रामेछापका साहित्यकार विनोदकुमार श्रेष्ठको उपन्यास हो ‘आभास’ । यसअघि उनका जीवन एक सङ्घर्ष अनेक मोड (आत्मालाप, २०७१), द स्प्रिङ लभ (उपन्यास, २०७३) प्रकाशन भइसकेको छ । उनको सम्पादनमा अपाङ्ग दर्पण (स्मारिका, २०७३) पनि प्रकाशनमा आएको छ । उनको पछिल्लो वा तेस्रो कृति र उपन्यासका रूपमा आभास (उपन्यास, २०७५ ) आएको हो ।
यस उपन्यासको नामकरण उपन्यासकै पात्रका नामबाट जुराइएको छ । यो प्रेमिल काल्पनिक उपन्यास हो भन्ने आत्मस्वीकृति लेखकले दिएका छन् र पढ्दा पनि सोही अवस्था देखिन्छ । यस उपन्यासले फरक क्षमता भएका व्यक्तिको प्रेम जीवन र त्यसका समस्यालाई अगाडि सारेको छ । उपन्यासले फरक क्षमता भएको नायक र सवलाङ्ग नायिका वीचको प्रेमलाई नायिकाको अन्यत्र विवाह र सन्तान प्राप्तिपछि पनि इन्टरनेटका माध्यमबाट निरन्तरता दिइएको छ । प्रेमलाई विवाहको घेराबाट बाहिर पु¥याउनु यस उपन्यासको उद्धेश्य हो ।
यस उपन्यासका भाषामा कतै कवितात्मकता छ । प्रायःवर्णन र विवरणात्मक शैली नै आत्मसात् गरिएको छ । यो उपन्यास आभास र सन्ध्याकै उपन्यास हो । सन्ध्या आफ्नो लोग्नेका आँखा छलेर गम्भीर प्रकृतिको अपाड्गता भएको आभासलाई भेट्न आउने गरेकी छ । उसले नै प्रेमको व्यापकताका पक्षमा वकालत गरेकी छ । यस कृति भित्रको नायकमा लेखक पनि धेरै मात्रामा अनुवाद भएका छन् । फरक क्षमता भएका व्यक्तिका जीवनका अनुभवलाई हामी लेख्न सदैनौँ । उहाँहरू जस्तै लेखकले मात्र लेख्न सक्छन् । लेखक कलिलो उमेरमै संघर्ष गरी ड्राइभर भएर स्ववलम्बनको जीवन बाँच्न थालेका थिए । तर दुर्घटनाले उनलाई आजको परिस्थिती झेल्न बाध्य बनायो । उनी अहिले असाध्यै जटिल किसिमको आपड्गता व्यहोरिरहेका छन् । तर उनको लेखन उर्जालाई त्यस दुर्घटनाले लैजान सकेन । उनी एउटा निजी व्यवसायसहित निरन्तर सिर्जनामा छन् ।
आफूले जे सकिन्छ त्यसलाई साहित्यका माध्ययमबाट सार्वजनिक गर्ने प्रयासले लेखकलाई साहित्यकार बनाएको हो । हाम्रो समाजले अहिले पनि शारिरीक रुपमा अपांगता भएका नागरिकलाई हेप्ने गरेको छ । तर उसले बुझेको छैन की मौका पायो भने अपांगता भएका नागरिकले पनि सवलांगको भन्दा राम्रो काम गर्न सक्छ भनेर । त्यो कुरालाई लेखकले पुष्टि गरिदिएका छन् । आफूले भोगका सबैखाले परिस्थितीले आभास जन्मिएको हो । यसमा प्रयोग भएका शब्दहरु सरल र सहज तरिकाले बुझ्न सकिने खालका छन् ।
मान्छेको जिन्दगी यस्तै छ । नगरे खान पाईंदैन, गरे लान पाईंदैन । तर पनि मान्छे अजम्बरी बुटी बाँधेझैं गर्छ । एकदिन सबैले मर्नै पर्छ , आर्यघाटको बाटो रोज्नै पर्छ । कसैले पनि म ठूलो र उ सानो भन्ने खालको मानसिकता पाल्नु हुँदैन । यहाँ भुसुनाको पनि त्यति नै महत्व छ जति महत्व हात्तीको छ । जो सुकै होस्, उसले खानै पर्छ । लाउनै पर्छ । जिन्दगी यतिमा मात्र सिमीत पनि छैन । जतिसुकै कष्ट काटेर पनि बाँच्नु नै ठूलो कुरा हो । संसार आफैं विचित्रको छ । यसलाई बुझ्न चाहने र सक्नेहरुका लागि दुःखमा पनि संसार चामत्कारिक छ तर बुझ्न नसक्ने र दुःखमा आत्तिने अनि सुखमा मात्तिनेहरुका लागि संसार बोझिलो पनि छ । यी र यस्तै विषयलाई पात्रका माध्यमबाट प्रस्तुत गर्न खोज्नु आभास उपन्यास र लेखक विनोद कुमार श्रेष्ठको प्रयास हो । जसले सार्थकता पनि पाएको छ । मरेर जाने मान्छेको शरिरलाई श्रृजनशिल काममा लगाउन सके यसले इतिहास बनाउन सक्छ भन्ने प्रेरणा पनि लेखकको छ ।
पुस्तकको आकार छोटो छ, तर सबै कुरा समेट्न खोजेको छ । तर पनि पढ्दै जाँदा कतै लेखक आफू अपांगता भएर आफैंलाई हिनताबोध पो भएको हो कि भन्ने पनि पाठकलाई भ्रम पर्न सक्ने अवस्था पनि छ । विषय छनोट ठिक छ तर प्रस्तुतीकरणमा कतै अलमल पो भएका हुन् कि वा अलि यथार्थमा भन्दा कल्पनामा पो हराएका हुन् कि भन्ने पनि भ्रम पाठकलाई पर्न सक्छ । तर थोरै आकारको पुस्तकमा पनि धेरै कुरा अटाएर प्रस्तुत गर्नुलाई यहाँनिर लेखकको लेखकीय क्षमता मान्न भने चुक्नु हुँदैन । समग्रमा कृति उत्कृष्ट बनेको छ । शब्दार्थ प्रकाशनले बजारमा ल्याएको यसको मुल्य ३ सय रुपैयाँ राखिएको छ ।

























प्रतिक्रिया