कागतिहारका दिन हास्य व्यङ्ग्यात्मक कार्यक्रम ‘आलु पाटी’ गरिँदै

कागतिहारका दिन हास्य व्यङ्ग्यात्मक कार्यक्रम ‘आलु पाटी’ गरिँदै


काठमाडौं ।

विगत ४ दशकदेखि निरन्तर आयोजना गरिँदै आएको हास्य व्यङ्ग्यात्मक कार्यक्रम ‘आलु पार्टी’ यो वर्ष कोभिड महामारीका कारण अनलाइन माध्यमबाट गरिने भएको छ।

०३४ सालदेखि तत्कालीन चर्चित हास्य व्यङ्ग्यात्मक रामकुमार पाँडे, बाशुदेव लुइँटेल, टेकबहादुर मुखिया, दाताराम शर्मा, बाशुदेव रिमाल ‘यात्री’ लगायतका साहित्यकारहरूको अगुवाइमा सुरु गरिएको यस कार्यक्रमलाई पहिलोपटक अनलाइन माध्यमबाट गरिन लागिएको हो । आलुकै प्रतिमा बनाइ प्रतिकात्मक रुपमा विभिन्न उपमा दिइ आलुका परिकारसहित हास्य व्यङ्ग्यात्मक प्रस्तुतीहरूका साथ प्रत्येक बर्ष कागतिहारका दिन जावलाखेलस्थित पाँडे प्याराडाइजमा मनाइँदै आएको यस कार्यक्रमलाई यो वर्ष विभिन्न सामाजिक संजालबाट प्रत्यक्ष प्रशारण गरिने हुँदा संसारभर एकैसाथ हेर्न र सुन्न सकिने आयोजक संस्था हास्य व्यङ्ग्य समाज नेपाल तथा नेपाल हाइकू केन्द्रका शिरोमणि दवाडीले जानकारी दिए।

कार्यक्रमको प्रस्तुतकर्ता हास्यव्यङ्ग्य समाज नेपाल रहेको छ भने साहित्य संचार नेपाल, नेपाल हाइकू केन्द्र, आध्यात्मिक पत्रकार समाज (आपस) ले सहकार्य गर्ने भएका छन् ।

यस कार्यक्रमका संस्थापक मध्येका एक वरिष्ठ हास्य व्यङ्ग्यकार रामकुमार पाँडेका अनुसार यस अघिका कार्यक्रममा प्रत्यक्ष उपस्थित हुने कलाकार र साहित्यकारको प्रस्तुति रहने गरेकोमा यस वर्ष अनलाइन (जुम) को माध्यमबाट संसारको कुनै पनि कुनाबाट सहभागी हुन इच्छुक प्रतिभाहरूले सहभागिता जनाउन सक्नेछन् । बिगतमा सहभागी हुँदै आएका कलाकारहरू शैलेन्द्र सिंखडा, दिपकराज गिरी, दिपाश्री निरौला, जितु नेपाल, दमन रुपाखेती, डम्बर घिमिरे, घनश्याम गौतम, टेकबहादुर कोइराला तथा साहित्यकारहरू प्रा रामकुमार पाँडे, डा. बमबहादुर जिताली, हृदयप्रसाद मिश्र, बाशुदेव गुरागाइँ, मित्रबन्धु पौडेल तथा कार्टुनिष्ट अशोकमान, अमिन श्रेष्ठ लगायत अन्य परिचित तथा नव प्रतिभाहरूको पनि प्रस्तुती रहने बताइएको छ।

कार्यक्रमले खित्का छोडेर हँसाउने मात्र नभइ राजनीतिक तथा सामाजिक बेथितिमाथि प्रतिकात्मक व्यंग्य प्रहार गर्ने हुँदा यस ऐतिहासिक कार्यक्रमको गरिमा बढेको र यस वर्ष पनि अझ विशेष र पृथक रहने नेपाल हाइकु केन्द्रका उपाध्यक्ष मित्रबन्धु पौडेलले जानकारी दिए। कार्यक्रम कार्तिक २८ गते, कागतिहारका दिन दिउँसो ३ बजे आयोजना हुनेछ।

Logo