(रामजी बलामी)
मोबाइलको मुख्य काम सुताउने र उठाउने भने जस्तै जिप्परको काम खोल्ने र बन्द गर्ने । यसलाई टाइम टाइममा खोलिरहनुपर्छ र काम सकिएपछि बन्द गर्नैपर्छ । अचम्म त के छ भने यसलाई खोल्नलाई कसैले बिर्सिदैन तर बन्द गर्न बिर्सिन्छन् । र त फसाद पर्छ ।
यसले अमूल्य चिज लुकाउछ तर ताल्चा लगाउन पर्दैन । अमूल्य तर अरुले देख्नै नचाहने, झुक्किएर देखीहाल्यो भने हाँसोको फोहोरा छुट्ने । भन्ने बित्तिकै बुझ्नु नै भयो होला ।
म आज त्यस्तो महत्वपूर्ण जिनिशको कुरा गर्दैछु । मान्छेहरु यसलाई जिप्पर, जिप, फ्लाई, फस्टनर आदि इत्यादि भन्छन् तर म चै यसलाई हनुमान ढोकाको ‘चेन गेट’ भन्छु । किनकी कोही कसैले खुल्लै देख्यो भने भनिहाल्छन ‘हनुमान ढोका खुल्ला छ ।’
गाउँमा एकपटक एकजना दाइले ‘हनुमान ढोका खुल्ला छ’ भन्नु भो । मैले सोचे अरुबेला बन्द हुन्थ्यो होला अब खुल्ला भएको बेला हेर्न जानुुपर्यो । यही सोच्दै हिडिरहेको बेला फेरि अर्काे दाईले पनि त्यही भन्नुभयो । म पनि के कम ‘अघि नै थाहा पाइसके’ भनेर रिप्लाइ दिएँ । त्यहीँ खुल्ला भएको हनुमान ढोका हेर्न शहर आएको म अहिलेसम्म शहरमै छु ।
म आएदेखि हनुमान ढोका जहिले खुल्ला देख्छु । अनि एकदिन दाईलाई फोन गरेर सोधे– ‘हनुमान ढोका त सधै खुल्ला हुने रहेछ दाई, तपाईले किन झुक्याउनु भएको ?’ दाई फोनमै मरिमरि हाँस्नु भो । पछि पो थाहा पाएँ । उहाँले मेरै ‘हनुमान ढोका’ पो खुल्ला भन्नु भएको रहेछ । मैले चै बसन्तपुरको हनुमान ढोका हेर्न आएँ । अनि दाईको हाँसोमा हाँसो मिलाउदै म पनि हाँसे ।
खासमा यो बलवान झ्याल ढोका हो । घरमा लगाएको झ्याल ढोकाको भर हुन्न किनकी यसलाई अरुले फोड्न सक्छ । तर जिप्परलाई अरुले फोड्नु त परको कुरा आँखा समेत लाउन सक्दैन । आँखा लगाएको देख्यो भने उसको खैरियत छैन । कहिकसै गरी यो झ्याल ढोका खुलेको देखिहाल्यो भने पनि भन्न सक्दैनन् । बरु देखे नदेखे झै गरी मनमनै हाँसेर साइड लाग्छन् तर भन्न थर्थर काम्छन् । भन्नेको मात्रै होईनन् सुन्ने मान्छे पनि रातोपिरो हुन्छ । कसैको रातोपिरो मुख देख्न मन लागेको छ ? उसो भए भनि दिनुहोस् ‘तपाईको हनुमान ढोका खुल्ला छ ।’
जिप्पर भन्नासाथ हाम्रो ध्यान अन्तै तानिन्छ त्यसकारण जिप्परमा ठूलो गुरुत्वाकर्षण शक्ति लुकेको छ भन्ने मलाई लाग्छ । जिप्पर पाइन्टमा मात्रै लगाईदैन ब्याग, ज्याकेट, जुत्ता, पञ्जालगायतमा पनि लगाईन्छ । तै पनि जिप्पर भन्नासाथ मान्छेको ध्यान ‘सेन्टर’ मै जान्छ । कतै जिप्परमा हाम्रो ध्यान तान्ने अदृश्य शक्ति लुकाईएको त छैन । त्यसो भनौ भने फेरि कहिलेकाही त्यही जिप्पर लगाउन बिर्सेर कत्रो फसाद पर्छ ।
बाटोमा हिड्दा कोहीकोहीको जिप्परले ‘म खुल्लै छु’ भनिरहेको देखिन्छ । कुनै कुनै जिप्पर त यतिधेरै बदमासी हुन्छन् कि ‘आँ’ गरेर भित्रको दाँतदेखि जिब्रोसम्म छर्लङ्ग देखाईदिन्छ । जिप्परले मुख च्याटी च्याटी ‘आँ..’ गरेर हाँसिरहेको हुन्छ तै पनि जिप्परको मालिकले उसको हाँसो सुन्दैन । सबैको हाँसो सुनिन्छ तर यो जिप्परको हाँसो सुनिदैन, केवल देखिन्छ मात्रै । उसको हाँसो अरुले देख्छ तर उसकै मालिकले भने देख्दैन । अचम्मको जिनिश हो यो जिप्पर ।
जिप्पर हाँसिरहेको उसको मालिकले तब मात्रै चाल पाउछ जब ऊ जिप्पर खोल्न टवाईलेट पस्छ । अनि ट्वाइलेटमा मालिकले खोल्न लाग्दा जिप्परले मरिमरि हाँसेर भन्छन् ‘म त अघिदेखि खुल्लै छु, खुचिङ !’ अनि ति मालिक ट्वाइलेटभित्रै छाँगाबाट खस्छन् । खिट्खिट्याउदै सोच्छन् ‘म कहाँ कहाँ पुगे, कतिबेलादेखि खुल्लै होला, को कसले देखे होला ? कतै विपरित लिंगीले पो देखे कि’ आदि इत्यादि ।
जिप्पर तीन कारणले खुल्ला हुन्छ भनेर जिप्पर महात्मयमा उल्लेख छ । मालिकले लगाउन बिर्सेर, जिप्परले स्लिप खाएर र जिप्परको स्वर्गवास भएर । कहिलेकाँही जिप्पर मज्जैले लगाईन्छ तर ऊ मरिसकेको हामीलाई अत्तोपत्तो हुँदैन अनि मरेपछि कसले पो काम गर्छ र । जिप्परले मरेपछि ढोका लगाउने काम नगरे पनि हाँस्ने काम भने छोड्दैन ।
कहिलेकाँही जिप्पर लगाउन खोज्दा मरेको चाल पाउछ अनि ट्वाइलेटमै जे छ त्यसले मरेको जिप्परलाई ठटाउन थाल्छ । ठोक्दा ठोक्दा जिप्परको टाउको फुट्छ अनि झनै बर्बाद । सर्ट पाइन्ट मात्रै लगाएको बेलामा जिप्परले काम गरेन भने त जिन्दगीभरलाई पुग्यो । एक जना साथीले जिप्परवाला पाइन्ट नलगाएको जुग बितिसक्यो रे । मित्रले सुनाएको कथाको सम्पादित अंश यस्तो छ ।
‘एकपटक अफिस पुगेर ट्वाइलेट जाँदा जिप्पर खुल्लै रहेछ । सकेसम्म जिप्परको उपचार गर्न खोजियो तर जिप्पर मर्न तयार भयो तर मेरो ढोका लाउन मानेन । मेरो अफिसमा फेरि दाजुभाईभन्दा दिदिबहिनी धेरै । अब म फेरि घर गएर अर्काे कपडा लगाउनुको बिकल्प थिएन । तर मलाई टवाइलेटबाट निस्किने आँट नै आएन । ज्याकेट लगाएको भए पनि अलिकति छोप्थ्यो होला, पाइन्टभित्र पठाएको सर्ट निकाल्ने कुरा पनि भएन । त्यही बेला एउटा साथी ट्वाइलेटको ढोका ‘नक’ गर्न आए । मुख रातोपिरो अमिलो कालो हुँदै उफ्री उफ्री ढोका पार गरे ।
ढोका त पार गरियो अब घर जानलाई पब्लिक गाडीमा जाउँ कि निजी बाइकमा । गाडीमा जाउँ भने मान्छेहरु भरिभराउँ हुने बाइकमा जाउँ भने सिटमा बस्ने बित्तिकै जिप्पर हाँस्ने । जे होला होला भनेर बाइकमै चढियो जिप्पर मज्जाले हाँस्दै थियो । उसको मुख थुन्ने मसँग कुनै उपाय थिएन । त्यसैले उसलाई नदेखे जस्तोगरी घरसम्म पुगे । घरको ढोका खोल्ने बित्तिकै श्रीमतीजी मरिमरि हाँस्नु भो । अहिले मेरो कपडा चेन्ज गर्ने बेला भयो कि श्रीमतीजीको हाँसो एक्ससरसाइज हुन्छ ।’ साथीको यो कथा जिप्पर लगाउँले बेला जहिले पनि मानसपटलमा सल्बलाउछ ।
यो जिप्पर भन्ने जिनिश पुरुषहरुका लागि त झन ट्रिपरभन्दा पनि घातक हो । एकपटक स्कुलमा एउटा भाईलाई ठूलै आपत पर्यो । बाथरुम जाँदा भाईको भाईलाई जिप्परले चिरिप्पै पारेछ । भाई न रुन सके न कराउन । बिचरा बल्लतल्ल चिच्याए ।
त्यसै त संवेदनशील त्यसैमा जिप्परले च्याप्दाको पीडा हजारमुखे शेषनागले पनि बर्णन गर्न सक्दैन । च्यापेको जिप्पर निकाल्न खोज्दा उल्टै च्यापिन्छ । अनि निल्नु न ओकेल्नु । कहिलेकाँही त लाग्छ भित्रि कपडा पनि जिप्परबाट जोगिनका लागि लगाउने गरेको हो कि क्या हो । भित्रि कपडा लगाउँदा जिप्पर हाँसे पनि लाज छोपिन्छ, जिप्परले च्याप्न पनि सक्दैन । यस्तो चै प्राय: सानो बाबुहरुलाई हुन्छ, नानीहरुलाई चै यो पीडाबाट जन्मजात छुट ।
जिप्परभन्दा बटन नै सही लाग्छ । तर कपडाको पाइन्टमा बटन चल्दैन । बटन भए एउटा उछिटिए पनि अर्काेले त काम चलाउछ तर यो जिप्परको एउटा गिद्दीले सबैलाई बेकाम बनाई दिन्छ । कुनै कुनै जिप्परहरु त जीप जस्तै स्लिप खाएर हैरान पार्छ । जिप्पर स्लिप खानुमा मान्छेको पनि गल्ती छ । कोही कोही हतारेर जिप्पर खोल्नुभन्दा बेल्ट खोलेर पाइन्टको मुख च्यात्छन् । पाइन्टको मुख च्याटेपछि जिप्पर जवरजस्ती खुलिहाल्छ । जब जिप्परलाई बानी पर्छ अनि टाइम न बिटाइममा स्लिप खाएर हनुमान ढोका मरीमरी हाँस्छ ।
जिप्परलाई नेपालीमा फस्नर किन भनिन्छ, थाहा छ ? कहिलेकाँही यसले एकदमै नराम्रोसँग फसाई दिन्छ । नजानिदो पाराले फसाउने भएकाले नै यसलाई फस्नर भनिएको हो । कोहीकोहीको त बिबाह मण्डपमै फस्नर फुस्केर लाजमर्दाे हुन्छ । बेहुलाको सुरुवालको तुना फुस्केको त देखेकै होला । त्यसैले त भनिन्छ नि ‘बिहेमा बेहुलाको तुना फुस्किन्छ, बेहुलीको मुना फुस्किन्छ ।’
जिप्पर फुक्स्यो भने खप्परमा चोट लाग्छ । स्वास्थ्यको नियमित चेकजाँच गरिरहे स्वस्थ्य भईन्छ, टाइम टाइममा जिप्पर चेक गरिरहे इज्जत जोगिन्छ । त्यसैले खल्ती चेक गरेजस्तै टाइम टाइममा जिप्पर पनि चेक गर्नुपर्छ । अतः यतिधेरै महत्वपूर्ण र ट्रिपरभन्दा खतरा जिप्परको जय होस् ।































प्रतिक्रिया