बनाएको बरालको भनाइ छ । ‘पब्लिक स्पेस’ फराकिलो तथा जीवन्त बन्दै गएको छ । यसको श्रेय नेपाल लिटरेचर फेस्टिभललाई जान्छ,’ उनले भने ।
एनसेलकी इन्टेरिम मार्केटिङ, कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले सञ्चार र प्रविधिबाहेक कला र साहित्यको माध्यमबाट सबैलाई जोड्न कम्पनीको व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत एनसेल फाउन्डेसनमार्फत यस उत्सवसँग आवद्ध हुन पाएकोमा खुसी व्यक्त गरिन् । ‘कला, साहित्य र संस्कृति हाम्रा पहिचान हुन्। यीनको जगेर्ना गर्नु सबैको जिम्मेवारी हो । नेपाल लिटरेचर फेस्टिभलका सुरुका वर्षहरुमा हाम्रो सहयात्रा एकदमै राम्रो रह्यो । एक दशकपछि पुनस् सहकार्य गर्न पाएकोमा हामी अत्यन्तै हर्षित छौं ।’
पोखराका पत्रकार एवम् कार्यक्रम सञ्चालक केशवशरण लामिछानेले साहित्य र नेपाल लिटरेचर फेस्टिभलको महत्त्वबारे चर्चा गरे ।
साहित्यले समाजमा पुर्याएका योगदानहरूका उदाहरण दिँदै उनले भने, ‘साहित्यले सामाजिक न्यायको क्षेत्रमा, मूल्य र मान्यता भत्काउने र निर्माण गर्ने काममा सघन भूमिका खेलेको हुन्छ । सँगै यसले अल्पसङ्ख्यक, पिछडिएका वर्गलगायतको भाषा, बोली, पिँधको आवाज र रोदनलाई मूलधारको मुद्दा बनाउने काम पनि गर्छ । नेपाली समाज पनि अझ बढी सहिष्णु, सहानुभूतिपूर्ण, स्वतन्त्रतावादी र सभ्य बनोस् भन्ने हाम्रो चाहना छ । त्यही कार्यलाई टेवा पुर्याउन नै नेपाल लिटरेचर फेस्टिभल आयोजना गरिएको हो ।’
फेस्टिभल आयोजक सदस्य एवं पत्रकार भरत कोइरालाले इभेन्टहरूको सहर पोखरामा बर्सेनि हुँदै आएको लिटरेचर फेस्टिभलले सहरको संस्कृति र सभ्यता निर्माण थप योगदान पुर्याएको विश्वास व्यक्त गरे ।





























प्रतिक्रिया