पिता भजन शिरोमणिको सम्झनामा सत्यराज आचार्यले ल्याए पहिलो साहित्यिक कृति ‘१४ फागुन’

पिता भजन शिरोमणिको सम्झनामा सत्यराज आचार्यले ल्याए पहिलो साहित्यिक कृति ‘१४ फागुन’

केन्द्रबिन्दु
102
Shares

काठमाडौं । दिवंगत भजनशिरोमणि भक्तराज आचार्यका जेठा छोरा संगीतकर्मी सत्यराज आचार्य ‘सराज’ले पहिलो साहित्यिक कृति सार्वजनिक गरेका छन् ।

लोकप्रिय गायक आचार्यले पिताको पहिलो वार्षिकीको पूण्यतीथिको अवसर पारेर बुधबार महाशिवरात्रिको दिन जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एक विशेष समारोहकाबीच आफ्नो पहिलो साहित्यिक कृति ‘१४ फागुन’ लोकार्पण गरेका हुन् । यस साहित्यिक कृतिको दाजु–भाई सत्यराज र स्वरुप आचार्यका छोरा संगित र सर्गम आचार्यले विमोचन गरेका थिए ।

जुन दिन पिताले संसार त्यागे, त्यही दिनको सम्झनासहित त्यही मिति शीर्षक राखेर सिर्जित यस यो पुस्तकमा ८२ वटा हाइकू समावेश छन् । अन्तर्राष्ट्रिय मान्यताअनुसार पुस्तकमा समावेश प्रत्येक हाइकु १७ वटा अक्षरका छन् ।

उक्त पुस्तक लोकार्पण सभालाई सम्बोधन गर्दै गायकबाट लेखक बनेका सत्यराज आचार्यले पुस्तकमा समावेश भएका १८ वटा हाइकु वाचन गरेर सुनाएका थिए, सो क्रममा दर्शकले निकै रुचाउनुका साथै तालिले साथ दिएका थिए ।

पूस्तकमा समावेश एउटा हाइकु

कता हो टाढा
देख्दै छु क्षितिजमा
आकृति तिम्रो !

लोकार्पणका अवसरमा लेखक आचार्यले भने, ‘हामीले जुन कल्पना लिएर यो किताबको तयार गरेका छौं, त्यो भन्दा राम्रो हुन्छ भन्ने पनि अपेक्षा लिएका छौं ।’

कार्यक्रममा सहभागी वरिष्ठ संगीतकार शम्भूजित बास्कोटाले भजन शिरोमणि भक्तराज आचार्यद्वारा नेपाली सांगीतिक क्षेत्रमा पुर्याइएको योगदानको स्मरण गर्दै उनका सुपुत्रद्वय सत्यराज–स्वरुपराजमा ‘हुने बिरुवाको चिल्लो पात’ को गुण रहेको स्पष्ट पारे । उनीहरु दुवै बाल्यकालदेखि नै बहुप्रतिभाशाली व्यक्तित्व भएको पनि स्मरण गराए ।

समारोहमा कवि विप्लव प्रतिकले सत्यराजको हाइकु लेखनका बारेमा चर्चा गरेका थिए । उनले १४ फागुनमा धेरै राम्रो विषयहरू समावेश भएको बताए । ‘सत्यराजबाट म पनि प्रेरित छु, उहाँले तयार पारेका पुस्तिकाहरू निकै सन्देशमूलक पनि हुन्छन्’ उनले भने ।

यसैगरी कानूनविद भीमाजुृन आचार्य (अर्जुन मिलन) तथा कवि रवि प्राञ्जलले पनि सत्यराजलाई बहुप्रतिभाशाली व्यक्तित्व भएको चर्चा गर्दै हाइकु संग्रहमा समावेश भएका हाइकुहरुको बारेमा टिप्पणी गरेका थिए । बुकहील पब्लिकेशनले प्रकाशन गरेको यस पुस्तककाे मूल्य पाँच सय रुपैयाँ राखिएको छ ।

Logo