प्रहरीद्वारा बन्द गराउँदै हिँड्ने ५६ जना पक्राउ, ट्याक्सी जलाउनेको खोजी हुँदै

प्रहरीद्वारा बन्द गराउँदै हिँड्ने ५६ जना पक्राउ, ट्याक्सी जलाउनेको खोजी हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

जबरजस्ती बन्द गराउँदै हिँड्ने ५६ जनालाई राजधानीका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । एकाबिहानै सामाखुसीबाट प्रहरीले ५ जना पक्राउ गरेसँगै हालसम्म ५६ जना पक्राउ परेका हुन् । उनीहरु प्रचण्ड–नेपाल पक्षका कार्यकर्ता भएको खुल्न आएको छ ।

प्रहरीले सामाखुसीबाट बिहानै समीर तामाङ, रमेश तामाङ, राज कुमार तामाङ, मिलन तमाङ र राजेन्द्र पाण्डेलाई पक्राउ गरेको थियो । त्यसपछि विभिन्न ठाउँबाट पक्राउ पर्नेको संख्या ५६ पुगेको हो ।

यता काठमाडौंको नयाँ बसपार्कमा आज बिहानै एक ट्याक्सीमा आगजनी भएको छ । परिचय नखुलेका दुई युवाले ट्याक्सी जलाएको प्रहरीले जनाएको छ । प्रदेश नम्बर ३–०१–००२ नम्बरको ट्याक्सीमाथि आगजनी भएको हो । आगजनीबाट ट्याक्सी पूर्णरुपमा क्षति भएको र घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच नेकपा प्रचण्ड–माधव समूहले बिहीबार (आज) गर्ने आम हड्ताललाई मध्यनजर गर्दै प्रहरीले उपत्यकामा बिहानैबाट सुरक्षा ब्यवस्था कडा गरेको छ ।

आम हड्ताललाई मध्यनजर गर्दै उपत्यकाका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको हो । राजधानीका बिजुली बजार, ,बबरमल, माइतीघर मण्डला ,न्युरोड लगायतका स्थानमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

आमहड्तालका क्रममा अवाञ्छित गतिविधिहरु हुने संभावनालाई ख्याल गर्दै साबिकको भन्दा प्रहरी जनशक्ति बढाइएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार साबिकको भन्दा पैदल, मोबाइल र पिकेट गस्ती बढाइएको छ ।

प्रहरीले आमहड्तालका क्रममा जबरजस्ती बन्द गराउने, आगजनी र तोडफोड गर्ने क्रियाकलाप गरिए नियन्त्रणमा लिएर ठाउँको ठाउँ कारबाही गर्ने भएको छ ।

Logo