विवाह

विवाह एउटा पुरूष र स्त्रीकाबीच सम्बन्ध कायम गराउने गठबन्धन हो । "/>

प्रेम के हो ? विवाह के हो ?

प्रेम के हो ? विवाह के हो ?

केन्द्रबिन्दु
42
Shares

विवाह

विवाह एउटा पुरूष र स्त्रीकाबीच सम्बन्ध कायम गराउने गठबन्धन हो । सामाजिक रीत-चलन र पद्धति हो, संस्कार र बन्धन हो । विवाह परिणय हो र परिणय विवाह हो । विवाह सामाजिक, धार्मिक तथा कानूनी हुने गर्दछ ।

मानिस स्वभावैले सामाजिक प्राणी हो । समाजविनाको मानवको परिकल्पना गर्न सकिँदैन । सृष्टिका यावत् जीव मात्र खोजमेल गरेर जीवन चलाउँछन् तर मान्छे खनेर, खोस्रेर, रोपेर खाने प्राणी हो । मान्छे आफूलाई आवश्यक परेको वस्तुको निर्माण गर्ने हैसियत राख्दछ । त्यसैले पनि मान्छेलाई अरु जीवको तुलनामा चेतनशील मान्नै पर्दछ । खानु मात्र पनि मान्छेको जीवन होइन भन्ने कुरा उसको अन्तस:मा घुसेको पनि छ । समाजमा व्यक्ति व्यक्तिले आफूखुसी मन लागेको गर्दै हिँड्दा भद्रगोल र अव्यवस्थाको हालत हुँदै जाँदा मान्छेले नियम,विधि,कानून,संस्कार,धर्म आदिको निर्माण गरेको देखिन्छ । जसले जोसँग पनि आफू खुसी शारीरिक सम्बन्ध बनाउँदै जाँदा समुदायमा अन्योलको वातावरण बनेकोले मान्छेले मान्छेसँगको शारीरिक सम्बन्ध बनाउने कुरालाई विवाह प्रणाली वा पद्धतिमा ढालेको देखिन्छ ।  यो पद्धति समय, परिवेश, परिस्थिति, स्थान अनुसार आआफ्नै खालको बन्दै गएको पाइन्छ । विवाहको चलनमा देशको नारी पुरूषको सङ्ख्याको पनि ठूलै भूमिका रहेको देखिन्छ ।

यदि एउटा क्षेत्र वा देशमा नारीको सङ्ख्या पुरूषको भन्दा दोब्बर छ भने नारीको यौन आवश्यकतालाई हेरेर एउटा पुरूषले दुई नारीसँग सम्बन्ध राख्नैपर्ने वा विवाह गर्नपर्ने हुन्छ र यदि पुरूषको सङ्ख्या नारीको भन्दा दोब्बर छ भने पुरूषको यौन आवश्यकतालाई हेरेर एउटा नारीले दुई पुरूषसँग सम्बन्ध राख्नैपर्ने वा विवाह गर्नपर्ने हुन्छ अन्यथा समाजको शान्ति वा अवस्था खलबलिनेछ ।

सामाजिक विचलन नआओस् भनेर यसको व्यवस्था समाजमा विभिन्न विधि, नियम, कान्ून, धर्म वा चलनबाट गरिँदै पनि आएको हुन्छ । हाम्रै देशमा पनि दुई तीन सय वर्ष अगाडिसम्म एउटा राजाले आठओटासम्म विवाह गरेको पाइन्छ । क्रमश: समय र सङ्ख्याको गणितले सीमित पार्दै लगेको छ । अहिले पनि देश अनुसार कतिपय ठाउँमा बहुपति प्रथा र बहुपत्नी प्रथा छँदै छ ।

विवाह वास्तवमै यसकारण पनि सामाजिक तथा धार्मिक ठूलै बन्धन हो र बनिरहेकै छ । एक किसिमको खुल्ला जेल नै हो विवाह । मान्छेलाई थुनेको छैन तर कैदमा छ, हथकडी लगाएको छैन तर बन्धनमा छ । विवाहको चलन समाजमा धर्मसँग जोडिएपछि यो मानव, परिवार र समाजको मर्यादाको रुपमा समेत स्थापित हुन पुगेको छ । यो बन्धनले कति ठाउँमा मर्यादा भङ्ग पनि गरेको छ भने यो बन्धनले कतिपय ठाउँ र अवस्थामा धर्म, संस्कार, चलन, परम्परा र समाजको दृष्टिले अनगिन्ती अन्याय, अत्याचार, हिंसा र विसङ्गति पनि निम्त्याएको छ । सोझो र बाङ्गो, इमान्दार र बदमाश, बोल्न सक्ने र नसक्नेका बीचको विवाहले अनेकन शास्ती, मानव र समाजलाई दिएको पनि छ तर पनि बहुलतामा मनपरी तन्त्रको भने ढोका बन्द पनि भएको छ ।

विवाह बन्धन चलन, विधि विधानका कारण एकातिर अन्याय, अत्याचार र मनपरी तन्त्रमाथि बन्देज लगाउन सफल छ भने अर्कोतिर मान्छेको आफ्नो चाहना, इच्छामा मात्र बन्देज नलागी विचार र भावना मारेर बाध्य बनेर अर्कोको अन्याय, अत्याचार सहेर दबिनु पनि परेको छ मान्छेले । कानूनले केही बाध्यता खुल्ला गरे पनि समाज र धर्मका कारण धेरै मान्छे कानूनको दायराभित्र जान नसकी खुम्चिन बाध्य पनि छन् भने कोही आफ्नो आवश्यकता र इच्छापूर्तिका लागि समाज र कानूनकै बन्धन तोड्न तम्तयार वा बाध्य पनि देखिन्छन् ।

२ प्रेम

प्रेम कुनै विषय वा व्यक्ति उपर मनमा पैदा हुने आकर्षण, अपनत्वको भाव, कोमल आत्मिक भावना, स्नेह, ममता, ममत्व, प्रियता, प्रीति, अनुराग, प्यार, माया, दया, कृपा, हर्ष, खुसी, लोभ वा हार्दिक मेल हो भने अनुग्रह र क्षमासँग पनि प्रेम जोडिएको छ र प्रेम भक्तिसँग पनि जोडिन पुग्दछ । त वास्तवमा प्रेम के हो ? किन हुन्छ प्रेम ? प्रश्न सजिलै आउँछन् तर व्यवहारमा उत्तर त्यति सजिलो छैन जसरी शब्दकोशले परिभाषित गर्दछ । प्रेमको बारे र फैलावटमा मान्छे जति डुब्दै र सोच्दै जान्छ त्यति कठिनाइ आउँदै पनि जान्छ ।

समर्पण, भक्ति, श्रद्धा, आस्था, विश्वास, भरोसा, भावना, सम्भावना, दया, कल्याण, करूणा आदि मात्र प्रेमको क्षेत्र होइन, क्रोध, रिस, कुण्ठा, लोभ, लालच, मूर्खता, गहिराइ जस्ता सृष्टिका प्राय: सबै भावजन्य वा वस्तुसँग प्रेमको अटुट सम्बन्ध गाँसिएको छ । वास्तवमा प्रेमको सार्थकता एकाकारमा छ, लयतामा छ, लीनतामा छ । विनाप्रेम न आस्था जन्मन्छ, न भक्ति जन्मन्छ, न दया उठ्छ, न क्रोध निस्कन्छ । प्रेमले नछोएको यो सृष्टिमा कुनै तत्त्व छैन । अब हेर्नोस् न ! परेवाले छेस्कछेस्की बटुल्छ, अण्डा पार्छ, बचेरा कोरल्छ, तिनलाई हुर्काउँछ र हुर्केपछि ती भुर्र उडेर फेरि आफ्नै अर्को संसार रच्नमा लाग्दछन् । ती जोडी परेवाले पाउने के हो ? तिनको स्वार्थ के हो ? तर पनि उसले पाउन र हुर्काउन छोड्दैन । कुकुर हेर्नोस् वा कुखुरा हेर्नोस् । बाघ हेर्नोस् वा बाख्रा हेर्नोस् । इलोक्ट्रन, प्रोट्रन र न्यूटनको एकाकार प्रेमकै कारण भइरहेछ । हो, दृश्य भईकन पनि अदृश्य छ प्रेम र अदृश्य भईकन पनि दृश्य छ प्रेम । मान्छेले जे गर्छ, जे बोल्छ, जे हेर्छ, जे सुन्छ वा जे सोच्छ सबै प्रेमकै कारण गर्दछ । प्रेमविना मान्छे न स्तुति गर्दछ, न गाली नै गर्दछ । कसैले कसैलाई राम्रो भन्नुमा पनि प्रेम छ र कसैले कसैलाई नराम्रो भन्नुमा पनि प्रेम छ । असल भन्नुमा पनि प्रेम छ र खराब भन्नुमा पनि प्रेम छ । सृष्टिको तङ्खव तङ्खवमा प्रेम छ । प्रकृतिको जन्मसाथ प्रेमको जन्म भयो भनेर म त ठोकेरै भन्न सक्छु, तपाईं नि ?

प्रेम, प्रेम हो यसको परिभाषा लाखौँ हजारौँ छ । देश, समय, परिवेश, परिस्थिति, अवस्था, आवश्यकता, बाध्यता र मान्छेका मनोभावना आदिले प्रेमको परिभाषाको निर्माण गर्दछ । मानसिक वा आत्मिक प्रेमले मान्छेको मानसिक सन्तुलन बनाउने र भत्काउने गरिरहन्छ भने शारीरिक प्रेमले मान्छेको व्यावहारिक सन्तुलन बनाउने र भत्काउने गर्दछ । मानसिक प्रेम भित्री हुन्छ र त्यसले मन-आत्माको भावलाई जगाउँछ । शारीरिक प्रेम बाह्य हुन्छ र त्यसले जीवनयापनको सन्तुलन बनाउँदछ । विनाप्रेम कसैसित कोही आबद्धमा लीन हुन सक्दैन

जसरी मानसिक प्रेम नभई शारीरिक प्रेम हुन सक्दैन, त्यसै गरी शारीरिक प्रेमले अन्तमा मानसिक प्रेम नजगाई रहन सक्दैन अर्थात् आत्मिक वा शारीरिक दुवै खाले प्रेममा मनको भूमिका नै सर्वोपरि हुन्छ । मन नै त्यस्तो एउटा तरङ्ग हो जसले प्रेम जगाउँदछ र मान्छे वा प्राणीलाई हरेक कुरामा सक्रिय राख्दछ । यदि आत्मिक वा शारीरिक प्रेमविना कुनै काम गरिन्छ भने त्यो प्रेम नभई अरु केही लोभ, लालच वा स्वार्थ आदि मात्र हो । मनोविज्ञानका ज्ञाता फयडका अनुसार त संसारमा कुनै जीव प्रेमविना केही गर्देन रे ! बाँच्नु र मर्नुमा पनि प्रेमकै हात छ रे ! उनी त स्पष्टै भन्छन् पनि मान्छे जे गर्छ गराउँछ, जे हेर्छ हेराउँछ, जे सोच्छ सोचाउँछ । सबैका एक मात्र कारण सम्भोग मात्र हो । मान्छेद्वारा संसारमा जे भए जे गरे ती सबैको मूल कारण सम्भोग हो । हुन पनि यो संसारमा भएका सबै निर्माण र संहारको कारण प्रेम नै हो ।

सम्भोग एक अर्थमा प्रेमको जन्मदाता पनि हो, प्रेमकै तत्व पनि हो । सम्भोगले नै प्रेमको जगलाई जन्माउने, बचाउने, घटाउने, बढाउने र मराउनेसम्मको भूमिका खेलिरहेको छ । वास्तवमा भाव, सोच र विचारको उद्गम पनि सम्भोग नै हो । मान्छेले गर्ने गराउने सबै सुख वा दु:खको मूल कारक तत्व सम्भोग नै हो । मैले मानवको चेतनाको धरातलको विकासको मूल कारण सम्भोग र हातको बुढी औँला नै हो भनेमा तपाईं के भन्नुहुन्छ ? अनुहारको भावले देखाउने सुख, आनन्द, पीडा र दु:खको प्रत्यक्ष प्रमाण हो सामुन्नेको सम्भोग । सम्भोगकालमा विपरीतले अनुहार हेर्ने मानवबाहेक कुन प्राणी छ ? पर्नुभयो के अलमलमा ? सोच्नुस् सोच्दैमा के बिग्रन्छ र ?

मेरो कुरो पत्यार नलागे नाङ्लोमा फ्याटफ्याट चामल निफनेर हेर्नोस् न । किन ढुङ्गो जति एकातिर, भूस जति अर्कोतिर र चामल जति झन् अर्कोतिर हुन्छ ? एक गाग्रो पानी खाली भूइँमा पोख्दा जसरी भए पनि बगेर वा सुकेर एकैतिर किन हुन परेको होला ? तिनलाई पनि वर्गीयता र प्रेम नै चाहिने ? अनगिन्ती मिलन र बिछोड, अनगिन्ती लय र विखण्डन मात्र प्रेमकै कारण मात्र हुन्छ । प्रेम नभएको ठाउँमा घृणा समेतको अस्तित्व रहन्न । यो सृष्टिका सबै प्राणी मात्र प्रेमकै कारण केही गर्दछ, सक्रिय बन्दछ । कुनै शक्तिले गर्न नसकेको काम प्रेमको शक्तिले क्षणभरमै गर्न र गराइदिन सक्दछ । विनाप्रेम न दया हुन्छ, न माया हुन्छ । न उत्पादन हुन्छ, न निर्माण हुन्छ । न घृणा जन्मन्छ, न क्रोध जन्मन्छ न त संहार नै हुन्छ । यस जगत्को चलयमानताको मूलकारक तत्व मात्र प्रेम हो मेरो दृष्टिमा । कसैले कसैलाई राम्रो भन्नुमा पनि प्रेम छ र कसैले कसैलाई नराम्रो भन्नुमा पनि अन्तत: प्रेमकै हुन्छ । असल भन्नुमा त प्रेम हुन्छ हुन्छ र खराब भन्नुमा पनि असल बनोस् भन्ने प्रेमभाव रहन्छ ।  

अब हेर्नोस् न बाबुआमाले नचिनेको नजानेकोसँग बिहे गराइदिए र प्रेम गर भने । विवाह के हो ? प्रेम के हो ? सम्भोग के हो ? जीवन नै पनि के हो ? भनेर जान्दै नजानी मान्छे सम्भोगमा होमिन्छ । जानी नजानी चाही नचाही बच्चा जन्मन्छ, अनि दया माया प्रेम पलाउँछ । तिनै सन्तानका लागि मन लागी नलागी गर्न हुने नहुने अनेक कृत्य र काम गर्दछ मान्छे । त्यही पुनरावृत्तिमा संसारको माथापच्ची चलिरहेछ । यदि प्रेममा सम्भोग नरहे मान्छे न बस्छ, न उठ्छ, न सुत्छ, न खान्छ, न कुनै कार्म, कृत्य वा काम नै गर्न जरूरी हुन्छ उसलाई । मात्र आफू बाँच्नु अनि सम्भोगको चाहना नै प्रेम भाव जन्माउने कारण हो र प्रेमको उद्गम हो । मान्छे जे गर्दछ सबैका सबै कृत्य मात्र प्रेमकै कारण गर्दछ अर्थात् सम्भोग नै सम्बन्धको मूल कारक हो र सम्बन्ध नै प्रेमको मूल कारक तत्व । कारण र कारक तपाईं अनगिन्ती खोजेर देखाउन, तेर्स्याउन सक्नुहुन्छ तर तिनको पनि मूल वा जडको गहिराइ खोज्दै जानुहुन्छ भने तपाईंको अन्तिम विन्दु सम्बन्ध, प्रेम र सम्भोग नै हुनेछ । सम्भोग, सम्बन्ध र प्रेम वा सम्भोग, प्रेम र सम्बन्ध यी परस्पर अविच्छिन्न छन् मेरो दृष्टिमा ।

वास्तवमा प्रेमविना मान्छे न बोल्छ, न हाँस्छ, नरून्छ, न रोष वा रिस नै पोख्न सक्छ । कुण्ठा, घमण्ड, अहङ्कार मात्र नभई रिस, क्रोध, घृणासम्मको जन्मको कारक तत्त्व अन्तरतलमा प्रेम नै हो । कसैको कसैसित सम्बन्ध हुनु र नहुनु वा रहनु र नरहनुमा प्रेमकै भूमिका प्रमुख हुन्छ त प्रेम के हो ? अझै छ बाँकी प्रश्न भने म यति मात्र भन्नसक्छु कि प्रेम मनको एउटा अमूर्त भाव वा तरङ्ग मात्र हो । तपाईं माने मान्नोस् नमाने नमान्नोस् तपाईंकै खुसी तर म यसरी बुझ्दछु ।

म तिमीलाई अपार प्रेम गर्छु र तिमी मलाई गर्छौ कि गर्दैनौ ? मेरो आवश्यकता पूरा गर्छौ कि गर्दैनौ ? त्यसको म कुनै सरोकार राख्दिनँ । कुनै आशा, चाह, लोभ र अपेक्षा मेरो तिमीसँग छैन । तिमी मलाई चाहु वा नचाहु तर पनि म तिमीलाई चाहिरहन्छु भन्ने समर्पणको भाव मात्र प्रेम हो । रौँ बराबरको शङ्का, चाह, आशा र अपेक्षा प्रेमको ढोंग हो प्रेम होइन र त्यस्तो प्रेम मात्र भक्ति बन्न सक्छ । जब कुनै रौँ बराबरको कारण जन्मन्छ त्यहाँ प्रेम हराउँछ र आवश्यकता, इच्छा, आशा र स्वार्थले घेर्दछ । विनास्वार्थ, विनाआशा, विनालोभ, विनाकारण गरिरहने समर्पण मात्र प्रेम हो र तपाईंले आफ्नो स्वभाव यस्तो अगाध प्रेममय बनाउन सके निश्चय नै तपाईंको प्रेम भक्ति बन्न सक्छ मेरो दृष्टिमा । जब कारण जन्मन्छ तब प्रेम हराँउछ, विनाकारण समर्पित बनिरहनु, सम्मान र विश्वास गरिरहनु, आस्था र श्रद्धाभाव प्रकट गरिरहनुको वा अगाध लग्गूपनको मनोभाव नै प्रेम हो ।

Skip This
Skip This
Logo