‘अमृताञ्जली’ मुक्तक सङ्ग्रह प्रकाशनमा ल्याएर नेपाली साहित्यमा आफ्नो स्थान बनाइसकेकी कवयित्री तिलस्मी प्रभास आफ्ना नव सिर्जित मुक्तकहरुको सँगालो ‘मुक्तकाञ्जली’ लिएर नेपाली साहित्य जगतमा देखापरेकी छन् । साहित्यमा तिलस्मी प्रभास भन्ने नामले चिनिएकी कल्पना पराजुली (जन्म २०३२, दोलखा) को माध्यमिक शिक्षा हिलेपानी संस्कृत मा.वि. दोलखामा भएको हो । व्यक्तिगत हैसियतबाट एस.एल.सी. परीक्षा उत्तीर्ण गरेपछि उनले रत्नराज्यलक्ष्मी क्याम्पस, काठमाडौँबाट आई.ए. परीक्षा र पशुपति क्याम्पस काठमाडौँबाट चाहिँ २०६५ सालमा बी.एड. परीक्षा समुत्तीर्ण गरिन् ।
आफ्नो अनुवांशिक धार्मिक आध्यामिक संस्कारकासाथै तिब्बती भाषाका ज्ञाता तथा बौद्ध दर्शनका विद्वान् पुण्यप्रसाद पराजुली (भोजपुर) सँग विवाहित भएसँगै तिलस्मीलाई तिब्बती भाषा सिक्न र बुद्ध दर्शनबारे अध्ययन गर्न अभिप्रेरणा प्राप्त भयो र शिक्षा आर्जनको क्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयबाट बुद्ध दर्शनमा एम.ए. र त्रिविबाट संस्कृतिमा पनि एम.ए. पूरा गरिन् ।
समिक्षक: प्रा.गोपीकृष्ण शर्मा
सानै उमेरदेखि डायरीमा केही न केही लेखिरहने उनको बानी थियो । फुटकर रुपमा कथा, कविता, गजल, मुक्तक र लेख रचनाहरु पत्रपत्रिकामा प्रकाशित पनि भएका छन् । यसै क्रममा उनी मुक्तक वाचन र लेखनमा बढी सक्रिय भइन् । यस्तैमा २०७४ सालमा उनले अमृताञ्जली नामक मुक्तकसङ्ग्रह प्रकाशनमा समेत ल्याएकी छन् । अहिले राष्ट्रिय अभिलेखालय काठमाडौँमा कार्यरत तिलस्मी प्रभासले आफ्नो अध्ययन-अनुसन्धानलाई अगाडि बढाउँदै बुद्ध दर्शनमै विद्यावारिधि गर्ने प्रक्रियामा देखिन्छिन् ।
तिब्बती भाषामा प्रशिक्षित भएपछि उनले २०६३-२०६९ सात वर्षसम्म गुम्बा स्कुल बौद्धमा भिक्षुहरुलाई नेपाली भाषाको किताब तिब्बती भाषामा अनुवाद गरेर शिक्षा दिएकी हुन् । यस प्रकार शिक्षा क्षेत्रमा आफ्नो अनुभवप्राप्त गरिसकेकी तिलस्मीले जागिरको साथसाथै साहित्य सिर्जनालाई पनि अगाडि बढाइरहेकी छन् । त्यसैको साक्ष्य हो यो प्रकाश्यमान् दोस्रो कृति मुक्तकाञ्जली । कवयित्री तिलस्मीले मुक्तक सिर्जनालाई यतिखेर आफ्नो प्रमुख क्षेत्र बनाएकी छन् । मुक्तक विधामै पहिलो कृति प्रकाशन गरेकी तिलस्मीको अहिले पनि मुक्तक विधाकै अर्को कृति प्रकाशनमा ल्याइने तरखरमा केही मन्तव्य लेखाइ माग्न उनी म कहाँ आइपुगिन् ।
दुई सय सोह्र मुक्तकहरु सँगालिएको पहिलो कृतिको भाव पक्षले बढी स्पर्श गर्यो । सांस्कृतिक परिवेश, मर्यादापूर्ण जीवनशैली, बुद्ध दर्शनको गरिमा, मानव-मानवबीचको सौहार्द र शिष्ट प्रणय सन्दर्भजस्ता विषय क्षेत्रका भावहरु मुक्तक शैलीमा यस कृतिमा प्रस्तुत रहेका छन् । पाठकीय आस्वादका लागि अमृताञ्जलीको एउटा मुक्तक यहाँ उद्धृत छ –
मुटुभित्र फूलसँगै काँडा नि पालेपछि
त्यहीँ काँडाले नै मुटु खोप्न थालेपछि
फूलले मात्र त सान्त्वना दिनै सकेन
काँडा स्याहारी फूल त्यसै फालेपछि ।५१।
यस्ता मर्मस्पर्शी भाव रहेका मुक्तकहरुको सिर्जना गर्ने कवयित्री तिलस्मीको सद्य:प्रकाशमान मुक्तकतर्फ आँखा दौडाउँछु । केही दिन त मुक्तकको स्वाद लिँदैमा बितेछन् । ताकेता हुन थालेपछि यस कृतिको आफ्ना धारणा राख्न थालेको छु ।
मुक्तकको संरचना मोटामोटी चार पङ्क्तिमा लयात्मक ढाँचामा हुन्छ । पहिलो, दोस्रो र चौथो पङ्क्तिमा अन्त्यानुप्रास मिलाइएको हुन्छ र उद्यान्तमा फाँकी मिलेका वाक्यहरु रहन्छन् । तेस्रो पङ्क्तिमा अरु पङ्क्तिसरह तुकान्तता र फाँकीहरु रहँदैनन् । चार पङ्क्ति सिङ्गो सङ्कथनमा हुन्छ । अरु मुक्तकसँग शृङ्खलीय हुँदैन । पहिलो पङ्क्तिमा कथ्यको उठान हुन्छ, दोस्रोमा कथ्यको विस्तार हुन्छ, तेस्रोमा सार तथ्य हुन्छ र चौथोमा उपसंहार रहन्छ । मुक्तकाञ्जलीबाट नै संरचनागत उदाहरणका लागि एक मुक्तक यहाँ उद्धृत छ –
भोज, भतेर र रमाइलो, क्षणिक वा रातको रैला हो
धन, सम्पत्ति र जायजेथाहरु, सबै हातको मैला हो
जति कमायो, उति चाहना बढ्छ, अतृप्त प्यासझैँ
कुकर्म गरी कमाएर थुपारेको धन, पापको घैला हो ।१२१।
मुक्तकाञ्जलीमा छोटा-लामा लय ढाँचाका तीन सय चौबीस मुक्तकहरु रहेका छन् । जीवनका आन्तरिक र बाह्य पक्षलाई यिनले विषय बनाएका छन् । आन्तरिक पक्षतर्फ जगत् निरपेक्ष चिन्तनका चरणहरु छन् । आध्यात्मिक अनुभूति र खास गरी बुद्धदर्शनका सारतङ्खवहरु छन् र ऊर्ध्वमुखी यात्रापथहरु छन् । मुक्तकहरुले निर्देश गरेका बाह्य पक्षतर्फ जीवन-जगत्का घाम-छाया छन्, सुख-दु:खका चक्रहरु छन्, मिलन-बिछोडका संवेदनाहरु छन् र स्वार्थका जालहरु छन् । स्रष्टाको दृष्टि बढी मात्रामा अन्तर्मुखी छ र सांसारिक मर्यादालाई कायम राख्दै पूर्वीय दर्शनमा परिपोषित ज्ञानतर्फ जागरूक हुनुपर्ने मान्यताहरुलाई धेरैजसो मुक्तकहरुले जोड दिएका छन् । केही चिन्तनहरु निम्नलिखितअनुसार प्रस्तुत छन् । संसारको मायामोहमा फसेर कसैलाई वास्तविक तृप्ति हुँदैन, शान्ति मिल्दैन । बरू मनलाई मोडेर आध्यात्मिक ज्ञानको योग साधनामा प्रवृत्त भए वास्तविक तृप्ति प्राप्त हुन्छ । त्यसैले भोगमा होइन, योगमा विशेष ध्यान दिनुपर्दछ । निर्वाण वा मुक्ति-जीवनमुक्तिका लागि पनि योग साधना अपेक्षित छ भन्दै तिलस्मी भन्छिन् ।
संसारको भोग जति नै गरुँ तृप्ति हुन्न बरू भोगी बनिन्छ
जति खायो उति राग बढ्छ तृप्ति हुन्न बरू रोगी बनिन्छ
संसारभित्रै भौँतारिन्छ मान्छे आफ्नै क्लेशको भुमरीमा
निर्वाणमा लागि योग गरे अतृप्ति हुन्न बरू योगी बनिन्छ ।४।
आफ्नो धर्म, दर्शन र संस्कृतिलाई कहिल्यै भुल्नु हुँदैन । गीतामा पनि ‘स्वधर्मर्े मरणं श्रेय: परधर्मो भयावह:’ भनिएको छ । परम्परा प्राप्त आफ्नो सेवामुखी जीवनशैली, शुद्ध-साङ्खिवक खानपान र आफ्ना त्रिपिटक र गीताका दर्शनहरुलाई आफ्नो जीवनको मार्ग निर्देशक बनाउनुपर्छ भन्दै जीवनयात्राका बारेमा कवयित्री तिलस्मीको आग्रह छ ।
जति आधुनिक विदेशी भोजन गरे पनि आफ्नो सिता भुल्नुहुन्न
जति विद्वान् भए पनि आफ्नो दर्शन, त्रिपिटक र गीता भुल्नुहुन्न
एउटाको दर्शन र स्वाभिमानलाई अर्काले ससम्मान स्विकार्नुपर्छ
चक्रवर्ती सम्राट् नै भए पनि आफूलाई जलाउने चिता भुल्नुहुन्न ।२०।
त्याग र समर्पण भाव जीवनका यात्रापथ हुन् । सङ्ग्रह र लोभ जीवनका अपठ्यारा बाटा हुन् । जति आफूलाई जीवन चलाउन अत्यावश्यक हुन्छ, त्यति नै आफ्नो हो । त्योभन्दा बढी सञ्चय गरेमा मौरीले मह जम्मा गरेकै अवस्था हुन्छ । मह जम्मा गर्न कति कष्ट हुन्छ तर अन्तमा मह काढ्नेले सबै लगिदिन्छ । त्यसै हुनाले त्यागमा जोड दिनुपर्दछ र त्यसबाट मात्रै विशेष शान्ति प्राप्त हुन्छ भन्ने आशयलाई केन्द्रमा राखेर मुक्तककार भन्दछिन् –
त्यागमा कति मजा हुन्छ, त्यो पिएर त हेर्नुस्
अरुका लागि ज्यूँनुमा के छ, जिएर त हेर्नुस्
त्यागको नशै बेग्लै, हुन्छ पिउने मान्छे एक्लै
स्वार्थ त्यागेर त्यागको मजा, लिएर त हेर्नुस् ।१२६।
प्रणय भावका पनि केही मुक्तकहरु छन् । मर्यादापूर्ण प्रेमलाई कवयित्री तिलस्मीले विशेष महत्व दिएकी छन् । उनको विचारमा समर्पण भावयुक्त प्रेम वास्तविक प्रेम हो । आत्मिक प्रेमप्रति उनको आस्था रहेको छ । भौतिक प्रेम क्षणिक हुन्छ भन्ने तथ्यसँग उनी परिचित छन् । त्यसैले मनमा रहेको आत्मिक प्रेमलाई महङ्खव दिँदै उनी भन्छिन् –
यो मन, मुटुमा तिम्रै पवित्र प्रेम राखेकी छु
मन, शरीर दुवै तिम्रै यादहरुले ढाकेकी छु
तिमी कति बुझ्न सक्छौ थाहा छैन प्रिय !
अब प्रेममात्र गर्छु विवाद गर्दा थाकेकी छु ।१६०।
यहाँ स्रष्टालाई आफ्नै पहिरन गुन्युचोली र टोपी, दौरासुरूवाल मन परेको हुन्छ । नेपाली भाषाको गीत र सङ्गीतमा मन लोभिएको छ । नेपालीहरुको निश्छल व्यवहार र अरुलाई सम्मान गर्ने दृष्टि मन परेको हुन्छ । यस्तै देश प्रेमको भावना निम्नलिखित मुक्तकले व्यक्त गरेको छ ।
मनपर्छ टोपी र चोली नेपाली ढाकाको
मनपर्छ गीत र सङ्गीत नेपाली भाकाको
म त परेँ धीर गोर्खालीका सन्तान हजुर
मनपर्छ निर्दाेष भावना नेपाली आँखाको ।१७६।
मान्छेको स्वार्थी प्रवृत्ति उसकै लागि प्रत्युत्पादक भइदिन्छ । सित्तैंमा पाए सुर्ति समेत खाएर फुर्ती देखाउने र काम गर्न परेमा भाग्ने बानी कतिपय मान्छेमा नदेखिएको होइन । यस खालको स्वार्थी आचरणप्रति आक्रोश व्यक्त गर्दै मुक्तकले भनेको छ –
सित्तैंमा पायो भने त सुर्ती नै पनि खाइदिन्छ
उस्तै सोझो पायो भने फ्री पनि गाइदिन्छ
टुक्रे उस्ताद विचरो ऊ अल्पविद्या भयङ्कर
दुनो सोझिएन भनेदेखि घुर्की पनि लाइदिन्छ ।२००।
मान्छेको पहिचान बाहिरी भेशभूषाले होइन भित्री मानवतावादी भावनाले यथार्थरुपमा गर्न सकिन्छ । सुन्दरता भनेको बाहिरी आवरणको हुँदैन, भित्री आवरणको हुन्छ । जति शुद्ध आचरण र निस्वार्थ सेवा भाव हुन्छ त्यति नै उसको महत्व रहन्छ । मुक्तकमा भनिएको छ –
बाहिर हेर्दा सुन्दर आवरण हुन्छ भित्र क्लेशको घैला हुन्छ
वस्त्र आभूषण जति महँगा हुन्छन् त्यति नै मन मैला हुन्छ
दुनो सोझ्याउन धाउँछ सोझ्याएपछि आफैँ तर्कन थाल्छ ऊ
बाहिर जति दर्शनिक देखिन्छ भित्र त्यति नै खैलाबैला हुन्छ ।२३१।
जिन्दगी फूलको बिछ्यौना मात्र होइन, काँडाको पर्खाल पनि हो । केही दिनको सुख मिल्दैमा हौसिनु मूर्खता हो । सुख र दु:ख जीवन रथका दुई पाङ्ग्रा हुन् । त्यही दिन कसैका लागि सुखका हुन्छ भने कसैका लागि दु:खका बनिदिन्छ । दु:ख आउनु छ भने आफ्नो भनिएको मानिस पनि वैरी बनिदिन बेर लाग्दैन । यही तथ्यबारे मुक्तक भन्दछ –
नसोचौँ कि फूलैफूलमात्र हो जिन्दगी तर बढी काँढा हुन्छ
सुखै चाहे तापनि दु:ख आइलाग्छ दु:ख त झनै गाढा हुन्छ
मनले कहिल्यै अविश्वास गर्न नसकेको त्यो इमानदार पात्र
जसलाई आफूभन्दा नजिक ठानिन्छ ऊ त झनै टाढा हुन्छ ।२८३।
देशभक्तिको नाममा जीवन उत्सर्ग गर्नेहरु शहीद हुँदै हुन्, गङ्गालाल, धर्म आदि वीर सपूतहरु यस पङ्क्तिमा आउँछन् तर अहिले भने आफ्नै स्वार्थका लागि देह त्याग गर्ने र प्राकृतिक दुर्घटनामा परेकाहरुलाई पनि शहीद भन्न थालिएको बेथितिप्रति आक्रोश व्यक्त गर्दै कवयित्री तिलस्मी भन्छिन् –
अब त सामान्य मृत्युलाई पनि शहीद भनाउँछन्
आन्दोलन र चक्का-जाम गरेरै शहीद बनाउँछन्
देश के हो देश भक्ति के हो र शहीदहरु को हुन्
अर्थ नै नबुझी कसरी यो दिवस शहीद मनाउँछन् !२९९।
आफ्नो देशको उन्नतिका लागि पराइ देशको सहयोग माग्ने र अँगाल्ने प्रवृत्ति राम्रो होइन । आफ्नै दश नङ्ग्रा खियाएर परिश्रम गरेर देशलाई सम्पन्न र आत्मनिर्भर तुल्याउनुपर्छ । यस पक्षमा जोड दिँदै तलको मुक्तकले सल्लाह दिएको छ –
आफ्नै देशमा आफ्नै पखुरा चलाउनुपर्छ
मीठामीठा फल दिने आँकुरा फलाउनुपर्छ
कसको भर पर्ने ? हामीले नगरे कसले गर्ने ?
अब यहाँ जालोसहितकै माकुरा गलाउनुपर्छ ।३०२।
जीवनलाई सुखी वा दु:खी बनाउनुमा आफ्नै हात हुन्छ । जे छ त्यसैमा सन्तुष्ट भएर ‘सन्तोष: परमं सुखम्’ मान्ने हो भने झुपडी पनि स्वर्ग समान हुन्छ । लोभ लालचका तिर्सनाहरु बढाउँदै जाने हो भने हृदयमा सधैँ अतृप्ति र छटपटी मात्र हुन्छ । त्यसैले जीवनलाई झोंजका रुपमा होइन उत्सवका रुपमा चलाउनुपर्छ भन्दै कवयित्री भन्छिन् –
झोज माने जीवन झोजै हुन्छ मोज माने मोजै हुन्छ
सोच माने जीवन सोचै हुन्छ खोज माने खोजै हुन्छ
जीवन कस्तो बनाउने आफै नक्सा कोर्न सक्नुपर्छ
बुझे त जीवन अमूल्य रत्न हुन्छ नबुझे त बोझै हुन्छ ।३०४।
मान्छेको पहिचान बाहिरी पहिरन र शारीरक सौन्दर्यले हुँदैन, बानी-बेहोरा र असल आचरणले मात्र गर्न सकिन्छ । कुनै वस्तु पनि बाहिरी खोलले होइन भित्री गुदीले मात्र पारख गर्न सकिन्छ । यही तथ्यलाई तलको मुक्तकले स्पष्ट गरेको छ ।
गुदी हेरिँदैन त्यसैले आकर्षण बढेको छ बाहिरी खोलमा
इज्जतको निर्धारण हुन्छ इज्जत किन्न तिरेको मोलमा
सस्ता लोकप्रियताका खोलहरु छिट्टै फाट्ने गर्छन् प्राय:
चोक्टा खान गएकी बूढीको मृत्यु हुन्छ डुबेर झोलमा ।३२४।
यहाँ कृतिका केही मुक्तकहरु उदाहरण रुपमा दिइएका हुन् । सबैजसो मुक्तकहरु श्रुतिमधुर छँदै छन्, भावपक्षबाट पनि मानव हृदयलाई सुखद् स्पर्श गर्ने प्रकृतिका छन् । भावलाई व्यक्त गर्न शब्द चयन र लयले साथ दिएको छ । पढ्दै जाँदा प्रस्तुतिले मस्तिष्कमा र अन्तर्भाव हृदयमा प्रभाव पारेको अनुभव हुन्छ । बहुसङ्ख्यक मुक्तकहरु लामो र मझौला आयामका छन्, केही मात्र मुक्तक छोटो आयामका छन् । कतै शास्त्रीय लय र कतै लोकलयलाई पछ्याइएका संरचनाहरु हुन् । स्वभावोक्ति, अतिशयोक्ति, उपमा र अर्थन्तरन्यास अलङ्कारका बान्कीहरुले कथ्यलाई तीक्ष्णता प्रदान गरेका छन् । आभ्यासिक तहबाट माथि उठेको र मुक्तक रचनाको परिपाकतर्फ उन्मुख भएको संरचनाशैली यी मुक्तकले वरण गरेका छन् । धर्म, संस्कृति, जीवनदर्शन, राजनैतिक दुश्चक्र, आर्थिक दुरवस्था र सामाजिक विकृतिलाई छोएर विम्बात्मक रुपमा यी मुक्तकहरु आएका छन् । सामाजिक जीवनका विकृति औंल्याएर शुद्ध र मर्यादापूर्ण जीवनतर्फ उन्मुख हुनुपर्ने सन्देश पनि कतिपय मुक्तकले प्रवाहित गरेका छन् । कवयित्री तिलस्मी प्रभासमा साधना छ, समर्पण भाव छ र उर्ध्वमुखी चिन्तन छ । त्यसैले यी मुक्तकहरुले नराम्रोलाई पन्छाएर राम्रैराम्रोतर्फ अभिमुख हुने प्रेरणा प्रदान गरेका छन् ।
यो भूमिका होइन । भूमिका त स्रष्टाहरुले नै लेख्ने गर्छन् । कृति पढेर पारेको प्रभावलाई शब्दश®यामा व्यक्त गर्ने काम मात्र हो । वास्तवमा जे आएको छ, राम्रै आएको छ । मुक्तक संरचना सिद्धितर्फका अग्रगामी पाइला हुन् यी अभिव्यक्तिहरु । यी मुक्तकहरुले कवयित्री तिलस्मी प्रभासलाई साधनाशील मुक्तककारका रुपमा उपस्थापन गरेका छन् । कवयित्रीको भविष्य हरियालीपूर्ण छ । आगामी दिनमा पनि मुक्तकका साथै अन्य विधा पनि आऊन् भन्ने आशा एवं विश्वासका साथ साधनाप्रति साधुवाद ।































प्रतिक्रिया