पश्चाताप, एउटै मात्र त्यस्तो कुरा हो जसको न माफी हुन्छ न त क्षतिपूर्ती नै । बश ! यसबाट पाठ सिक्नुभन्दा अरु कुनै बिकल्प नै छैन । तर जीवनभरकै जग ठानेको जीवनसाथी नै अलप भएपछि मैले अब के नै पो पाठ सिक्न सक्छु र । अब जति रोउ, जति चिच्याउ, जति माफी माग वा जति अनुनय बिनय गर । बरु बगेको खोला घुमेर फर्किन सक्छ तर मेरो जीवनको यो पीडामा मल्हम लाग्नेवाला छैन । त्यसैले अब रुनु, कराउनु, चिच्याउनु, रिसाउनु, झोक्राउनु, बहुलाउनुको कुनै अर्थ छैन । जे नहुनु प¥थ्यो भैसक्यो त्यसैले अब मैले जीवनको नयाँ गोरेटो खोज्नुपर्छ ।
एउटा मनले यसो भनिरहँदा अर्काे मनमा तिम्रो याद झल्झल्ती छचल्कीरहेको छ । तिमीप्रति नै मायाको मुल फुटिरहन्छ । अनि फेरि अर्काे मनमा तिम्रो नियत देखेर घृणा जागीरहेको छ र आँखै नदेखिने गरी रिस पनि उठीरहेको छ । मायाको पोखरीमा बिष हालेपछि रिसको ज्वालामुखी फुट्दो रहेछ । आज म त्यही ज्वालामुखीमा जलिरहेछु । डढिरहेछु । छटपटाईरहेछु । चिच्याईरहेछु । कराईरहेछु । रोईरहेछु । अनि तिमीले पिलाएको बिषले दाह भएर रिसले चुर भईरहेको छु । मन जलेर खरानी भईसकेको छ । मुटु टुक्रेर चिराचिरा बनिसकेको छ । हरेक अंग प्रत्यंगहरु थकित छन्, शिथिल छन् र निराश छन् ।
तिमीले यति कडा बिष हालेर गयौ कि त्यसले मेरो सबै शरिर बेकामे बनाई दियो । न मेरा आँखाहरु निदाउन सके । न मेरा हातखुट्टाहरु चल्मलाउन सके । न मुखले केही खान सके न त मनले नै केही गर्न खोजे । आँखाहरु खाली आँसु मात्रै झार्न खोज्छ । नाकहरु खाली बन्द मात्रै हुन खोज्छ । मुटुहरु खाली चिर्चिराउन मात्रै खोज्छ । मनहरु खाली भक्कानिएर रसाउन मात्रै खोज्छ । हातहरु काँप्न मात्रै खोज्छ, घाँटी खाली सुक्सुकाउन मात्रै खोज्छ । खुट्टाहरु खाली बजारिन मात्रै खोज्छ । कहिले भित्र, कहिले बाहिर ।
जति खाए पनि कुईकुई गर्ने पेट अचेल सुनसान छ । चालै नपाउनेगरी चल्ने धडकन् पनि अहिले जोडजोडले धड्किन्छ । कुनै बेला तिम्रो चप्पल देख्दा पनि प्रिय लाग्थ्यो तर अचेल तिम्रो सिउँदो सजाउने सिन्दुर देख्दा पनि घिन लाग्छ । कोठामा रहेका तिम्रा हरेक सामानहरु बिष झै लाग्छ अचेल । भुसुक्क मर्न बरु सजिलो होला तर जिउँदै मर्न साह्रै गाह्रो हुँदो रहेछ । बरु मलाई भुसुक्कै मारेर गएको भए आनन्दै हुन्थ्यो होला तर तिमीले जिउँदै मारेर गयौ र त आज आधा गद्र्धन छिनेको राँगो जसरी छटछटाईरहेछु ।
म मायाको समुद्र बनाउन लागिरहेको थिए तर तिमी भने मायाको बिजनेश गर्दै रहेछौ । मायामा बिजनेश खोज्नेहरु नाफा हुनेबित्तिकै बिष छर्केर बेपत्ता हुन्छन् । हो, तिमीले पनि त्यही गर्याै । तिमीले बिजनेशका लागि बुनेको नक्कली मायाजालमा म नराम्ररी फसेँ । जब म चल्मलाउन नसक्ने गरी फसे अनि तिमी बिष छर्केर हाँसी हाँसी अलप भयौ ।
मायाजालको नाटक मन्चन गरी नाफा घाटाको बिजनेश गर्नेहरुलाई यस्तो कुरा वाइयात लाग्नु स्वाभाविक पनि हो । त्यसैले मलाई थाहा छ, तिमीलाई यी मेरा कुराहरु सुन्न मनै छैन, पढ्ने मनै छैन । जे मा पनि मनी खोज्नेहरुको मन पनि मनी नै मनीले दुषित बनसिकेको हुन्छ । पालेर पुण्य कमाउछु भनेर ल्याएको थिए तर उल्टै मलाई जिउँदै मारेर गयौ । जीवनसाथी ठानेको थिएँ तर जीवन शत्रु बनेर गयौ । दुःख आफै झेलेर सुख साटेको थिएँ तर आज दुःख माथि दुःख थोपरिदियौ । मेरो दुखेको घाउमा नुन छरेर गयौ । तिमीले छरेको बिशालु नुनले मेरो घाउहरु चिर्चिरारहेछ । उकुसमुकुस, आकुलब्याकुल र छटपटीले म रन्ठनिरहेको छु । चिनी धेरै खाए तितो हुन्छ भन्थे माया धेरै दिएपछि मात्तिने रहेछ । मायाको मात लागेपछि माया दिनेलाई नै घात गर्दाे रहेछ ।
तिम्रोलागि मैले के मात्रै गरिन ? कतिपटक म आपूmले नखाई नखाई तिमीलाई मिठो मसिनो ख्वाएको थिँए । सरसापती गरेरै भए पनि राम्रो लगाई दिएको थिए । देश विदेश घुमाएकै थिँए । कमाएको श्री सम्पत्ती तिम्रै नाममा सुम्पिदिए । तिमीले हाँसी हासी खाँदा म त्यतिकै अघाउथे । तिमी हाँस्दा संसार जितेको आभास हुन्थ्यो । तिमीले भने जस्तो गरि दिन पाउँदा आनन्द लाग्थ्यो । तिम्रो मुहारमा मुस्कान देख्न पाउँदा मलाई गर्व लाग्थ्यो । तिम्रो मुहार मलिन देख्दा मेरो मनमा पहाड बज्रिए जस्तो भारी हुन्थ्यो । त्यसैले त म सधै सधै तिम्रैलागि खटिरहन्थे, तिम्रै लागि मरिमेट्थे अनि तिम्रैलागि बाँचीरहेको थिए । तर आज ! तर आज यति धेरै माया गरेर दिलमा सजाएको मान्छेले दिल नै फुटाएर गएपछि म कसरी सम्हालुँ ? मन मुटुको कुनामा जतनसाथ सजाएको मान्छेले एक शब्द नमिठो बोल्दा त जीवनभर पीडा हुन्छ भने बिष नै हालेर गएपछि मेरो हाल बेहाल बेहाल छ ।
आखिर ममा के नै पो कमि थियो र ? तिमीलाई मैले केको कमी गरेको थिएँ र ? भनेकै बेला भनेकै कुरा टक्राएकै थिए । तिम्रा बचनबाणहरु सहेकै थिए । तिमीले कयौ गल्ती गर्दा पनि मैले जवाफ फकाईन । तिमीले दिएका पीडाहरु पनि ह्या होस् भनेर सहेकै हो । मैले जति जति सहे तिमीले त्यति त्यति पेलेकै हो । मैले त्यो पनि सहेकै हो । तिम्रो मायाले गर्दा मैले केही नाइनास्ती भन्न सकिन ।
मसँग बस्न पाउँदा भाग्यमानी छु भन्थी । सुन्दर परिवार बनाउने भनेर तिमीले नै दुःख गर्न सिकाएको होईन ? दुःख पछि सुख आउँछ भनेर तिमीले नै मलाई बाहिर पठाउन जोरजाम गरेको होईन ? मैले त मायामा शंका गर्नु हुँदैन भनेर चुपचाप जे भन्यो त्यही स्विकारेको थिए । तर यो त सबै तिम्रो नाटक रहेछ । तिम्रो नाटकमा म चुर्लुम्म डुबे, ब्युझिँदा त तिमी मबाट हराईसकेकी रहेछौ ।
म त तिम्रो फोस्रो मायाजालमा फसे फसेँ । तर तिमीले मेरो मिहिनेतको कमाई, मेरो बंश धान्ने नानी र मेरो इज्जत समेत फसायौ । छाड्नु नै थियो भने त्यो मायाजाल किन बुन्यौ ? यतिधेरै स्वार्थ, यति धेरै निष्ठूरी अनि यतिधेरै नकचरो किन ? पशुको त मन पग्लिन्छ, तिमी त मान्छे । मान्छे भएर पनि आफूलाई माया दिने मान्छेलाई यतिधेरै पीडा दिने तिम्रो मन कति निष्ठुरी । कति बैगुनी । कति स्वार्थी ? कति निर्दयी ? कति घृणित ।
माया गर्नेलाई सके माया दिनुपर्छ नसके दया गर्नुपर्छ । माया त गरेनौ ठिकै थियो, अलिकति दया त गर्न सक्थ्यौ नि । महिलाको मन कोमल हुन्छ भन्थे, तिम्रो त काँडेतार जस्तो रहेछ । छोयो कि चिथोर्याे । तिम्रो लागि मैले एक जुनी बिताए । जे जति कमाए सबै तिमीलाई सुम्पिए । अब म बाचु कि मरुँ ? मरुँ भने समाजले आफैलाई नराम्रो ठान्छ, बाँचु भने बाच्ने कुनै बाहाना नै छैन । अहिले मसँग न टेक्ने सहारा छ, न खाने आहारा नै । तिमीले त मेरो मायाको नाफा अन्तै सार्याै तर मैले अझै पनि तिम्रो माया कतै सार्न सकेको छैन । धेरैले मलाई अर्कैसँग नयाँ जीवन जीउन सुझाएका छन् । तर अँह । भन्न सजिलो रहेछ तर जीवन जिउन साह्रै गाह्रो ।
म पटक पटक देश फर्किन्छु भन्दा फर्किनु पर्दैन । ४० कटेसी सँगै रमाउला भन्यौ । होला त नि भन्दै म म्याद थप्दै बिदेशमा पसिना बगाईरहेँ । तर अहिले तिमी त रमाईरहेकी होली मेरो भने रमिता भईरहेको छ । बेहाल बेहाल यो जिन्दगीको कथा ब्यथा कसलाई सुनाउ खै । हाई भन्नेहरु भन्दा खुचिङ भन्नेहरुको जमात धेरै छ । भएभरको माया सुम्पेको मान्छेले त चटक्कै छाडेर गई भने अब म कसको बिश्वास गरु ? कसरी बिश्वास गरु ? के गरुँ ? कसो गरुँ ?
मनमा कुराहरु बर्षाको भेलसरी उर्लिरहेको छ । मेरो अन्तिम बिन्ती छ निष्ठूरी । जे जस्तोसुकै भए पनि मेरो नानी मलाई फिर्ता गरि देउ । मैले तिम्रो नाममा राखि दिएको सम्पत्ती मध्ये आधा मलाई फिर्ता गरि देउ । माया त गरेनौ गरेनौ । अब म माथि यति दया गरि देउ निष्ठूरी ।
उही तिम्रो भूपु श्रीमान





























प्रतिक्रिया