केही दिनदेखि मेरो झ्याल्टी ग्राहक आउन छाडेका छन् । म पन्ध्र दिनदेखि थलिएकी छु । झ्याल्टीको कुनाको साँघुरो खाटमा लम्पसार सुतिरहेकी छु । "/>

कथा: मेरो प्रिय कथाकार

कथा: मेरो प्रिय कथाकार

केन्द्रबिन्दु
0
Shares

केही दिनदेखि मेरो झ्याल्टी ग्राहक आउन छाडेका छन् । म पन्ध्र दिनदेखि थलिएकी छु । झ्याल्टीको कुनाको साँघुरो खाटमा लम्पसार सुतिरहेकी छु । छोराछोरी मेरो मुखमा टुलुटुलु हेरिबसेका छन् । बाटो हिँड्नेहरू पनि आजकल मतिर फर्केरै हेर्दैनन् । मन नराम्ररी चिथोरिएको छ । बाउँडिएको छ । बेसहारा भएकी छु ।

म पन्ध्र वर्षअगाडिको टेस्ट पास हुँ । धेरै केटाहरूको सहारा लिँदा पनि मैले एसएलसी पास गर्न सकिनँ । परीक्षाहलमा चिट पास गर्ने शर्तमा मैले उनीहरूले जे भने, त्यो मानेँ । बेलुका मेरो शरीरसित खेल्न पाएपछि उनीहरूले परीक्षामा मलाई सक्दो सहयोग गरेका हुन् । तर सुपरिटेन्डेन्टले मेरो कापीमा कैफियत लेखिदियो । त्यो साल त गयो नै, अर्को एकवर्ष मैले परीक्षा नै दिन पाइनँ । त्यसपछि मैले एसएलसी दिइनँ ।

++++++
मेरो प्रिय कथाकार मेरै कथा लेखिरहेको छ । कथाकार मेरो कथा लेख्छ तर मलाई अलिकति पनि सहयोग गर्न सक्दैन । ऊ दिनभरि कथा खोज्दै हिँड्छ । आज मलाई पाएको छ उसले । कथा र पात्र खोज्न हिँडेको रहेछ ऊ । मेरा सबै कुरा उसले थाह पाएको रहेछ । ऊ कथा बुन्न सिपालु छ रे !

उसले सोध्यो, ‘दिदी, तपाईं आजको दिन मलाई दिन सक्नुहुन्छ ?’
उसको प्रश्नले मलाई गम्भीर बनायो । मैले आफ्ना कति दिन लोग्नेमान्छेहरूलाई दिएकी छु । उसलाई एउटा दिन दिन के गाह्रो ? तर म बेथाले थलिएकी छु ।
मैले बिस्तारै भनेँ, ‘अहिले म बिरामी छु दाइ ! म निको भएपछि आउनू है !’
उसले भन्यो, ‘मेरो अरू कुनै उद्देश्य छैन बैनी ! म तपाईंको कथा लेख्न चाहन्छु । मलाई तपाईं आफ्ना कथा भनिदिनुस् ।’
मैले उसलाई मेरा कथा बुन्ने अनुमति दिएँ ।

म मेरो जीवनकथाको श्रेस्ता कथाकारलाई बुझाइरहेकी छु । ऊ अर्थात् कथाकार कलमले मलाई मनपरी उपभोग गरिरहेको छ ।

‘पन्ध्र दिनअगाडिसम्म मेरो झ्याल्टीमा उधुमै भीड हुन्थ्यो । मलाई केहीको, कोहीको पनि खाँचो थिएन । बलिष्ट हातहरूले मलाई अँगालो हाल्थे । मेरो छाती अगौँजी गिजोल्थे । टन्न पिउँथे मलाई । भरपुर उपयोग गर्थे मेरो । खुसी हुँदै मेरो रेटभन्दा बेसी शरीरको बहाल दिएर जान्थे ।’

मेरो वर्तमान जीवनकथा कुनै पत्रिकामा छापिए यो पेसा अँगाल्न खोज्नेलाई थोरै भएपनि शिक्षा हुन्थ्यो । यस्तो निर्घिणी पेसा समात्दैनथे होला । त्यसैले पनि मेरो जीवनकथा लेखेर कतै छपाउन म मेरो कथाकारलाई अनुरोध गरिरहेको छु । कथाकारले कथा बुन्दा उसले मलाई अश्लील शब्द प्रयोग गरेपनि मलाई कुनै आपत्ति छैन । पाठकहरूले मेरो कथाकारलाई गाली नगर्नु होला । म वेश्या हुँ, उसले एउटी वेश्याको कथा लेखेको छ ।

‘अहिले म जीवनमरनको दोसाँधमा छु । मेरा लोग्ने यहाँ छैनन् । उनी सहरमा मजदुरी गरेर दुईचार पैसा कमाउँछन् । केही मलाई पठाउँछन् । केही उनी खर्च गर्छन् । सद्धे हुँदा म पनि राम्रै कमाइ गर्थेँ । दिनमा हजारौँ रुपियाँ कमाइ हुन्थ्यो । उता रक्सीबाट पनि राम्रै आम्दानी भो । म चल्तीकी शरीर व्यापारी भएँ । यी तीन तीनजना सन्तान पाल्नु थियो । छोराछोरीको माया कति हुँदो रहेछ, मैले थाह पाएँ । आप्mनो शरीर बेचेर पनि एउटी महिला सन्तान पाल्न तयार हुँदी रहिछे । आफैले अनुभव गरेँ ।

म यहाँ पोइल आएकी हुँ । मेरो पहिलेको लोग्ने टिबी लागेर पाँच वर्षअगाडि बित्यो । ऊपट्टिका दुई छोरा छन् । यतापट्टिको एउटा । पूरानो लोग्ने छँदैदेखि मेरो शरीर बिक्न थालेको हो । त्यो समयमा पनि लुगाकपडा, सिङ्गारपटारका सामान र घरखर्च चलाउने पैसा यसरी नै जुटाउँथेँ । पोइ केही गर्न सक्दैनथ्यो । ओछ्यानमा लम्पसार परेकोप¥यै । भित्री मनमा त्यो मरोस् भन्ने लागेको थियो । आखिर त्यो भएरै छाड्यो । लोग्ने म¥यो । त्यो गाउँमा मसँग झुत्तिन पन्ध्र वर्षका ठिटादेखि साठी–पैँसठ्ठी वर्षका बृद्धसम्म आउँथे । धेरैले मेरो शरीर चाखेका छन् । मैले धेरैको शरीर चाखेकी छु । तीमध्ये कतिले माटो खाइसके ।

सुरुसुरुमा म बढी नै कामुक थिएँ । लोग्नेमान्छे देख्नेबित्तिकै मेरो शरीरमा कस्तोकस्तो रोमाञ्च पैदा हुन्थ्यो । रोमरोममा उत्तेजनाको उच्छाल तरङ्ग उत्रिन्थ्यो । मेरो कुनै रुटिन थिएन । दलानमा बग्रेल्ती हात्तीछाप चप्पल हुन्थे । उनीहरूले पालो कुर्नुपथ्र्यो । बाबुछोरासमेत मसँग लुकीलुकी खेल्न आउँथे ।’

सायद कथाकार रोमाञ्चित भयो । मलाई अभैm खुल्न हौस्यायो । ‘एकदिनको घटना मलाई सम्झना छ– मेरो कोठामा पहिला बाबु छि¥यो र त्यसपछि छोरा । गाउँमा महिलाहरूले चाल पाएर घर घेरा हालेपछि बाबु भाग्दा छोराको चप्पल लगाएर कुदेछ । त्यो कुराले उनीहरूको घरमा ठूलै रडाको मच्चिएछ ।

लोग्नेको बर्खन्त सकेपछि म फुकिदाइँ भएँ । अर्को लोग्ने खोजेँ । मैले नजिकैको गाउँमा अर्को केटा भेट्टाएँ । आखिर चोर्ने लत बसिसकेपछि चोरलाई नचोर् भनेर कहाँ छोड्दोरहेछ र ! अरू आइमाईभन्दा म निकै राम्री छु रे । मेरो शारीरिक बनोट निकै च्वाँक छ रे । मेरो शारीरिक बनोटले पनि पुरुषहरू हुरुक्क भएका होलान् । ‘तिम्रो ओठको रस कहिल्यै सुकेन ।’ कति लोग्नेमान्छे मलाई यसो भन्थे । चटक्क कपाल कोरेर सिँगार गरेपछि, टिमिक्क पारेर ब्लाउज लगाएपछि, अगाडि मुजा पारेर लुङ्गी लगाएपछि म पुतलीजस्ती हुन्थेँ रे ।’

कथाकार कथाका लागि बुँदा टिपोट गर्दै थियो । अचानक उसको अनुहार उज्यालो भएर आयो ।

‘आज दिन अर्कै भएका छन् । मेरा ग्राहक तितरबितर भएका छन् । ती वरपरको भ्mयाल्टीतिर लहसिएका छन् । मेरोमा कोही आउँदैन । ‘तिमीलाई सन्चो छैन ?’ भनेर कोही एक वचन सोध्दैन । तपाईं मात्र मेरो छेउमा हुनुहुन्छ । मेरो बेथाबारे सोधिरहनुभएको छ । बिहान धामीलाई देखाएँ । ‘नागको दोष छ’ भन्यो ।

अचानक कथाकारको अनुहार धमिलो भएर आयो ।
उसले भन्यो, ‘तपाईंलाई नागसाग केही लागेको होइन । रगत बिग्रिएको हो । रगत जाँच गरी औषधि खानुपर्छ ।’
मैले भनेँ, ‘उपचार गर्ने पैसा नै मसँग कहाँ छ र ! के तपाईं मलाई उपचार खर्च दिन सक्नुहुन्छ ?’
कथाकारले भन्यो, ‘तपाईंको यो जीवनकथा पत्रिकामा छापियो भने त्यसको पारिश्रमिक म तपाईको रगत जाँच गर्न दिन्छु बैनी !’
मैले कुरा अन्तै मोडेँ । भनेँ, ‘अरूले मलाई उपयोग गर्दा तपाईंले गर्नु नहुने थियो र ? मैले ‘दाइ, सबै मोज गर्छन्, तपाईं पनि आउनुस् न ।’ भन्दा तपाईं रातो मुख पारेर हिँड्नुभयो । मलाई लाग्यो–तपाईं नपुंसक हो । शरीर उपभोग गर्न दिन्छु भन्दा पनि आँट गर्न नसक्ने हुतिहारा !’
म कथाकारदेखि लज्जित छु । उसले सोधेका प्रश्नहरूले मेरो मुटुमा वाण हानिरहेका छन् । म उसको अनुहारमा सीधा आँखा जुधाएर हेर्न सक्दिनँ । सुन्निएका मेरा पिँडुला ऊ सुम्सुम्याउँदै छ ।

बिस्तारै मेरा पिँडुला थिच्छ र मलाई सोध्छ, ‘अन्त कताकता सुन्निएको छ ? कता बढी दुख्छ ?’
म लजाईलजाई मेरो पीडा बोल्छु । ऊ बिस्तारै लेखिरहन्छ ।
‘बिहानै सकीनसकी लोग्नेलाई फोन गरेँ । उनी यता आउन बस चढिसके रे । भरे आइपुग्लान् । तीसँग पनि के नै पैसा होला र मेरो उपचार गर्न ? मेरो भ्mयाल्टीका नियमित ग्राहक पल्लो भ्mयाल्टीमा नियमित हुन थालेका छन् । तिनले अब मलाई माया मारे । त्यता सधैँ तास जमिरहन्छ । म त्यताको उन्मत्त हाँसो सुनिबस्छु । दिक्क लाग्न थालेको छ ।’

कथाकार भन्छ, ‘यो गाउँ कहिले सुध्रिएला
? चौबीसै घण्टा तास भुल्नु र रक्सीमा झुल्नुबाहेक अरू केही कामै छैन ? घरमा स्वास्नीहरूलाई भरेको जोहो गर्न कुन हैरान भएको होला ? गाउँ सुध्रिन्छ कि भनेर जाँडरक्सी, जुवातास विरुद्धमा दर्जनौँ कथा लेखेर छपाएँ । अँहँ, कथा लेखेर समाज बदल्न नसकिने रहेछ ।’
हुन पनि यो गाउँमा अचम्मै छ । तास हार्दाहार्दा अस्ति एउटाले स्वास्नीको धोती नै खेल्यो । हा¥यो र त्यो गयो । अब उसकी श्रीमती के लाउँछे ? यो गाउँ बिग्रिनुको कारणको भाग मैले पनि लिनुपर्छ ।

++++++
मेरो एक नम्बर ग्राहक चोलेन्द्र हो । अरू ग्राहक कुनै दिन गयल भए होलान्, तर उसले मेरो शरीरमा सधैँ हाजिर गरिरह्यो । ऊ बेलुकाबेलुका आउँथ्यो । टन्न रक्सी पिउँथ्यो । मदहोशमा मलाई ठाउँकुठाउँ तान्थ्यो । केटाकेटीले के भन्लान्जस्तो लाग्थ्यो । म केटाकेटीलाई सुत्न पठाएर उसकोमा हाजिर हुन्थेँ । ऊभित्रको कामदेव बौलाउँथ्यो । ऊ राम्रो खेलाडीलेभैmँ खेल्थ्यो । म ऊसँग प्रतिस्पर्धामा उत्रिन्थेँ । ऊ हाथ्र्यो र म जित्थेँ । उसको मुखबाट चुरोट र रक्सीको नरकगन्ध छुट्थ्यो । ‘दुईचार दिनमा दिन्छु ।’ भनेर मेरो भएको बचत पैसा पनि सबै फुत्कायो । अहिले ऊ मदेखि टाढिएको छ । त्यो त्यहीँ पल्लोपट्टि आउँछ तर मेरोमा आउँदैन । किनभने यतिबेला मेरो शरीर खेलको प्रतिस्पर्धामा उत्रिन सक्दैन । म शिथिल भएकी छु । सुन्निएका हातगोडा फुट्लान्भैmँ भएका छन् । सबै ‘बलेकै आगो ताप्छन्’ भन्ने उखान त्यसै कहाँ बनेको रहेछ र !

म जोडजोडले चिच्च्याउँछु । छट्पटाउँछु । बर्बराउँछु । रुन्छु । सहन कठिन भएर आउँछ । प्राणै जालाजस्तो हुन्छ । मेरो कथाकारबाहेक मेरो पीडा सुन्ने कोही छैन ।
तास खेलिरहेका मेरा ग्राहकहरूको हल्का हाँसो सुन्छु । ती उठ्छन् । सडकतिर आउँछन् । हल्लीखल्ली गर्दै हराउँछन् । म पागलभैmँ बर्बराउँन थाल्छु । मेरो कथाकार डराउँछ । हजार त्रिशूल रोपिएको जस्तो पीडा हुन्छ मलाई ।

म अर्धहोशमै कथाकारलाई भन्छु, ‘भाइ, फेरि मेरो नजिक आउनुस् न । मेरो जीउ थिचिदिनुस् । तपाईंले थिचिदिँदा सञ्चो हुन्छ । अघि तपाईंले सुम्सुम्याउँदा कति आनन्द आएको थियो । आउनुस्, मलाई समात्नुस् । निचोर्नुस् ।’
कथाकार भन्छ, ‘दिदी, तपाईंलाई गाह्रो भयो ? हिँड्नुस्, मेडिकल जाऊँ ।’
म भन्छु, ‘भाइ, म हिँड्न सक्दिन । बेलुका मेरा लोग्ने आउँछन् । उनैले मलाई उपचार गर्न लैजान्छन्् । बरु यता आउनुस् न ।’
म कथाकारको हात समातेर तान्छु । ऊ मान्दैन । सुतेका छोराछोरी चर्पटाउँछन् । म झस्कँन्छु ।
कथाकार उठ्छ र मलाई भन्छ, ‘दिदी, म चिया पकाउँछु । खानुहुन्छ ?’
म मुन्टो हल्लाउँछु । कथाकार चिया पकाउन तयार हुन्छ । ऊ आगो फुक्छ । पानी बसाल्छ । चिनी खोज्छ ।
ऊ सोध्छ, ‘चिनी कहाँ छ दिदी ?’
मेरो माहिलो छोरो उठेर भन्छ, ‘चिनी त चोलेन्द्र काकाले पोको पारेर लानुभो ।’
म जिल्लिन्छु । जोडजोडले चिच्च्याउँछु, ‘चोलेन्द्रे ! मेरो सम्पत्ति खाने तँ को होस् ? छिटो चिनी ले ।’
साँझ छिप्पिइसकेको छ । झ्याउकिरी कराउन थालिसकेका छन् । पिलपिलाउँदो टर्चलाइठ बाल्दै मेरो लोग्ने आइपुग्छन् । उनी रिसले मुर्मुरिन्छन् । छेउको चिर्पट उचालेर मेरो कथाकारको टाउकामा बजार्छन् ।

आगो हुँदै भन्छन्, ‘यो रातिसम्म आइमाई केटाकेटी मात्र भएको घरमा के गर्न बसेको तँ ?’ मेरो कथाकार त्यहीँ ढल्छ । ऊ केही बोल्न सक्दैन । म पनि उसलाई केही भन्न सक्दिनँ । लोग्नेले कथाकारलाई गलहत्याएर ढोकाबाट बाहिर निकालिदिन्छन् । सोच्छु, पहिले म मर्छु होला कि मेरो कथाकार !

(मञ्जरी प्रकाशनले हालै बजारमा ल्याएको कथासंग्रह ‘बादशाहको अटोग्राफ’ बाट ।)

Skip This
Skip This
Logo