हुन त यो भुल्नपर्ने ईतिहास हो । धेरै पुरानो कुरा हो । सायद बीस वर्ष भन्दा धेरै समय बित्यो होला । कुनै कुनै कुराहरु जति पुराना भए त्यति दिमागमा जमेर बस्ने रहेछन । "/>

संस्मरण: कुलुक्क माया

संस्मरण: कुलुक्क माया

केन्द्रबिन्दु
0
Shares

हुन त यो भुल्नपर्ने ईतिहास हो । धेरै पुरानो कुरा हो । सायद बीस वर्ष भन्दा धेरै समय बित्यो होला । कुनै कुनै कुराहरु जति पुराना भए त्यति दिमागमा जमेर बस्ने रहेछन । यी कुराहरु भुल्नाले जिन्दगीमा केहि फरक पर्दैन तर सम्झिरहनाले भने एक्लै भएको अवस्थामा पनि ति यादहरु आउछन र आफैलाई मुसुक्क हँसाएर जान्छन ।

त्यो समय, म पूर्ण रुपमा तन्नेरी समेत भएको थिईन । परिस्थितिले मलाई ‘अब बिहे गर्ने उमेर पुगेको’ केटाको रुपमा उभ्याएको थियो । मेरालागि केटी हेरिने क्रम सुरु भएको थियो । म फरक फरक ठाउमा ‘केटी हेर्न’ गईसकेको थिएँ । दुइ तिन ठाउमा केटी हेरिसक्दा पनि मैले आफुले बिहे गर्नको लागि कस्ती केटी हेर्न चाहान्छु भन्ने बुझ्न सकेको थिईन ।

‘दाजी केटी मन परेको र नपरेको कसरी था’पाम्नी हो त’ ? मैले भान्दाईको मुखमा हेर्दै नहेरी सोधें । हामी भर्खरै बजारबाट ओरालो लागेका थियौं । मलाई घरबाट आदेश दिईएको थियो । तल फाँटमा रहेको गाउँमा कोहि नातेदारको घरमा पुगेर केटी हेर्नुपर्ने र मन पनि पार्नुपर्ने बा को निर्णय सुनेर बाहिरिएको म केटी मन पराउने सुत्र पत्ता लगाउदै थिएँ ।

भान्दाईले मुसुक्क हास्दै भन्नुभो, केटी देख्ने वित्तीकै ‘कुलुक्क मयाँ लाओ’ भनी त्यो केटी मन परी भन्नी बुज्नु..! मैले सहमतीमा टाउको हल्लाएँ तर यो ‘कुलुक्क मयाँ लाउदा कस्तो हुन्छ ?’ मैले केहि मेसो बाटो पाईन । त्यतीन्जेल हामी कालीगण्डकीको किनारमा पुगीसकेका थियौं। कसरि लाग्छ यो ‘कुलुक्क मायाँ’ कतै केटी देख्ने बित्तिकै किलकिले पो समात्छ कि मायाँले ! दिमागमा कुलुक्क मायाँ खेलाउदै म भान्दाईको पछी लागिरहें ।

मेरा भान्दाई बाकै उमेरका हुनुहुन्थ्यो।हामी दाजुभाई सबैको विहे गर्दिने जिम्मेवारी बा ले भान्दाईलाई नै सुम्पनु भएको हो । म चाहेर पनि दाजीको आदेश काट्न सक्ने अवस्थामा थिईन । मैले फेरी घुटुक्क थुक निलें।खुसुक्क दाजीको अनुहारमा हेरें । मलाइ हेरेर दाजी मुसुक्क हास्नुभो । दाजीको अनुहारको रंग हेरे थाहा पाएँ रिसाएका छैनन् बुढा । मलाई अलि संतोष भो । फेरि सोधें, दाजी यो ‘कुलुक्क मयाँ’ कसरी लाउछ ? बुढा एकाएक जंगीन्छन कि भनेको त हलल हाँसे, हाँसो रोकिएपछि खक्क गरेर मुख भरि खकार बटुले अनि पर पुग्ने गरि थुके  । मलाइ घिन पनि लाग्यो र रिस पनि उठ्यो । यता आफुले मायाँ कसरि लाउछ मेसो पाउन सकेको छैन बुढा भने मलाइ गिज्याएर हासिरहेछन ।

मेरो काम खुरुखुरु भान्दाईको पछि लाग्नु, ककेटी हेर्नु, केहि कुराकानी गर्नु अनि फर्केर घर पुगेपछि मन परेको या नपरेको सुनाउनु मात्र थियो । मलाई मन पर्दैमा या कुलुक्क मायाँ लाग्दैमा बिहे हुन्छ नै भन्ने ग्यारेन्टी पनि त थिएन । फेरि पनि पछी लागेर जानु त थियो नै । त्यहि पनि कुलुक्क मायाँ को बिषयमा दाजीबाट केहि परिभाषा आउला कि भनेर म आशावादी बनिरहें ।

कालिगण्डकीबाट अलिकति उकालो लागेपछि भान्दाईले मलाइ रोकेर भन्छन, “हेर बाबै तँ एकछिन हामी संग बस त्यहा चिया पानी लिएर केटी आउछे । तैले केटीको अनुहारमा हेर, म तलाई हेर्छु, तैले केटी मन पराएको र नपराएको मैले तेरो अनुहार हेरेरै थाह पाउछु चिन्ता नगर” ।

वाह मेरा भान्दाजी कति अनुभवी । भाइको थुतुनों हेरेरै भाईले के चाहान्छ भन्ने अड्कल काट्ने मात्र होइन ठ्याक्कै थाहा पाउन सक्ने कति ठूलो खुवी भएका । दाजीले त्यति भनेपछि मेरो मन शान्त भयो । म त त्यहाँ पुग्दिने, कतिको अनुहार हेर्दिने चिया खाइदिने र दाजिको पछी लागेर लुरुलुरु घर आइदिने मात्र न हो । मलाई केटी मन परेको नपरेको, मायाँ लागेको लागेको दाजीले मलाइ हेरेर थाहा पाइहाल्नुहुन्छ अनि बाले दाजिलो मुख हेरेपछी बुझिहाल्नुहुन्छ । कस्ता अपरम्पार र अलौकिक शक्ति भएका दाई र बा छन् मेरा । म मख्ख पर्न र घोसेमुन्टो लाउन बाहेक केहि जान्दिन ।

हामी हेर्ने भनिएकी केटीको छिमेकमा पुगीयो। त्यहाँसम्म पुग्दा दिनभरिको हिंडाईले लखतरान परिसकेको थिएँ । चनौटे काकाको पिढीमा फालीएँ म । चनौटे काका हाम्रा नजीककै नातेदार हुन सायद । बा को सानीमाका छोरा हुन । त्यसैले हामी काका भन्छौ । भान्दाई र काका खासखुस बात मारे उतापट्टी । खै के भने मैले बुझीन। अनि आँगनको डिलमा उभीएर हाआक्थु गरेर पर बारीमा पुग्ने गरि फेरी थुके बुढाले । ए माझरेकि छोरी पो हेर्नी ! अँ दमाल त मिल्च है यिनीहरुको तर केटी अली गोरी छ । हाम्रो केटो कल्सम्दो छ । कालेलाई गोरी केटी बिहे गरि दिए जायजन्म ठिक्कका हुन्छन।

मैले केटी हेरेकै छैन । बुढाहरुले छोराछोरी पाउने सम्मका कुरा गरेको सुन्दा मलाई भाउन्न भयो । भित्र भित्रै लाज र रिसले मुर्मुरीएको म काकालाई हेरेर मुसुक्क हासें । केटी सँग बात मार्चस ? भन्दै बुढा मेरै आडमा आएर ढसक्क बसे । मैले पुलुक्क भान्दाईको मुखमा पुलुक्क हेरें । एकफेर बात मार्छु..! मैले घोप्टो परिपरी आवाज निकालें।

केहीबेरमा कुर्तासुरवाल लगाएकी डल्ली डल्ली केटी थालमा चियाको गिलास लिएर मेरो अगाडि आइपुगी । मैले पुलुक्क केटिको मुखमा हेरें । केटी लाजले रातो पिरो भएकी थिई । मेरो मुटु ढकढक गरिरहेको थियो । कानमा हावा भरिएर केहि नसुनीए जस्तो अगाडि केटीलाई देख्दा आँखा अगाडि तोरीका फुला नाचेजस्तो तिरिमिरी भईरहेको थियो । त्यसको मुखमा हेर्दा मलाई कुलुक्क मायाँ लाग्यो त ? मैले बुझ्न सकिन तर मेरा भान्दाईले बुझ्नुभयो । भान्दाईले मात्र होइन चनौटे काकाले पनि बुझिसके अनि घरमा बाले समेत बिहानै बुझिसक्नु भएको रहेछ । नबुझ्ने लन्ठु त म मात्रै रहेछु ।

त्यहाँबाट फर्केयौं। घरमा मलाई केटी देख्ने बित्तिकै ‘कुलुक्क मायाँ’ लागिसकेकोले मेरो बिहे उनी केटी  संग हुने पक्कापक्की भईसकेको रहेछ । बेलुका मैले झिटीगुन्टा पोको पारेर सुतें । चार बजेतिर आमाहरु उठ्नुभन्दा अगाडि नै कसैले थाहा नपाउनेगरी उठेर काठमाण्डौ जाने बस भेट्टाउन च्याँङ्गदि खोलाको किनारै किनार बेत्तोडले दौडिएँ । म अहिलेसम्म पनि त्यो सुत्र पत्ता लगाउने कोशिस गरिरहेछु । यो ‘कुलुक्क माया’ कसरी लाउछ ?

Skip This
Skip This
Logo