निर्मल पौडेल (एन पि घायल) , पोखरा। हेमजा साहित्य प्रतिष्ठानद्वारा आयोजित दुईदिने हेमजा साहित्य महोत्सव शनिबार भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमको मुख्य आकर्षण मदन पुरस्कार विजेता वरिष्ठ कवि मुकुन्दशरण उपाध्यायको रथारोहण रहेको थियो ।
रथारोहप विष्णु पादुका बाट मिलनचोक हुँदै ज्ञान सागर सम्म पुगेको थियो । हेमजावासीले फूलमाला, अबिर–अक्षता र खादाले स्वागत गर्दै कवि उपाध्यायलाई भव्य अभिनन्दन गरेका थिए ।
पहिलो दिन नेपाली नाटक–रङ्गमञ्च, आख्यान, महाकाव्य, गीत–गजल, लघुकथा र कविताका विविध विधामा छलफल तथा अन्तरक्रिया भएको थियो भने दोस्रो दिन रथारोहणपछि कविता वाचन, स्रष्टा सम्मान र विचार गोष्ठी सम्पन्न भएको थियो ।
महोत्सवमा नवराज लम्साल, माधव वियोगी, रामचन्द्र पोखरेल, भूमिराज बस्ताकोटी, जगन्नाथ रेग्मी, रमेश शुभेच्छुक, कृष्ण उदासी, पुरु लम्साल, प्राञ्जल, ज्ञानु अधिकारी, समालोचक ज्ञानु अधिकारी, डा. रजनी ढकाल कवि तीर्थ गुरुङलगायत देशभरका ख्यातिप्राप्त साहित्यकारहरूको सहभागिता रहेको थियो ।
समापनमा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपाली साहित्यमा कवि उपाध्यायले पु¥याएको योगदानको उच्च कदर गर्दै रथारोहण गरिएको बताए। “प्राकृत पोखरा” लगायत दर्जनौं कृति प्रकाशित गरिसकेका उपाध्यायलाई हेमजाले आफ्नो गौरव ठानेको उनको भनाइ थियो ।
महोत्सव संयोजक छन्दमणी त्रिपाठीको सभापतित्वमा सम्पन्न महोत्सवले स्थानीय तथा राष्ट्रिय साहित्यिक जगतलाई जोड्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन् । नेपाली नाटक र रंगमञ्च सेसनको सहजीकरण कवि प्राञ्जल र वर्तमान समयमा नेपाली आख्यानको सहजिकरण डाक्टर भुमिराज बास्ताकोटी र वर्तमान नेपाली महाकाव्यको सहजीकरण प्रा. डा.जगन्नाथ रेग्मीले गरेका थिएले गरेका थिए ।
कार्यक्रमको सञ्चालन कवि शिव त्रिपाठी र छन्दिका त्रिपाठीले गरेका थिए । सो महोत्सवमा, मुक्तक उत्सव, गीत, गजल उत्सव, लघुकथा उत्सव र कविता उत्सव पनि भएका थिए।































प्रतिक्रिया