काभ्रेली साहित्यकार सूर्य लाकोजूका तीन सिर्जना एकैसाथ लोकार्पित

काभ्रेली साहित्यकार सूर्य लाकोजूका तीन सिर्जना एकैसाथ लोकार्पित


साहित्यकार तथा संस्कृतिकर्मी सूर्य लाकोजूको पनौतीमा बाह्र वर्षमा एक पटक लाग्ने मकर मेलाका विषयमा लेखिएका दुई पुस्तक र एक गीत लोकार्पण गरिएको छ। मकरमेलाको पहिलो दिन आयोजित कार्यक्रममा ‘पनौतीको बाह्रवर्षे मकरमेला’ र ‘Makar Mela of Panauti’ पुस्तक तथा पनौतीको चिनारी बोकेको गीत लोकार्पण गरिएको हो।

चर्चित साहित्यकार सूर्यप्रसाद लाकोजुद्वारा सृजित यी तीन वटै कृतिको लोकार्पण नगरप्रमुख भीम न्यौपाने, बरिष्ठ साहित्यकार मोहन दुवाल, साहित्य सर्जक, समालोचक, संगीतकार, गायक लगायतद्वारा लोकार्पण गरिएको हो।

लोकार्पण गरिएका पुस्तकमा मकर मेलाका बारेमा, पनौतीको ऐतिहासिक, प्राकृतिक, त्रिवेणी क्षेत्रमा अवस्थित असंख्य मन्दिरहरुको धार्मिकता तथा किम्बदन्तीहरुको बारेमा उल्लेख गरिएको छ। पनौती क्षेत्रको ऐतिहासिकता र चिनारीलाई विश्वमाझ परिचित गराउन मकर मेलासँगै पनौतीको चिनारी समेटेर अंग्रेजी लिपिमा पनि प्रकाशित गरि आज लोकार्पण गरिएको हो।

कार्यक्रममा सर्जक लाकोजुद्वारा लिखित पनौती गीतको पनि लोकार्पण गरिएको थियो। गीतमा विजयराम कर्माचार्यको स्वर रहेको छ भने संगीत सुरेन्द्र श्रेष्ठको रहेको छ। गीतलाई बालकृष्ण सेवाचार्यले एरेन्ज गरेका छन्।

कार्यक्रममा बोल्दै नगर प्रमुख भीम न्यौपानेले लेखन र साहित्य सृजनाले समग्र समाज, नगर र राष्ट्रलाई बोक्ने र संसारभर चिनाउन सक्ने सशक्त मध्यम रहेको बताए। साहित्यकार लाकोजुको प्रशंसा गर्दै न्यौपानेले  पनौती र काभ्रेको मात्र नभई समग्र साहित्य र लेखनको पक्षमा आफू सदैव रहेको उल्लेख गरे।

यस्तै, वरिष्ठ साहित्यकार मोहन दुवालले सर्जकहरुको लेखन समाजको दर्पण भएको बताउँदै जनप्रतिनिधिहरुमा पनि साहित्य र लेखनप्रति सकारात्मक धारणा हुनुपर्ने र त्यो आफूले पनौतीका जनप्रतिनिधिबाट पाएको उल्लेख गरे। सर्जक लाकोजुका कृति प्रति शुभकामना ब्यक्त गर्दै वरिष्ठ साहित्यकार दुवालले अन्य लेखकलाई लेखनमा निरन्तरता दिन आग्रह गरे।

साहित्यकार लाकोजुको सभापतित्वमा भएको कार्यक्रममा समालोचक तथा आख्यानकार प्रभा बराल, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसक्षे, विमोचित गीतका गायक विजयराम कर्माचार्य, संगीतकार सुरेन्द्र श्रेष्ठ, प्याब्सन पनौतीका अध्यक्ष विमल न्यौपाने, काभ्रेली साहित्यकारहरु, समाजसेवी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा साहित्यकार लाकोजुले सम्पूर्ण अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए।

Logo