कविता कृति ‘कोशीका उडान’का डा. विदुर चालिसेको कृति हो । उहाँ त्रिभुवन विश्वविद्यालयबाट भाषाविज्ञानका विद्यावारिधि उपाधिप्राप्त विद्वान् व्यक्तित्व हुनुहुन्छ र त्रिभुवन विश्वविद्यालयकै पद्मकन्या क्याम्पसमा प्राध्यापन गर्नुहुन्छ ।
उहाँको पहिलो कृति कविताकै कृति प्रकाशन भएको थियो २०४७ सालमा ‘युग बोल्छ’ शीर्षकमा । त्यसपछि उहाँ अनुसन्धानका क्षेत्रमा लाग्नुभयो । सिसिफसको श्रापित मांसपिण्ड (अनुसन्धान– २०५१), अभिलेखीय नेपाली क्रिया (अनुसन्धान– २०७०), ऐतिहासिक नेपाली अव्यय (अनुसन्धान– २०७०), अभिलेखीय नेपाली व्याकरणको इतिहास (अनुसन्धान– २०७४), अभिलेखीय नेपाली नामधातु (अनुसन्धान– २०७५) आदि उहाँका अनुसन्धानमूलक कृति हुन् । उहाँका कविता यात्रामा दोस्रो सेनेगल (कवितासङ्ग्रह– २०७४) र तेस्रो स्मृतिका पहाड (कवितासङ्ग्रह– २०७५) हुँदै यो कृति ‘कोशीका उडान’ चौथो कविता सङ्ग्रहका रूपमा प्रस्तुत छ ।
यस सङ्ग्रहमा ५० वटा कविताहरू समेटिएका छन् । कविताले करिब दुई दशक अवधिका नेपाली समाजलाई आफ्नो विषयवस्तु बनाएको देखिन्छ । कविले आफ्नो लेखकीय मन्तव्यमा गद्य कविता बनाउन गर्नुपर्ने प्रयत्न र अपनाउनुपर्ने होसियारीबारे जानकारी दिनुभएको छ । उहाँले कवितालाई भाषा, शैलीशिल्प र चेनाका रूपमा चित्रण गर्नुभएको छ । क्लिष्ट र दुर्वोध्य सिर्जनाबाट बच्ने प्रयत्न पनि गर्नुभएको छ । २०४७ सालमा युगबोल्छ कविता स्रंग्रहबाट प्रकाशनका दुनियाँमा देखा पर्नु भएका चालिसेका यी कविता अरू गद्यकविता भन्दा केही नवीन लाग्छन् । उहाँले गद्यकविताको लयचेतलाई निकै बलियो गरी प्रस्तुत गर्ने प्रयत्न गर्नुभएको छ ।
मानव मूल्यको खोजी
उहाँले ‘आलु मान्छे’ कवितामा मान्छेको सस्तो पनलाई देखाउनुभएको छ । यसमा मान्छेको कमजोरी नभई मान्छेको मूल्यलाई देखाइएको छ । उहाँ लेख्नुहुन्छ:
मान्छे जस्ता आलु
आलु जस्ता मान्छे
फालिएथे कन्टेनरमा ।
यहाँ मान्छे आफैले आफ्नो मूल्य तोक्न नसकिरहेको अवस्थाको चित्रण गरिएको छ । यस्तै विषेशता फर्सीको लहरा कवितामा पनि देखिन्छ । जस्तै,
फर्सीका लहरा थे
म फर्सीका जरा थेँ
उद्देश्य अनन्त थे
हुन्थे भ्रूण हत्या
पाक्दथे मुना पनि
जराका साबित अत्तरमा
मर्दथे झुसिला कन्थाहरू
जल्दथे मसिना पत्ताहरू ।
यो कविता केही अमूर्त भएर पनि लहरा र जाराका विम्बमा मानवीय मूल्य र समानताको अन्वेषण गरिएको छ ।
प्रगतिशील चेतना
चालिसेका कविताले विम्बात्मक, प्रतिकात्मक सिर्जन सामथ्र्य भित्रै प्रगतिशील चेतना आत्मसात् गरेका छन् । त्यस्ता केही उदाहरण म सुनाउँछैछु:-
तिमी किन त्यसै पहेँलियौ
मैले तिम्रा लागि
आफै बकस दिन खोजेथेँ
एक टुक्रा जीवन
बकस मैले खोलेर हेरेँ
तिमी त बन्द कोठाका
निष्प्राण प्रयोगशालामा
शाल्यक्रियामा अभ्यस्त भेटेँ
यहाँ तिमी र म मा प्रगति वा परिवर्तनको चेत सांकेतीत छ । म एक जना अग्रज विद्वान्को कृतिमाथि बोलिरहेको छु । उहाँको कृतिलाई मसिनो गरी केलाउन निकै कठिन छ । यहाँ केही संकेत मात्र गरेर छाड्छु: १. विविध विषयवस्तुमा आधारित विम्बहरूको निर्माण र प्रयोग, २. गद्यमा श्रुतिललित शब्दहरूको प्रयोग र आन्तरिक लय सिर्जना, ३. ध्वन्यतामा, ४. कोमलता, ५. कविताको कथ्यतामा प्रायः भूतकालिक अनुभूति, ६.विशेषतः नवीन शब्दहरूको प्रयोग अनि कथ्य क्रियाको प्रयोग ७. कवितामा बौध्दिक हार्दिकताका साथ बहुमुखी दार्शनिक सन्देश, ८. समसामयिक विषयबस्तु छनौट, ९. जीवन, प्रकृति र प्रेमको त्रिकोणीय प्रकाशमा बिम्बहरूको संयोजन, १०. दार्शनिक तहमा प्रगतिशीलताको उद्घोष ११.नामिक पदलाई रूपान्तरणसहित क्रियाका रूपमा प्रयोग, १२. भाषाको विद्यार्थी हुँदा ऐतिहासिक प्राचीन तथा मध्यकालीन अभिलेखमा प्रयोग भएका शब्दहरूको प्रयोग ।
कतिपय कविता प्रयोगवादी कविताका अमूर्त लेखन जस्ता पनि लाग्छन् । कविताको सन्देश पाठकले नै अथ्र्याउनु पर्ने खालका छन् । सुरुमा त म यी कविता कतै नयाँ प्रयोग वा प्रयोगवादी त होइनन् भन्नेमा थिएँ । पढ्दै जाँदा यी बुझ्नलाई अर्को ईश्वर बराल नचाहिने रहेछ । उहाँ अन्य प्रगतिशील कवि जस्तो बढी आग्रह पूर्वाग्रहबाट भने मुक्त हुनुहुन्छ ।
यस कृतिलाई पनि शब्दार्थ प्रकाशनले बजारमा ल्याएको छ ।





























प्रतिक्रिया